स्थानीय तह निर्वाचन २०७९: १ लाख ४ हजार भन्दा बढीले गरे उम्मेदवारी मनोनयन दर्ता।

स्वतन्त्रको लर्को, दल अदलबदल, झडप, उम्मेदवार कुटपिटदेखि निर्विरोधसम्म

[ अनिल क्षेत्री ] 

 

काठमाडौं:= यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ । आगामी स्थानीय तह निर्वाचनको लागि निर्वाचन आयोगले आइतबार र सोमबार उम्मेदवारी मनोनयन दर्ताको समय तोकेको थियो ।

निर्वाचन आयोगका अनुसार आइतबार र सोमबार गरी राति ११ बजेसम्म एक लाख चार हजार १२३ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन आयोगले जानकारी दिएको छ । प्रमुख पदमा दुई हजार ७४४ जना तथा उपप्रमुख पदमा एक हजार ६९९ जनाले उम्मेदवारी दिएका हुन् ।

अध्यक्ष पदमा २ हजार ९४१ जनाको उम्मेदवारी पर्दा उपाध्यक्षमा दुई हजार २३ जनाको उम्मेदवारी परेको छ । यता वडा अध्यक्षमा २५ हजार ६४ जना, महिला सदस्यमा १७ हजार ४६७ जना, दलित महिला सदस्यमा १५ हजार ६९७ जना र सदस्यमा ३६ हजार ४८८ जनाको उम्मेदवारी परेको आयोगले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

मनोनयनपछि आयोगले वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको जनाएको छ ।

त्यसैगरी, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । यी सबै कार्यक्रमहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछन् ।

६ महानगरमा सत्तारूढ गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा

देशका ६ महानगरमा सत्तारूढ गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । विराटनगर महानगरपालिकामा सत्तारूढ गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा जसपा नेपालका अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

विराटनगर नगरपालिकामा एमालेबाट मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निरौला कार्कीले उम्मेदवारी दिनुभएको छ । यस्तै, वीरगञ्ज महानगरपालिकामा सत्तारूढ गठबन्धनका तर्फबाट मेयरमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले उम्मेदवारी दिनुभएको छ ।

वीरगञ्ज महानगरमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले तालमेल गरेका छन् । जसअनुसार मेयरमा एमालेका विजय सरावगी र उपमेयरमा लोसपा नेपालका पुरुषोत्तम झाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यता, काठमाडौं महानगरपालिकामा सत्तारूढ गठबन्धनका तर्फबाट मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंह र उपमेयरमा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले उम्मेदवारी दिनुभएको छ । एमालेबाट मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दिनुभएको छ ।

यस्तै, ललितपुर महानगरपालिकामा सत्तारूढ गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन र उपमेयरमा नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले उम्मेदवारी दिनुभएको छ । ललितपुरमा एमालेबाट मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यको उम्मेदवारी दर्ता भएको छ ।

भरतपुर महानगरपालिकामा सत्तारूढ गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दिनुभएको छ । भरतपुरमा एमाले र राप्रपाबीच तालमेल भएको छ । जसअनुसार मेयरमा एमालेबाट विजय सुवेदी र उपमेयरमा राप्रपाबाट हिमला गुरुङले उम्मेदवारी दिनुभएको छ ।

यसैगरी, पोखरा महानगरपालिकामा सत्तारूढ गठबन्धनबाट मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेपाली कांग्रेसबाट कोपिला रानाभाटले उम्मेदवारी दिनुभएको छ भने एमालेबाट मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जु गुरुङको उम्मेदवारी परेको छ ।

पोखरा महानगरमा स्वतन्त्र उम्मेदवारको लर्को

कास्कीको पोखरा महानगरपालिकामा कांग्रेसबाट तीनजनाले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । गठबन्धनको भागबण्डामा प्रमुख पद नेकपा एकीकृत समाजवादीको भागमा परेपछि कांग्रेसबाट तीनजनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो।

