एजेन्सी := इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार पाँचौं जित निकालेको छ । बुधबार राति एस्टन भिल्लालाई २–१ ले हराएर आर्सनलले पाँचौं जित निकालेको हो ।
आर्सनलका लागि ग्राबियल जिसस र गाब्रियल मार्टिनेलीले एक एक गोल गरे भने एस्टनका लागि डुग्लास लुइजले एक गोल गरे। खेलको ३० औं मिनेट जिससले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ७४ औं मिनेटमा एस्टनका लुइजले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।त्यसपछि ७७ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई २–१ को जित दिलाए ।
योसँगै जारी सिजन शतप्रतिशत जित निकालेको आर्सनल शीर्षस्थानमा कायम छ। आर्सनलको १५ अंक छ भने दोस्रो स्थानको म्यानचेस्टर सिटीको १३ अंक छ। सिटीले गएरातिको खेलमा नटिङ्घम फरेस्टमाथि ६-० को फराकिलो जित निकालेको थियो। त्यस्तै एस्टोन भिल्ला ५ खेलबाट ३ अंक जोडेर तालिकाको १९ औं स्थानमा छ।




















