को बन्ला बेलायतको नयाँ प्रधानमन्त्री, ऋषि सुनक कि लिज ट्रस?

एजेन्सी := बेलायतको नयाँ प्रधानामन्त्री बन्न ऋषि सुनक र लिज ट्रसबिच अन्तिम प्रतिस्पर्धा हुने भएको छ। पाँचौ चरणको मतदानबाट यी दुईजना ‘टोरी लिडर’ बन्नका लागि छानिएका हुन्। पाँचौ चरणको मतदानमा पनि ऋषिक सुनकले सर्वाधिक मत ल्याए। उनले १३७ मत ल्याउँदा लिज ट्रसले ११३ मत पाइन्।

ऋषिले पहिलो चरणमा ८८ मत, दोस्रो चरणमा १०१ मत र तेस्रो चरणमा ११५ मत पाएका उनले चौथौ चरणमा ११८ मत पाएका थिए। ट्रसले पहिलो चरणमा ५०, दोस्रो चरणमा ६४, तेस्रो चरणमा ७१ मत र चौथो चरणमा ८६ मत पाएकी थिइन्। पाँचौं चरणको मतदानबाट पेन्नी मोरडउन्ट र चौथो चरणको मतदानबाट पूर्व मन्त्री केमी बडेनच प्रधानमन्त्री बन्ने ‘रेस’ बाट बाहिरिएका थिए।

अब १ लाख ६० हजार कन्जर्भेटिक सदस्यहरुले ऋषि र लिज मध्ये कसलाई नयाँ प्रधानमन्त्री बनाउने भन्ने बारेमा मतदान गर्नेछन्। करिब दुई महिना उनीहरुले सदस्यबिच प्रचारप्रसार गर्नेछन्। सेप्टेम्बर ५ सम्ममा ऋषि र ट्रसबिच एकजना बेलायतका नयाँ प्रधानमन्त्री बन्ने निश्चित हुने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। सुरुवातदेखि नै ट्रस र ऋषिबिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो। टेलिभिजन डिबेटमा पनि यी दुईबिच विभिन्न मुद्दामा ठूलै बहस भएको थियो।

आफू निकट एक नेताको ‘यौन दुर्व्यवहार’सम्बन्धी घटना थाहा पाउँदा पनि उनलाई नियुक्त गरेको खुलेपछि प्रधानमन्त्री बोरिस जोनसनको आलोचना भएको थियो। बोरिससँग विद्रोह गर्दै ४० मन्त्रीले राजीनामा दिएका थिए। ‘सेक्स स्क्याण्डल’मा मुछिएपछि पद छाड्नुपर्ने दबाब बढ्दै जाँदा बोरिसले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए।

बुधवार संसदमा बोरिसले प्रधानमन्त्रीको रुपमा अन्तिम सम्बोधन गरेका थिए। त्यसक्रममा उनले आफूपछि बन्ने प्रधानमन्त्रीलाई केही सुझाव दिएका थिए।