“भ्रष्टाचारको भ्रुण गणतन्त्र”

Rn Chaudhary tharu

लेखक : ज्ञानेन्द्र कुरुम्भङ (पखेरे कान्छा) 

आज जेठ् १५, यानेकी सोह्रौं गणतन्त्र दिवस । २०६३ बैशाख ११ गतेको शाही सम्बोधनमा राजनीतिक दलहरूको मार्गचित्र बमोजिम,राजाबाट विघटित संसद पुनः स्थापित भए सँगसँगै पहिलो संविधानसभाको निर्वाचन २०६४ सालमा सम्पन्न भयो।निर्वाचन सम्पन्न भएपछि पहिलो संविधानसभाको पहिलो बैठकले गणतन्त्रको घोषणा गर्यो त्यो आजकै मिति थियो।

दश वर्षे जनयुद्ध र २०६२/६३ सालको दोस्रो जनआन्दोलनको सफलता पछि नेपालले पहिलोपटक गणतन्त्रको भोटो लगायो। जुन भोटो सिलाउन,हजारौं जनताहरु बलिदानको सियोमा उनिन्नु परेको थियो।पुर्वराजा ज्ञानेन्द्रले जनता सामु घुँडा टेकेपछि, झुपडी देखि महलसम्म ,सडक देखि सदनसम्म खुशीयालिको बहार छाएको थियो। सारा नेपालीको मुहार,खुशीले धपक्कै बलेको थियो।

२०६३ मंसिर ५ गते सातदलको सरकार र तत्कालीन नेकपा माओवादी बिच बिस्तृत शान्ति सम्झौता भयो। जसको फलस्वरूप २०६३ माघ १ गते नेपालको अन्तरिम संविधान २०६३ जारी भयो र ऐतिहासिक रूपमा नेपालको इतिहासमा पहिलोपटक संविधानसभाको निर्वाचन २०६४ चैत २८ गते सम्पन्न भएको थियो। तर राजनीतिक मतभेद र दलिय स्वार्थका कारण अल्पआयु मै पहिलो संविधानसभाको घाँटी निमोठियो। पहिलो संविधानसभाको घनिभुत प्रयास असफल भएपछि राज्यको अर्बौं रुपैयाँ,बालुवामा पानी हाले सरह भयो।

अनेक वितण्डा र तिडकडम पछि २०७० सालमा फेरि
दोस्रो संविधानसभा को निर्वाचन सम्पन्न भयो। केहि दलहरू को असहमतिका बाबजुद पनि दोस्रो संविधानसभाले बहुमतका साथ “नेपालको संविधान २०७२” जारी गर्यो।त्यो दिन देखि हामी संविधानको धनि भएका छौँ,कानुनी राज्यका जनता हुन पाएका छौँ। तीन वर्षे संविधान सहित सोह्र वर्षे गणतन्त्र सम्म आइपुग्दा जनताका आहुती र त्यागले अझै मुर्तरुप पाउन सकेको छैन।

गणतान्त्रिक हाम्रो देशले छिटफुट रूपमा समृद्धिको खाका कोरेपनी अझै पुर्ण आकार लिन सकेको छैन। जुन स्पिडमा हाम्रो मुलुक दगुर्नु पर्थ्यो,त्यो स्पिडमा अझै दगुर्नु सकिरहेको छैन।गणतन्त्रको बिधि र बिधानलाई कुल्चेर सत्ताधारी दलहरूले जात्रा देखाइ रहेका छन।दलिय शिर्ष नेताहरु भ्रष्टाचारको चुंगुलको भुमरीमा घुमिरहेका छन।के नेपालले खोजेको गणतन्त्र यहि हो त?

गणतन्त्रमा जो देखियो : गणतन्त्रको नाममा दलालहरुले आफ्नो साम्राज्य बिस्तार गरेको देख्दा यस्तो लाग्छ, सरकार नै दलाल रहेछ।सडक देखि सदन सम्म भ्रष्टचार मौलाएको देख्दा यस्तो लाग्छ, सरकार नै भ्रष्ट रहेछ। कुख्यात अपराधीहरु लाई सरकारले सम्मान गरेको देख्दा यस्तो लाग्छ,सरकार नै अपराधीको संरक्षक रहेछ।क्विन्टल का क्विन्टल सुन छिराउने मुख्य योजनाकार अझै फरार छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा कोहि बोल्दैनन।७२ करोडको काण्ड,काण्डमै मिलाइयो।

एनसेल कम्पनीले अर्बौं रुपैयाँ कर नतिर्दा पनि राज्य मौन छ। निर्मला हत्याकाण्ड ज्युँ का त्युँ छ।देशमा बलात्कार र हत्याहिंसा ले सिमा नाघेको छ।वाइबडी खरिद प्रकरणमा भएको चार अर्बको घोटाला अझै लुकाइएको छ। बालुवाटार जस्तो संवेदनशील ठाउँको जग्गा,ब्याक्तीको नाममा नामसारी हुन्छ। पार्टीका कार्यकर्ताको हालीमुहाली दिनदुगुना रात चौगुना बढ्दो छ।

गित गाएको भरमा एक गायकलाई थर्काइन्छ ,धम्काइन्छ। प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर आफ्ना कार्यकर्तालाई हिंसामा उत्रिन उक्साइन्छ। गणतन्त्र कि निवर्तमान राष्ट्रपति कतै सवार हुँदा काठमाडौ को सडक कैयौं घण्टा जाम भएको तपाईं हामिले देखेकै हो। गणतन्त्रको गण भनेको अनाहकमा सर्वसाधारण लाई सास्ति रहेछ। गणतान्त्रिक देशमा यस्तो हविगत भोग्नुपर्छ भनेर सायद हामीले कल्पना पनि गरेका थिएनौं।नेपाल सरकारको यी व्याबहार हेर्दा, गणतन्त्र भएको देशको नागरिक हुँ भन्न पनि लाज लाग्छ।

