मुस्लिम शासकहरूले राखेका विश्वप्रसिद्ध ‘ताज महल’ को नाम फेरिँदै छ त?

एजेन्सी नयाँदिल्ली:= उत्तर प्रदेशमा योगी आदित्यनाथ मुख्यमन्त्री भएपछि विभिन्न सहर, सडक तथा महलहरूको नाम फेरिन थालिएको छ । विशेषगरी विगतमा मुस्लिम शासकहरूले राखेका नामलाई योगीको शासनकालमा फेर्न थालिएको हो ।त्यही क्रममा विश्वप्रसिद्ध ‘ताज महल’ को नाम फेरिने प्रस्ताव पनि गरिएको छ । आगार नगम निगमले ताज महलको नाम बदलिने प्रस्ताव ल्याएको छ ।

परिषद्मा ताज महलको नाम ‘तेजो महालय’ राख्ने प्रस्ताव गरिएको छ । परिषद्ले पारित गरेमा र त्यसलाई योगी क्याबिनेटले स्वीकृत गरेको खण्डमा नाम फेरिनेछ। प्रस्ताव नम्बर ४(७) मा यसबारे धेरै तथ्य राखेको सांसद शोभाराम राठौरको भनाइ छ, जसका आधारमा नाम परिवर्तनको प्रस्ताव सदनमा राखिएको छ ।

तर, यो पुरातात्त्विक संरक्षित स्मारक रहेकाले यसको नाम फेर्न केन्द्र सरकारको पनि निर्णय हुनुपर्नेछ । ताज महलमा शिवको मन्दिर रहेको विवाद बढाइएकै बेला नाम फेरिने प्रस्ताव पनि आएको हो ।साढे चार वर्षमा ताजनगरीका ८० भन्दा बढी सडक र चोकको नाम परिवर्तन गरिएको छ ।