फिफा विश्वकप फुटबल: फ्रान्स डेनमार्कलाई हराउँदै नकआउट चरणमा प्रवेश।

एजेन्सी (कतार):= किलियन एमबाप्पेको दुई गोलमा शनिबार डेनमार्कको चुनौती २-१ ले पन्छाउँदै साविक विजेता फ्रान्सले कतारमा जारी फिफा विश्वकप २०२२ को नकआउट चरणको यात्रा पक्का गरेको छ । पहिलो खेलमा अस्ट्रेलियामाथि ४-१ को जित हासिल गरेको फ्रान्स यो जितपछि समूह ‘डी’ बाट एक खेल बाँकी रहँदै अन्तिम १६ प्रवेश गर्न सफल भयो ।

अस्ट्रेलियालाई हराउँदा एक गोल गरेका एमबाप्पेको जारी विश्वकपमा व्यक्तिगत गोलसंख्या तीन पुगेको छ । कतार विश्वकपको उच्च गोलकर्ताको सुचीमा उनी इक्वेडरका इनर भ्यालेन्सियासँगै शीर्ष स्थानमा पुगेका छन् । दोस्रो विश्वकप खेल्दै गरेका एमबाप्पेको विश्वकपमा कुल गोलसंख्या सात पुगेको छ । फ्रान्सका लागि विश्वकपमा सर्वाधिक गोल गर्नेमा उनले जिनेदिन जिदानसँग बराबरी गरेका छन् ।

दोहास्थित रंगशाला ९७४ मा पेरिस सेन्ट जर्मनका फरवार्ड किलियन एमबाप्पेले ६२औं मिनेटमा फ्रान्सलाई अग्रता दिलाए। थियो हर्नान्डेजले मिलाएको अवसरलाई दायाँ खुट्टाले गोलमा परिणत गरेका एमबाप्पेले समय सकिन चार मिनेट बाँकी रहँदा दोस्रो गोल गरे । एन्टोनी ग्रिजम्यानको क्रसलाई एमबाप्पेले विजयी गोलमा परिणत गरेका थिए ।

यसबीचमा आन्द्रेस क्रिस्टेनसनको हेड गोलमार्फत ६९औं मिनेटमा डेनमार्कले केही समयका लागि खेल बराबरीमा ल्याएको थियो। फ्रान्सले ६ अंकका साथ एक खेलअगावै नकआउट चरणको टिकट काट्दा समूहबाट अन्तिम १६ पुग्ने दोस्रो टोलीको निर्णय बुधबार हुने समूह चरणको अन्तिम खेलबाट हुनेछ ।

समूह चरणको अन्तिम खेलमा फ्रान्सले ट्युनिसिया तथा डेनमार्कले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछन् । शनिबारै चाँढोगरि सम्पन्न खेलमा ट्युनिसियालाई १-० को नतिजामा हराएको अस्ट्रेलिया तीन अंकका साथ समूहको दोस्रो स्थानमा छ भने डेनमार्क र ट्युनिसियाको खातामा समान एक अंक छ। पहिलो खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।