काठमाडौं:= आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ता आजबाट सुरु हुँदैछ। निर्वाचन आयोगले आज र भोलि गरी दुई दिन उम्मेदवारी मनोनयन दर्ताको समय तोकेको छ । आयोगले आइतबार र सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन गर्न समय निर्धारण गरेको छ ।
देशभरिका ७५३ वटै स्थानीय तहमा वैशाख ३० गते एकैदिन स्थानीय तह चुनाव हुँदैछ । निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ताको पूर्व-सन्ध्यामा शनिबार गरेको पत्रकार सम्मेलनमा मनोनयन दर्ताको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगले यसअघि नै सम्पूर्ण स्थानीय तहहरूमा मुख्य निर्वाचन अधिकृत र अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । विगतमा एक दिन मात्रै मनोनयनको लागि छुट्याइने गरेकोमा निर्वाचन आयोगले यसपटक भने दुई दिन समय राखेको छ ।
उम्मेदवारी मनोनयन दर्ताको क्रममा हुने विगतको कठिनाइलाई ध्यानमा राखेर दुई दिन मनोनयनको समय राखिएको निर्वाचन आयोगले बताउँदै आएको छ । तर, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सत्तारूढ गठबन्धनका केही दलहरूले मनोनयन दर्ताको समय दुई दिन राखेकोप्रति शंकाको दृष्टिले हेर्दै आएका छन् ।
एक दिन समय राख्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतले कार्य चाप धान्न कठिन भएको र केही स्थानीय तहको उम्मेदवारी दर्ता भोलिपल्ट बिहानसम्म गर्नुपरेको विगतको कठिनाइलाई ध्यानमा राखेर यसपटक मनोनयन गर्ने समय दुई दिन राखिएको निर्वाचन आयोगले शनिबार जारी गरेको विज्ञप्तिमा पनि स्मरण गरिएको छ ।
शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘दुई दिनको समय दिनु उपयुक्त हुन्छ भन्ने राजनीतिक दल तथा अन्य सरोकारवालाबाट आयोगलाई सुझाव प्राप्त भएको आधारमा स्थानीय सदस्य निर्वाचन, २०७९ मा मनोनयन दर्ताको कार्यक्रम दुई दिन राखिएको हो ।’
उम्मेदवारी दर्तामा दलगत समय नछुट्याउन आयोगको निर्देशन
निर्वाचन आयोगले तोकिएको समयभित्र उम्मेदवारी दर्ता गर्न देशभरका निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ । आयोगले आइतबार बिहान १० बजेदेखि सोमबार अपरान्ह ५ बजेसम्म जतिबेला जुनसुकै व्यक्ति उम्मेदवारी दिन आए पनि दर्ता गर्न निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको हो ।
आयोगले दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ–आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको छ । कतिपय स्थानमा राजनीतिक दलका उम्मेदवारलाई गोला प्रथाद्वारा उम्मेदवार मनोनयन दर्ता गर्ने दिन तोकिएको भन्ने सूचना आयोगमा प्राप्त भएको भन्दै निर्वाचन आयोगले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आयोगले उपलब्ध गराएको मनोनयन दर्ताको समयमा मनोनयन दर्ता कार्यलाई सु–व्यवस्थित र शान्तिपूर्ण ढंगले सम्पादन हुने गरी सहयोग पुर्याउन हुन तथा कानुन बमोजिमको योग्यता पुगेका सबै नागरिकको स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार बन्न पाउने नैसर्गिक अधिकारमाथि कहीँ कतैबाट कुनै अवरोध आउन नदिन र निर्धारित दुई दिनमध्ये कुनै दिन दल वा स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता हुन आएको खण्डमा सोही दिन उम्मेदवारको मनोनयन दर्ता गर्ने व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराइन्छ ।’
निर्वाचन आयोगले संविधानले व्यवस्था गरेको समावेशी सिद्धान्तका आधारमा उम्मेदवार दर्ता गर्न स्थानीय तह निर्वाचनमा भाग लिने सबै राजनीतिक दलहरूलाई आग्रह गरेको छ । महिलालाई समावेशी ढंगले उम्मेदवार बनाउन आयोगको आग्रह छ ।
स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिन के-के चाहिन्छ ?