विलासी गणतन्त्र: गणतन्त्र भनेको राजतन्त्र हटाउनु मात्रै होईन।गणतन्त्र घोषणा हुनु भनेको राजाको श्रीपेज फुकाल्नु मात्रै होईन। गणतन्त्र भनेको त! जनता द्वारा जनताका लागि जनताले नै शासन गर्ने हो। तर यो गणतन्त्रमा सत्ता र शक्तिमा पुगेपछि मामुली जनताको छोरो नै महाराजा बन्दा बन्दोरहेछ।पत्यार नलागे महामहिम ज्युहरुको कार्यशैली हेरेहुन्छ।

जनतालाई पिउने पानी छैन,तर हाम्रा प्रधानमन्त्रीले एकदिन मै ६० हजारको पानी पिउछन(यो केहि महिना अघिको आंकलन)। हाँच्छिउ आउने बित्तिकै खकार जाँच्न दिल्ली पुग्छन। ज्वरो आउने बित्तिकै ज्वरो जाच्न सिंगापुर पुग्छन।ढाड दुख्ने बित्तिकै ढाड जाच्न युरोप अमेरिका पुग्छन। श्रीपेज बिनाका राजाहरुको विलासी जिन्दगी देख्दा यस्तो लाग्छ,गणतन्त्र निमुखाका लागि होईन पहुँचवाला का लागि मात्रै फलिफाप भएको छ।तर जनताहरु रोग,भोक र शोकले मरुन कि बाँचुन गणतन्त्रका राजाहरु लाई कुनै चिन्ता छैन।

लंगडो गणतन्त्र: गणतन्त्रको स्थापना पश्चात् हामी अधिकार सम्पन्न भएका छौँ।बेथिति विरुद्ध खुलेर बोल्न पाएका छौँ,विसंगति विरुद्ध खुलेर बिरोध गर्न पाएका छौँ।कानुन लाई ढाड्स नदिई सबैको बिरोध गर्न पाएका छौँ। तर गणतन्त्रले दिएको स्वतन्त्रता कै कारणले अचेल मान्छेहरुले र्राष्ट्रिय पहिचान भन्दा जातीय पहिचान लाई माया गर्न थाले। सिंगो देशलाई भन्दा संघीय प्रदेशलाई माया गर्न थाले। देशको सिमानालाई भन्दा प्रदेशको सिमांकन लाई माया गर्न थाले। संविधानमा लेखिएको बहु पहिचान लाई, जातीय पहिचान भनेर बुझ्न थाले।

तर यसो भनी रहदा के सबै जातिय वर्गलाई गणतन्त्रले छोएको छ त? के सिंहदरबार अगाडिको सडकमा प्लास्टिक टिप्ने सडक बालबालिकालाई गणतन्त्रले छोएको छ त? के भोको पेटको लागि टेम्पोमा झुन्डिएर श्रम गरिरहेका बालकहरुलाई गणतन्त्रले छोएको छ त?के विपन्नका आँगनमा गणतन्त्र पुगेको छ त ? के खुल्ला आकाशमा रात बिताउन बाध्य हजारौं सुकुम्बासीको दैलोमा गणतन्त्र पुगेको छ त ? के सर्वसाधारणको दिनचर्या भित्र गणतन्त्र छिरेको छ त? यी प्रतिनिधि प्रश्नहरुले गणतन्त्रको रटान लगाउने राजनीतिक दलहरू सँग गणतन्त्रको हिसाब् मागिरहेका छन।के बालेन शासले मात्रै देशको आवाज बोल्न सक्छन् र ?

के हर्क साम्पाङ ले मात्रै श्रमको काँध बोक्ने जिम्मा लिएका छन् र ?

हिमाली भेगका चिसा छालाहरु ले अझै गणतन्त्रको न्यानो घाम ताप्न पाएका छैनन्। पहाडे भरियाहरु को डोकोमा अझै गणतन्त्र अटेको छैन। मधेसका हरिया फाँटमा अझै गणतन्त्र झुल्न सकिरहेको छैन। किनकि हाम्रो गणतन्त्र नै लंङ्गडो छ।तर अब भने, गणतन्त्र लंगडो बनिरहनु हुदैन। अब गणतन्त्र हिंड्नुपर्छ।सबैको पहुँचमा पुग्नुपर्छ गणतन्त्र बिपन्न को आँगनमा पनि पुग्नुपर्छ।निमुखाको झुपडीमा पनि पुग्नुपर्छ।

निभेका चुलोमा आगो बनेर पुग्नुपर्छ । अबको गणतन्त्र असहाय अशक्तको निम्ति सहारा बन्नुपर्छ।अनि बल्ल गणतन्त्रले सार्थकता पाउनेछ। अब खुलेर बोल्नुपर्छ रवि लामिछाने,अब मुटु देखि बोल्नुपर्छ स्वर्णिम व्वाग्ले।स्थानीय सरकारको राजा वालेन शाह र हर्क साम्पाङ छदैछन,त्यसैमा गाजिएको छ जनताको भरोसा !

गणतन्त्र दिवसको दिन भन्न मन लाग्यो: ओलि,प्रचण्ड,देउवा अब…सुध्रिनुहोस!!….