काठमाडौं:= श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि साउदी अरेबियाका कार्यवाहक राजदूत नाइफ अलोटाइवीले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा सोमबार भएको भेटमा उहाँहरूबीच दुई देशबीच रही आएको आपसी सम्बन्ध र चासोका विविध विषयमा छलफल भएको थियो ।
सो अवसरमा श्रममन्त्री श्रेष्ठले पछिल्लो समय नेपाली कामदारको प्रमुख श्रम गन्तव्य बनेको साउदी अरेबियामा नेपालीहरू विभिन्न समस्यामा परेको गुनासो आएको भन्दै समाधानको पहल गर्न राजदूत अलोटाइवीसँग आग्रह गर्नुभयो ।
सम्झौताअनुसार काम र पारिश्रमिक नपाएको भन्दै उजुरी तथा गुनासो गर्ने नेपाली कामदारको संख्या उच्च रहेको मन्त्री श्रेष्ठको भनाइ थियो । नेपाल र साउदी अरेबियाबीचको श्रम सम्झौतालाई छिटो अन्तिम रूप दिनुपर्ने मन्त्री श्रेष्ठले बताउनुभयो । श्रम सम्झौता नहुँदा रोजगारदाता तथा मानवस्रोत आपूर्तिकर्ता संस्थाको कर्तव्य स्पष्ट हुन नसकेको उहाँले बताउनुभयो ।
राजदूत अलोटाइवीले नेपाली कामदारको सहजताको लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । मन्त्री श्रेष्ठले साउदी अरेबिया सरकारको सहयोगमा नेपालमा साउदी लक्षित सीप प्रशिक्षण केन्द्र सञ्चालनको प्रस्ताव पनि गर्नुभएको थियो ।
अहिले साउदी अरेबिया जाने अधिकांश कामदार अदक्ष रहेकाले सीपयुक्त जनशक्ति उत्पादन गर्न सीप परीक्षण परियोजना सञ्चालन गर्न सकिने मन्त्री श्रेष्ठले बताउनुभयो । साउदीमा रोजगारीका लागि जाने नेपाली कामदारमध्ये अधिकांश अदक्ष कामदार छन् ।
करिब चार लाख श्रमिक कार्यरत रहेको साउदी अरेबिया नेपाली कामदारहरूको लागि प्रमुख श्रम गन्तव्य हो । नेपाल र साउदी अरेबियाबीच सन् १९७७ मार्च १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।




