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा उम्मेदवारी दिन चाहनेले आइतबार र सोमबार सम्बन्धित पालिकाको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउन सक्नेछन् । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुने व्यक्तिले मनोनयनपत्र दाखिला गर्दा पेश गर्नुपर्ने कागजातको सूची सार्वजनिक गरेको छ ।
उम्मेदवारी दर्ता गराउन सबैभन्दा पहिले सम्बन्धित स्थानीय तहको मतदाता नामावलीमा नाम हुनुपर्छ । त्यसपछि सम्बन्धित पालिकाका मतदातामध्येबाट एकजना प्रस्ताव र एकजना समर्थक आवश्यक पर्ने आयोगले जनाएको छ । नगरपालिकाको प्रमुख र उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गराउन १५०० रुपैयाँ धरौटी राख्नुपर्छ ।
महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपमा विपन्न व्यक्तिलाई भने मनोनयन दर्ता शुल्क ७५० रुपैयाँ मात्र लाग्ने आयोगले जनाएको छ । वडा अध्यक्षमा उम्मेदवारी दिन १००० रुपैयाँ शुल्क लाग्नेछ । वडा सदस्यका लागि ५०० रुपैयाँ लाग्नेछ ।
यस्तै, कुनै दलबाट उम्मेदवारी दिन दलले प्रदान गरेको औपचारिक पत्र अनिर्वाय हुनुपर्नेछ । कुनै सरकारी निकायबाट पारिश्रमिक पाउने व्यक्ति वा जनप्रतिनिधि भएमा राजीनामा दिएको निस्सा आवश्यक पर्ने आयोगले जनाएको छ ।
पूर्णरूपमा आचारसंहिता पालना गर्न आग्रह
निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पूर्णरूपमा आचारसंहिता पालना गर्न आग्रह गरेको छ । प्रवक्ता पौडेलले आयोगले जारी गरेको ६० बुँदे आचारसंहिता पालना गर्न ध्यानाकर्षण गराउनुभएको हो । आयोगले कुनै सार्वजनिक स्थानमा दलको झण्डा राखेको भए त्यसलाई तत्काल हटाउन आग्रह गरेको छ । उम्मेदवार मनोनयन दर्ताका लागि जाँदा पनि ३ बाई ३ साइजको एउटा मात्र झण्डा प्रयोग गर्न, कुनै दलको झण्डा, चिन्ह भएको भेष्ट, टोपी, गम्छा नलगाउन र त्यस्ता चिन्ह अंकित झोला नबोक्न पनि आयोगले सर्वसाधारणलाई आग्रह गरेको छ ।
उम्मेदवारी मनोनयन दर्ताको तयारी सम्बन्धमा शनिबार आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता पौडेलले भन्नुभयो, ‘आम सभामा र मोटर साइकल र्यालीमा समेत झण्डा धेरै प्रयोग गर्न पाइने छैन । उम्मेदवारी दर्ता पछि पार्टी र उम्मेदवारको चिन्ह अंकित कपडा, भेष्ट, टिकट, क्याप वा झोला बोकेको पाइए कारबाही हुनेछ ।’ त्यस्ता सामग्री प्रयोग गरे कारबाही हुने आयोगको चेतावनी छ ।
६ महानगर र चार नगरपालिकाको मतपत्र वैशाख १७ पछि मात्रै छापिने
निर्वाचन आयोगले ६ महानगरपालिका र चार नगरपालिकामा उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्र मतपत्र छाप्ने जनाएको छ । निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अघिल्लो पटकको निर्वाचनका बेलाको निर्णय र अभ्यासको आधारमा मतपत्र छाप्ने निर्णय भएको जानकारी दिँदै भन्नुभयो, ‘अघिल्लो निर्वाचनमा १० प्रकारको मतपत्र छापेर पठाइएको थियो । यसपटक ७८ प्रकारका मतपत्र डिजाइन छापेर पठाएका छौँ ।
यसमा ७७ जिल्लाका ७७ प्रकारका मतपत्र र भक्तपुर जिल्लाको चार नगरपालिका र ६ महनगरपालिकाका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि मात्रै मतपत्र छापिन्छ ।’ महानगर र भक्तपुरको चार नगरपालिकामा धेरै उम्मेदवार हुन सक्ने र उनीहरूलाई दिनका लागि पर्याप्त चुनाव चिन्हसहितको मतपत्र छाप्नुपर्ने भएकाले उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मात्रै मतपत्र छाप्न लागिएको आयोगले जनाएको छ । प्रमुख आयुक्त थपलियाले भन्नुभयो, ‘यसो हुँदा राष्ट्रिय दलहरूले समेत जुन जुन पदमा उम्मेदवारी दिन्छन्, त्यहाँ चुनाव चिन्ह रहन्छ, उम्मेदवारी नदिएको पदमा चुनाव चिन्ह रहँदैन ।’
मतदानस्थलको सुरक्षाको जिम्मा स्थानीय प्रशासनलाई
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानस्थलको सुरक्षा स्थानीय प्रशासनले गर्ने बताउनुभएको छ । वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगले सबै तयारी पूरा गरिसकेको र सुरक्षा व्यवस्थाको सन्दर्भमा केन्द्रीय रणनीतिअनुसार स्थानीय प्रशासनले गर्ने जानकारी दिँदै थपलियाले भन्नुभयो, ‘आयोगले सबै तयारी सम्पन्न गरेको छ ।