नन्दप्रसाद तिवारी, विमल कार्की र ऋषि सापकोटाले प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । गठबन्धनका नाममा पोखराका मतदातालाई अन्य पार्टीको चुनाव चिन्हमा मत दिन बाध्य पारेकाले आफूले उम्मेदवारी दिएको उहाँहरूको जिकिर छ ।

सत्तारूढ गठबन्धनबीच केन्द्रमा भागबण्डा मिलेलगत्तै त्यसबाट असन्तुष्ट कांग्रेसका कतिपय नेता कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिने बताएका थिए । मनोनयन दर्ताको पहिलो दिन आइतबार पोखराको मेयर आफूहरूले पाउनुपर्ने भन्दै कांग्रेस पोखराका नेता, कार्यकर्ताले जिल्ला सभापतिसहितको टोलीलाई पार्टी कार्यालयमै पाँच घण्टा थुनेका थिए ।

अन्तिममा जिल्ला सभापति किशोरदत्त बरालले पोखराको मेयरबाहेक अन्य पालिकामा गठबन्धन नगर्ने निर्णय गरेको जानकारी दिएपछि मात्रै तालाबन्दी खुलेको थियो ।

हेटौँडा उपमहानगरमा गठबन्धनबाट जसपा आउट

सत्तारूढ गठबन्धनको घटक जनता समाजवादी पार्टी (जसपा)ले सत्तारूढ गठबन्धन तोडेर हेटौँडा उपमहानगरमा छुट्टै उम्मेदवारी दर्ता गराएको छ । हेटौँडा उपमहानगरपालिकाको मेयरमा जसपा नेपालका तर्फबाट मेयरमा दीपा लामा र उपमेयरमा हरिहर खतिवडाले उम्मेदवारी दर्ता गराउनुभएको छ।

हेटौँडा उपमहानगरमा सत्तारूढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीकी मीनाकुमारी लामाले मेयरमा र नेपाली कांग्रेसका राजेश बानियाँले उपमेयरमा उम्मेदवारी दर्ता गराउनुभएको छ । गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मात्र सामेल भए पनि जसपाले गठबन्धन तोडेर छुट्टै उम्मेदवार मनोनयन दर्ता गरेको हो ।

भरतपुर महानगरमा कांग्रेसका जगन्नाथ पौडेलको उम्मेदवारी 

चितवनको भरतपुर महानगरको मेयरमा कांग्रेसका नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । सत्तारूढ गठबन्धनले नेकपा माओवादी केन्द्रलाई मेयर पद छाडेकोप्रति असन्तुष्ट कांग्रेसका नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो ।

सोमबार दिउँसो कांग्रेसको झण्डा र चुनाव चिन्ह तथा बाजागाजासहित पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको थियो । भरतपुरमा मेयर पद माओवादी केन्द्रलाई दिएपछि नेपाली कांग्रेसभित्र असन्तुष्टि चर्केको छ । कांग्रेस जोगाउने अभियानस्वरूप आफूले उम्मेदवारी दिएको पौडेलको दाबी छ । २०४९ सालको चुनावमा नेपाली कांग्रेसबाट पौडेल भरतपुरमा उपमेयरमा विजयी हुनुभएको थियो ।

बुटवल उपमहानगरमा गठबन्धनका उम्मेदवारको छुट्टाछुट्टै मनोनयन

बुटवल उपमहानगरपालिकामा गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका खेलराज पाण्डेले मेयर पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । कांग्रेस नगर सभापतिसमेत रहनुभएका उहाँले बुटवल उपमहानगरको निर्वाचन कार्यालयमा गएर सोमबार उम्मेदवारी दर्ता गराउनुभएको हो ।

पाँच दलीय गठबन्धन गरे पनि कांग्रेसका उम्मेदवारहरू भने एकल रूपमै उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए । गठबन्धनमा उपमेयर उम्मेदवारको टिकट पाउनुभएका नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङभन्दा अघि नै पुगेर पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

