महिला-युवा उद्यमी सम्मेलन: देशको आर्थिक विकास र सामाजिक रूपान्तरणमा लाग्न जोड।

काठमाडौं:= वियोन्ड ब्यारियर्स भन्ने नाराका साथ आठौँ महिला-युवा उद्यमी सम्मेलन (वाइइएसडब्लु) २०२२ आयोजना गरिएको छ । उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) द्वारा आयोजित सम्मेलनको शनिबार उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले युवा उद्यमीलाई आर्थिक तथा सामाजिक रूपान्तरणमा लाग्न आग्रह गर्नुभएको छ ।

मन्त्री भुसालले नयाँ पुस्तालाई उत्पादनमा जोड्न युवा उद्यमीको संस्था सात सय ५३ स्थानीय तहमा विस्तार हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘आयात निरुत्साहित र निर्यात प्रवद्र्धन गर्न उत्पादन विस्तार गर्नुछ । त्यसका लागि देशभरका युवा उत्पादनमा संलग्न हुनुपर्छ ।’ मन्त्री भुसालले कृषि उत्पादनमा युवा पुस्ता आकर्षित हुन सकेमात्रै देश समृद्धितर्फ अघि बढ्ने भन्दै युवालाई संगठित गरेर उद्यममा प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।

औद्योगिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरणलाई प्राथमिकता राखेर अघि बढ्नुपर्ने बताउँदै मन्त्री भुसालले भन्नुभयो, ‘आर्थिक र सामाजिक विकासमा युवा उद्यमीहरू लाग्नुपर्छ ।’ परम्परागत पितृसत्ताका कारण महिला पछि परेको भन्दै उहाँले महिला उद्यमी शिक्षा, स्वास्थ्यमा मात्र नभई उद्यमशीलतामा अब्बल हुनुपर्ने बताउनुभयो ।

कृषि उत्पादन विस्तार गर्न अनुसन्धान एवं प्रवद्र्धनमा लाग्न आग्रह गर्दै उहाँले भन्नुभयो, ‘कृषिप्रधान देशले बर्सेनि तीन खर्ब बराबरको कृषिजन्य सामग्री आयात गर्नु राम्रो होइन, कृषि उत्पादकत्व विस्तार गर्ने उद्योगलाई सरकारले सहयोग गर्छ।’  राजनीति, स्वास्थ्य, शिक्षा र रोजगारका क्षेत्रमा महिला र पुरुषबीचमा समान अधिकार भएपछि मात्रै सबैले सबैसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थाको सिर्जना हुने उल्लेख गर्दै मन्त्री भुसालले महिलाले आफ्नो क्षमता विकास गरेर आर्थिक तथा सामाजिक अधिकार कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभयो।

नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष उदीप श्रेष्ठले युवालाई उद्यमशीलतामा जोड्नकै लागि आफूहरू लागिपरेको भन्दै आगामी दिनमा देशभरका युवालाई संगठित गरेर उद्यममा लाग्न प्रेरित गर्ने विश्वास दिलाउनुभयो । सन् २०१३ मा स्थापना भएको संस्थाले सन् २०१३ देखि महिला–युवा उद्यमी सम्मेलन आयोजना गर्दै आएको छ । कार्यक्रममा कृषि, निर्माण कार्य, शारीरिक व्यायाम, परामर्शदाता, अनुसन्धान क्षेत्रमा संलग्न महिला युवा उद्यमीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमको प्रायोजन अन्तर्राष्ट्रिय मजदुर संगठन, राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्सलगायतले गरेका छन् ।कार्यक्रममा आमाको अचारका तर्फबाट संगीता पाण्डे, महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्री, गोल्डस्टारबाट विदुषी राणा, एफवान सफ्ट इन्टरनेसनलबाट सुभास शर्मा, दराजबाट प्रमुख कार्यकारी अधिकृत आँचल कुँवरको प्रस्तुति रहेको आयोजकले जनाएको छ ।