अब उम्मेदवारी दर्ता, मतदान र मतपत्र गणना मात्र बाँकी रहेको छ ।’ आचारसंहिता पालनाका लागि स्थानीय प्रशासनलाई पनि अधिकार प्रत्यायोजन गरेको जानकारी दिँदै थपलियाले भन्नुभयो, ‘आचारसंहिता पालनाको सन्दर्भमा स्थानीय प्रशासनलाई पनि अधिकार प्रत्यायोजन गरिएको छ । मनोनयनका क्रममा र्याली र जुलुसका कारणले असहज स्थिति नआओस् भन्ने हो ।’
आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना
निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधिहरूको प्रतिनिधित्व हुनेगरी शनिबार निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) स्थापना भएको छ । आगामी स्थानीय तह निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलको संयोजकत्वमा केन्द्र स्थापना गरिएको हो ।
केन्द्रमा गृह मन्त्रालय, रक्षा मन्त्रालय र सुरक्षा निकायका राजपत्राकिंत द्वितीय श्रेणीका अधिकृतहरूको प्रतिनिधित्व रहेको आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता तथा अन्य गतिविधि सूक्ष्म रूपले अनुगमन तथा मूल्यांकन गर्न केन्द्रमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा अनुसन्धान प्रहरीका प्रतिनिधिहरूको प्रतिनिधित्व रहेको आयोगले जनाएको छ ।
केन्द्रका संयोजक तथा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ऐन, नियम र आयोगले तोकेको कार्यसञ्चालन कार्यविधिअनुसार नै केन्द्रले सबै जिम्मेवारी पूरा गर्ने बताउनुभयो ।
जुन चिन्हबाट विजयी, जनप्रतिनिधिको दलीय हैसियत उही : प्रमुख निर्वाचन आयुक्त
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अर्को दलको निर्वाचन चिन्ह लिएर लड्ने उम्मेदवारको दलीय हैसियत सोही दलको हुने बताउनुभएको छ । निर्वाचन आयोगले शनिबार गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचित भएपछि पनि सोही दलको पदाधिकारी हुने बताउनुभएको हो ।
कानुनले राजनीतिक दलको गठबन्धन वा तालेमल नबुझ्ने र भविष्यमा जुन दलबाट निर्वाचित भएको हो त्यो दलले ती निर्वाचित व्यक्तिलाई कारबाही गरिएको पत्र पठाए कानुनअनुसार हुने जानकारी दिँदै थपलियाले भन्नुभयो, ‘यदि कोही स्वतन्त्र रूपमा उम्मेदवार हुन्छ र स्वतन्त्र चिन्हबाट निर्वाचन जित्यो भने ऊ स्वतन्त्र हुन्छ ।
कुनै दलबाट उम्मेदवारी दर्ता गरेर चुनाव जितेर त्यो दल त्याग गरेको अर्को दलमा गएमा वा त्यो दलदले गर्नुपर्ने कामभन्दा विपरीत काम गरेको भनेर त्यो दलको केन्द्रीय कमिटीले निर्णय गरेर आयोगमा निजलाई हटाइदिनुपर्यो भनेर आयो भने आवश्यक प्रक्रिया पूरा गरी डकुमेन्ट हेरेर १५ दिनभित्रमा आयोगले त्यो पद रिक्त भएको घोषणा गर्छ ।’ कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले नेकपा एमालेको सूर्य चिन्ह लिएर स्थानीय तहमा सहभागी हुने भएको छ । यस्तोमा राप्रपा, नेपालका कुनै उम्मेदवारले चुनाव जितेमा उसको दलीय हैसियत नेकपा एमालेकै हुनेछ ।
निर्वाचनमा एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन
सरकारले आगामी स्थानिय तह निर्वाचनको एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन गरेको छ । सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना संकलन, रेखी तथा स्थलगत निरीक्षणको काम गरिरहेको छ भने निर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षा प्रदान गर्न खटिइसकेको छ । निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहनेछ ।
निर्वाचनको सुरक्षा चुनौती आँकलन गर्दै चारैवटा सुरक्षा निकायले आ-आफ्नो तयारी तीव्र पारेको जनाएको छ । यसपालिको निर्वाचनमा नेपाल प्रहरीले ६५ हजार बढी जनशक्ति निर्वाचन केन्द्रित सुरक्षामा परिचालन गर्ने गरी आवश्यक रणनीति तयार पारेको छ । नेपाली सेनाका ७१ हजार जनशक्ति निर्वाचनमा खटिनेछन् । यस्तै, सशस्त्र प्रहरीबाट ३२ हजार जनशक्ति निर्वाचनमा खटिनेछन् । निर्वाचन प्रयोजनार्थ भर्ना गरिएका एक लाख म्यादी प्रहरी पनि कार्य क्षेत्रमा खटिइसकेका छन् ।




















