इङ्ग्लिस प्रिमियर लिग फुटबल: लिभरपुलले न्युक्यासललाई २-१ गोलले हरायो।

एजेन्सी := इङ्ग्लिस प्रिमियर लिग फुटबल खेल अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई हराएको छ। एनफिल्डमा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले न्युक्यासलमाथि २-१ गोलको संघर्षपूर्ण जित निकालेको हो।

खेलको ३८ औं मिनेटमा अलेक्जेन्ड इसकले सिअन लङस्टाफको पासमा गोल गर्दा न्युक्यासलले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि रहेको लिभरपुललाई रोबेर्टो फर्मिन्होले बराबरीमा ल्याए। उनले खेलको ६१ औं मिनेटमा मोहम्मद सलाहको पासमा गोल गरेका थिए।

त्यस्तै लिभरपुलको जितका लागि निर्णायक गोल फाबियो कार्भालोले इन्ज्युरी समयको अन्तिम मिनेटमा सलाहकै पासमा गरे। जितसँगै ५ खेलबाट ८ अंक जोडेको लिभरपुल तालिकाको पाँचौं स्थानमा छ भने ६ अंक जोडेको न्युक्यासल तालिकाको ११ औं स्थानमा छ।