काठमाडौं:= नेपाल भ्रमणमा रहेको अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल र नेपाली सांसदबीच दुई पक्षीय छलफल भएको छ । शनिबार काठमाडौंमा दुई देशका सांसदहरूबीच दुई पक्षीय सम्बन्धका विषयमा छलफल भएको हो ।
छलफलका क्रममा अमेरिकी सांसदहरूले नेपालमा समृद्धिको आधार तयार गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको नेपाल-अमेरिका संसदीय समूहका संयोजक मीनेन्द्र रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालको जनजीविका र समावेशी विकासमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
जलवायु परिवर्तनको जोखिमसँग जुँध्न र त्यसको जोखिम कम गर्ने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो । ‘नेपालको समृद्धि, जनजीविका र समावेशी विकासका लागि सहयोग पुर्याउने क्रममा दुवै पार्टीका सांसदको सहयोग रहनेछ भन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो,’।
डा. रिजालले भन्नुभयो, ‘नेपालको भौतिक पूर्वाधार निर्माण, पर्यटन क्षेत्रको विकास र नवीकरणीय ऊर्जाका लागि नेपाल अत्यन्तै महत्वपूर्ण स्रोत भएको देश हुन सक्दछ, भन्ने कुरा हामीले राख्यौँ । त्यसमा उहाँहरूले सन्तोष व्यक्त गर्नुभयो । उहाँहरूले नेपाली सेनाले शान्ति स्थापनार्थ खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।’
अमेरिकी सांसदहरूले एमसिसी सम्झौता पारित गरेकोमा नेपालको संघीय संसद्प्रति आभार व्यक्त गरेका थिए । एमसिसीको प्रभावकारी कार्यान्वयनका विषयमा पनि छलफल भएको रिजालले बताउनुभयो । दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध ७५ वर्ष प्रवेश गर्न लागेको अवसरमा अमेरिकी सांसदहरूले नेपाल भ्रमण गरेका हुन् ।
प्रधानमन्त्रीसँग अमेरिकी सांसदको भेट
नेपाल भ्रमणमा रहेको अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ । सांसद कर्सटन गिलिब्रान्ड नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवाको सरकारी निवास बालुवाटारमा शनिबार शिष्टाचार भेटवार्ता गरेको हो ।
भेटमा प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीच बहुआयामिक नेपाल-अमेरिका सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचार-विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल–अमेरिका मैत्री, दुवै देशका सरकार एवं संसद्का साथै जनताबीच साझेदारी र सहकार्य प्रवद्र्धनबारेमा पनि विचार आदानप्रदान भएको थियो ।
प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीच जलवायु परिवर्तन जस्ता विश्वव्यापी विषयहरूमा छलफल भएको थियो ।प्रतिनिधिमण्डलले शनिबार नै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेटवार्ता गरेको छ । भेटका बेला दुवै पक्षले आर्थिक विकासलगायत विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा विचार आदानप्रदान गरेका थिए ।
दुवै पक्षबीच नेपाल-अमेरिकामैत्री दुई पक्षीय र बहुपक्षीय स्तरमा साझा चासोका मुद्दाबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ । दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध ७५ वर्ष प्रवेश गर्न लागेको अवसरमा अमेरिकी सांसदहरूले नेपाल भ्रमण गरेका हुन् ।




















