सरकारी प्रतिनिधि र कर्मचारीहरु जनताको काम छाडेर विदेश भ्रमणमा मोज गर्दै।

काठमाडौं := सरकारले विदेश भ्रमणमा मनपर्दी रूपमा स्वीकृति दिन थालेपछि मन्त्रालयका मन्त्री र सचिव मन्त्रालयलाई नेतृत्वविहीन बनाएर लगातार विदेश भ्रमणमा जान थालेका छन् । केही मन्त्री विदेश भ्रमण सकेर आउना साथ फेरि अर्का थरी मन्त्री लाइन लागेर विदेश भ्रमणमा जाने क्रम बढेको छ ।

हाल सरकारका चार मन्त्री विदेश सयरमा छन् भने सोही संख्यामै सचिव पनि विदेश भ्रमणमा मस्त छन् । अन्य केही मन्त्रीहरू विदेश भ्रमणको लाइनमा छन् । नेपालीहरूको महान् पर्व दसैं नजिकिँदै गर्दा सरकारका मन्त्री र सचिव दसैंको मुखमा विदेश भ्रमणमा मस्त छन् ।

वन तथा वातावरणमन्त्री प्रदीप यादव आइतबार अमेरिका उडेका छन् । उनी केही दिनअघि मात्रै विदेशबाट फर्केका थिए । त्यसको दुई साता नपुग्दै वनमन्त्री यादव फेरि अमेरिका उडेका हुन् । यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ शनिबार क्यानडा उडेका छन् ।

यस्तै, भूमिसुधार मन्त्री शशि श्रेष्ठ केही दिनदेखि युरोपका विभिन्न देशमा सयरमा छिन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रकुमार श्रेष्ठ पनि शनिबार युरोप प्रस्थान गरेका छन् । उनीसँगै मन्त्रालयका सचिव अर्जुन पाखरेल तथा कर्णाली प्रदेश प्रमुख सचिव डा. गोपीकृष्ण खनाललगायतको जम्बो टोली विदेश उडेको छ ।

कृषि सचिव गोविन्दप्रसाद शर्मा विदेश भ्रमण सकेर केही दिनअघि मात्रै फर्केका छन् यस्तै, स्वास्थ्य सचिव पनि विदेश भ्रमणबाट फर्केका छन्। यस्तै, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र सचिव रामकृष्ण सुवेदी पनि विदेश भ्रमण गरेर केही दिनअघि मात्रै फर्केका छन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।