शक्ति प्रदर्शनसहित बुटवल बजारको बीचबाट निर्वाचन कार्यालय आएको टोलीमा गठबन्धन दलका कुनै पनि नेता कार्यकर्ता देखिएनन् । गुरुङ अन्तिम समयमा आफ्नो पार्टीको टोली लिएर दर्ता गर्न पुग्नुभएको थियो । यसअघि नै गठबन्धन दलको एक घटक जसपाले आइतबार मेयर र उपमेयर दुवै पदमा उम्मेदवारी दर्ता गराएको थियो ।

गठबन्धनको निर्णयविपरीत उम्मेदवारी दर्ता भए फिर्ता हुन्छ : सत्ता गठबन्धन

सत्तारूढ पाँच दलीय गठबन्धनले देशभरका स्थानीय तहमा गठबन्धनको निर्णयविपरीत उम्मेदवारी दर्ता गराएको पाइए उम्मेदवारी फिर्ता हुने जनाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान बसेको गठबन्धनको बैठकले कसैले गठबन्धनको निर्णयविपरीत उम्मेदवारी दर्ता गराए पनि त्यस्ता असमझदारीहरूलाई सम्बोधन गरेर सहमतिमा ल्याउने निर्णय गरेको हो ।

बैठकमा सहभागी कांग्रेस नेतासमेत रहनुभएका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो, ‘केही छुटफुट उम्मेदवारीहरू दर्ता भए पनि तिनीहरूलाई फेरि सहमति गरेर पाँच दलको एउटै उम्मेदवारहरू देशभरि हुनेछन्, कसैले गठबन्धनको निर्णयविपरीत दर्ता गर्‍यो भने पनि त्यो पछि फिर्ता गराइन्छ ।’

हेलिकप्टरबाट आएका उम्मेदवार आफ्नै कार्यकर्ताबाट कुटिए

स्थानीय तह निर्वाचनको लागि मेयरमा उम्मेदवारी दर्ता गराउन हेलिकप्टरबाट निर्वाचन कार्यालय पुग्नुभएका नेपाली कांग्रेसका नेता धर्मराज पोखरेल आफ्नै पार्टीका कार्यकर्ताबाटै कुटिनुभएको छ । दिक्तेल नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउन हेलिकप्टरबाट पुग्नुभएका पोखरेललाई कांग्रेसकै कार्यकर्ताहरूले कुटपिट गरेका हुन् । पोखरेललाई लेखेट्न पुगेका कार्यकर्ताहरूलाई प्रहरीले रोकेको थियो । असन्तुष्ट कार्यकर्ताहरूले पोखरेलमाथि आक्रमण गरिएको बताइएको छ ।

यस्तै, गोरखामा पनि मेयरका उम्मेदवार आफ्नै कार्यकर्ताबाट कुटिएका छन् । कार्यकर्ताबाटै कुटिएपछि विश्वदेव श्रेष्ठबाट गोरखा नगरपालिका प्रमुखको टिकट खोसिएको छ । टिकट पक्का भएपछि उम्मेदवारीका लागि फोटो खिचाउन स्टुडियोमा छिर्नुभएका श्रेष्ठलाई कांग्रेस कार्यकर्ताको एक समूहले कुटपिट गरेको थियो । कुटपिटबाट श्रेष्ठलाई सामान्य चोट लागेको छ । कार्यकर्तामा तीव्र असन्तुष्टि देखिएपछि कांग्रेसले बहालवाला मेयर राजनराज पन्तलाई नै टिकट दिएको छ ।

६० प्रतिशत पालिकामा गठबन्धन गर्न सफल भएको माओवादीको दाबी 

सत्तारूढ गठबन्धनको घटक माओवादी केन्द्रले ६० प्रतिशत पालिकामा गठबन्धन भएको दाबी गरेको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णबहादुर महराले सोमबार पत्रकार सम्मेलन गर्दै मुलुकभर ६० प्रतिशत स्थानीय तहमा गठबन्धन भएको दाबी गर्नुभएको हो ।

