मानिसलाई देख्दा बढ्छ अष्ट्रिच अर्थात् सुतुरमुर्गमा अत्याधिक यौन इच्छा।

एजेन्सी := अष्ट्रिच अर्थात् सुतुरमुर्ग सबैभन्दा ठूलो चरा हो । यसलाई खासै समझदार जीव मानिँदैन । जीउ जति नै ठूलो भए पनि यसको मस्तिष्क केवल एउटा ओखरको गेडा जत्तिकै मात्र हुन्छ ।

तर जब यौनको विषय आउँछ, तब यो चरा त्यतिसारो सोझो र बेबकूफ पनि छैन । अनौठो त के भने कैयन् बेला अष्ट्रिचले आफ्नो सामान्य यौन प्रक्रियालाई छाडेर मानिससँग सम्बन्ध बनाउने कोसिस पनि गर्दछ । जसले यो चराको निर्धारित जैविक प्रक्रियाको अवधारणालाई तोडेको हुन्छ ।

सन् १९९० को दशकमा अष्ट्रिच पालक किसानहरूले पहिलोपटक यसको यस्तो आनीबानीका बारेमा पत्ता लगाएका थिए । जब सुतुरमुर्ग मानिसको नजिकै हुन्छ तब यसको यौन प्रक्रियासम्बन्धी आनीबानी नै बदलिन्छ ।

मानिसको अगाडि उसले धेरै पखेटा हल्लाउँछ, उठबस गर्दछ । आफ्नो गर्धनलाई माथि उठाएर यौन नृत्य (mating Dance) समेत प्रदर्शन गर्दछ । जब सुतुरमुर्ग मानिसको नजिक हुन्छ तब यसले आफ्नो यौनसम्बन्धी क्रियाकलापहरूलाई बढावा दिन्छ ।

अष्ट्रिचको यस्तो आनीबानीका कारण अचम्मित बनेका वैज्ञानिकहरूले यस विषयमा अध्ययन गरे । उनीहरूले बेलायतका दुईवटा अष्ट्रिच फार्ममा निगरानी सुरु गरे, एउटामा नजिकबाट र अर्कोमा टाढाबाटै ।

मानिसको उपस्थितिमा सुतुरमुर्गको यौन व्यवहारमा कस्तो खाले परिवर्तन आउँदछ भन्ने पत्ता लगाउनु उनीहरूको उद्देश्य थियो । यससम्बन्धी शोध ब्रिटिस पोल्ट्री साइन्स जर्नलमा छापिएको छ ।

उक्त शेाध रिपोर्ट अनुसार नजिकबाट गरिएको अध्ययनका क्रममा पोथी सुतुरमुर्गले यौन सम्बन्ध कायम गर्नका लागि धेरै याचना गर्ने गरेको देखिएको छ । टाढाबाट गरिएको अध्ययनमा चाहिं यस्तो क्रियाकलाप कम देखियो । दुई वर्षसम्म चलेको उक्त अध्ययनका क्रममा दुई वर्ष नै पोथी अष्ट्रिचको आनीबानी उस्तै रह्यो ।

शोधकर्ताहरूका अनुसार मानिसलाई नजिक देख्दा पोथी अष्ट्रिचले यौन सम्पर्क गर्न धेरै आग्रह गर्ने गर्दछ आफ्नो हाउभाउमार्फत । मानिस नहुँदा भने उसले त्यस्ता यौनिक अभिव्यक्तिजन्य क्रियाकलाप कम गर्दछ ।

अध्ययनका क्रममा कतिपय पोथी सुतुरमुर्गले मानिस नजिक हुँदासमेत कुनै प्रतिक्रिया नजनाएको भए पनि ६८ प्रतिशतले भने यौन इच्छाको प्रवल प्रदर्शन गरेको पाइएको छ। आफ्नो यौनइच्छा पूरा गर्नका लागि सुतुरमुर्ग मानिसतर्फ आउने गरेको पनि पाइएको छ, खासगरी वयस्क हुँदै गरेका पोथी सुतुरमुर्गहरू।

बेलायतमा हालै वैज्ञानिकहरुले अध्ययन गरेको यस्तो तथ्य दक्षिण अफ्रिकामा चाहिँ सदियौँदेखि प्रचलनमै रहेको छ । त्यहाँ मानिसको उपस्थितिमा सुतुरमुर्गको यौन सम्पर्क कायम गराइन्छ । मानिसको उपस्थितिमा अष्ट्रिचको प्रजनन् गराउने त्यहाँको परम्परा छ ।