आज वैशाख १२ गते, महाभूकम्पको सात वर्ष: निजी तथा सार्वजनिक संरचना पुनर्निर्माणमा उल्लेख्य प्रगति।

काठमाडौं:= १२ वैशाख २०७२ अर्थात नेपालमा भयावह भुकम्प गएको दिन । यहीँ दिनमा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पको सोमबार सात वर्ष पूरा भएको छ । भूकम्पले ध्वस्त बनाएका कैयौँ संरचना पुनर्निर्माण भएका छन् । विशेषगरी विद्यालय भवन सुरक्षा निकाय भवन र सडक निर्माणमा राम्रो प्रगति भएको छ । आम सर्वसाधारणको चासो रहेको ऐतिहासिक महत्वका धरहरा रानीपोखरी जस्ता सम्पदाको पुनर्निर्माण पनि भइसकेको छ ।

यी सम्पदाको पुनर्निर्माणले खुसीको सञ्चार गरे पनि बन्न बाँकी सम्पदाहरू पनि त्यत्तिकै छन् । कतिपय क्षतिग्रस्त सम्पदाको त पुनर्निर्माणको सुरुसार पनि गरिएको छैन । पशुपति क्षेत्रको मुख्य मन्दिरमध्येमा पर्ने विश्वरूपको पुनर्निर्माण अझै थालिएको छैन । विश्वसम्पदा क्षेत्रकै एक तिहाइभन्दा बढी सम्पदा बन्न बाँकी छन् । विश्वसम्पदामा सूचीकृत क्षेत्रमा ४९ वटा सम्पदा पुनर्निर्माण हुँदै छन् भने ११ वटाको निर्माण नै थालिएको छैन ।

यस्तै, उपत्यका बाहिरका ३४४ सम्पदामध्ये १३९ वटाको पुनर्निर्माण थालिएको छैन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्पदा पुनर्निर्माणको बाँकी काम संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयलाई हस्तान्तरण गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट भइरहेका विभिन्न कार्यहरू, स्रेस्ता तथा कागजात राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल गत वर्षको पुस ९ गते सम्पन्न भएको थियो । राजधानी काठमाडौं उपत्यकासहित मध्य नेपालका १४ जिल्लामा नराम्ररी क्षति पुर्‍याएको भूकम्पले करिब नौ हजार मानिसको मृत्यु भएको थियो भने २२ हजारभन्दा बढी घाइते भएका थिए । अन्य १८ जिल्ला कम प्रभावित बनेका थिए ।

भूकम्पले गोरखा, सिन्धुपाल्चोक, दोलखा, रसुवा जिल्लाहरूमा बढी क्षति गराएको थियो । भूकम्पमा आठ लाखभन्दा बढी निजी आवास भत्किएका थिए भने धेरै सार्वजनिक विद्यालयको संरचनामा क्षति पुगेको थियो । भूकम्पले नेपालको पुरातात्विक सम्पदाको रूपमा रहेको धरहरा ढलेको थियो भने थुप्रै सांस्कृति सम्पदामा असर गरेको थियो ।

पुनर्निर्माण लाभग्राही

अनुदान सम्झौता गरेका लाभग्राही : ८,२९,६६७

पहिलो किस्ता लिएका लाभग्राही : ८,२८,७६३

दोस्रो किस्ता लिएका लाभग्राही : ७,५०,४५९

तेस्रो किस्ता लिएका लाभग्राही : ७,०३,३०७

निजी आवास पुनर्निर्माण

पुनर्निर्माण सम्पन्न घर : ७,०३,३०७ (तेस्रो किस्ता लिएको आधारमा)

विद्यालय भवन

लक्ष्य- ७५५३, पुनर्निर्माण सम्पन्न- ६,६४७, पुनर्निर्माण जारी- ९३६

स्वास्थ्य संस्थाका भवन

लक्ष्य- ११९७, पुनर्निर्माण सम्पन्न- ७५१, पुनर्निर्माण जारी- ३५४

सांस्कृतिक सम्पदा

लक्ष्य- ९२०, पुनर्निर्माण सम्पन्न- ६०६, पुनर्निर्माण जारी- २८८

सरकारी भवन

लक्ष्य- ४१५, पुनर्निर्माण सम्पन्न- ३८८, पुनर्निर्माण जारी- २०

सुरक्षा निकायका भवन

लक्ष्य- २१६, पुनर्निर्माण सम्पन्न- २१६

जोखिमयुक्त बस्तीका लाभग्राहीको व्यवस्थापन

जम्मा लाभग्राही- ४,७२०

सुरक्षित ठाउँमा जग्गा खरिद तथा व्यवस्थापन भएका- ३,४६२

सुरक्षित बस्तीका लागि सरकारी जग्गा प्राप्त गर्ने लाभग्राही- ६२९

अन्य ढंगबाट जग्गा व्यवस्थापन गरेका- ६२९

भूमिहीन लाभग्राहीको व्यवस्थापन

जम्मा लाभग्राही- १२,७५७

साबिककै स्थानमा घर बनाउन अनुमति पाएका- ११,५८०

जग्गा खरिद अनुदान उपलब्ध गराउने निर्णय भएका- १,१७७