गठबन्धनका दलहरूले एक–अर्काविरुद्ध उम्मेदवारी दिएका स्थानीय तहमा उम्मेदवारी फिर्ता लिने दिन तथा मतदानको अघिल्लो दिनसम्म पनि मेलमिलापको प्रयास जारी रहने महराले जानकारी दिनुभयो । सत्तारूढ गठबन्धन स्थानीय तह निर्वाचनमा सफल भएको दाबी गर्दै महराले संघीय निर्वाचनसम्म नै वर्तमानमा साथमा आएका दलहरू मिलेर जाने दाबी गर्नुभयो ।

एउटै पदमा दुई जनालाई टिकट

महोत्तरीको बर्दिवास नगरपालिकामा नेपाली कांग्रेसबाट नगर प्रमुखको टिकट लिएर दुईजना निर्वाचन कार्यालय पुगेपछि तनाव भयो । प्रह्लाद क्षेत्री र चिरञ्जीवी हमाल दुवै मेयरको टिकट लिएर निर्वाचन कार्यालय पुगेपछि तनाव भएको हो ।

अन्तिममा हमालले पार्टी सभापति शेरबहादुर देउवाबाटै टिकट लगेपछि पार्टीको आधिकारिक उम्मेदवार तय भयो । आधिकारिक उम्मेदवारको टिकट नपाएपछि क्षेत्रीले भने स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

निवर्तमान मेयरकै उम्मेदवारी खारेज

सर्लाहीको लालबन्दी नगरपालिकाका निवर्तमान मेयर मानबहादुर खड्काको उम्मेदवारी खारेज भएको छ । नेकपा एमालेको मधेश प्रदेश कमिटीबाट टिकट पाउनुभएका खड्काले बिहानै ११ बजेर ४० मिनेटमा मनोनयन दर्ता गर्नुभएको थियो । तर, पछि एमालेको केन्द्रीय कमिटीबाट टिकट लिनुभएका गोविन्द महत मनोनयन दर्ता गराउन कार्यालय पुग्नुभयो ।

निर्वाचन अधिकृतको कार्यालयले एमालेबाट मेयरमा पहिले नै उम्मेदवारी दर्ता भइसकेको भन्दै तत्कालै महतको नाममा अर्को उम्मेदवारी दर्ता गर्न मानेन । त्यसपछि एमाले नेताहरूले प्रदेश र केन्द्रीय कमिटीबाट आफ्नो पार्टीको उम्मेदवार गोविन्द महत नै रहेको पत्र लेखाएपछि खड्काको मनोनयन खारेज भयो ।

डोल्पाको काइके गाउँपालिकामा निर्विरोध 

डोल्पाको एक गाउँपालिकाका सबै जनप्रतिनिधि निर्विरोध भएका छन् । डोल्पाको काइके गाउँपालिकाका सातवटा वडा रहेको गाउँपालिकामा ३७ जना जनप्रतिनिधि निर्वाचित हुनुपर्नेमा ३५ जनाको मात्रै मनोनयन दर्ता भएपछि सबै जनप्रतिनिधि निर्विरोध भएका हुन् । निर्विरोध हुने गाउँपालिका अध्यक्ष नेकपा एकीकृत समाजवादीका अंगकुमार राना र उपाध्यक्ष मीना रानासहित गाउँपालिकाका सबै वडा अध्यक्ष तथा वडा समिति सदस्यहरू रहेका छन् ।

यस्तै, ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ मा अध्यक्षसहित सबै सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन अधिकृत राजकुमार दाहालका अनुसार वडाध्यक्ष छेदेन लामा शेर्पा, महिला सदस्यमा फुपु लमु श्रेष्ठ, दलित महिला सदस्यमा विपना तुम्हामफे विक र खुला सदस्यमा टासी शेर्पा र बाङ्या शेर्पा निर्वाचित भएका हुन् । निर्विरोध निर्वाचित सबै जनाले स्वतन्त्रबाट मनोनयन दर्ता गराएका थिए ।