काठमाडौं:= नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय नायिका हुनुहुन्छ वर्षा राउत । वर्षाले नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेको ६ वर्ष पूरा भएको छ ।उहाँले डेब्यु गरेको चलचित्र ‘नाईँ नभन्नु ल ४’ सन् २०१६ अप्रिल ८ मा प्रदर्शन भएको थियो । यसैक्रममा उहाँले शुक्रबार सामाजिक सञ्जालमार्फत् अभिनय यात्राका रोमाञ्चक तस्बिर सेयर गर्दैै दर्शकप्रति आभार व्यक्त गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालमा आफूलाई माया र आलोचना गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । ‘यी ६ वर्ष आँखा झिम्काएर बितेजस्तो लाग्छ । म आज जहाँ छु, त्यसप्रति गर्व छ । जब म यी अद्भूत वर्षहरूलाई फर्केर हेर्छु, म आफूलाई कृतज्ञ महसुस गर्छु,’ वर्षाले लेख्नुभएको छ, ‘माया, प्रशंसा, समर्थन, आलोचना र अत्यधिक प्रशंसाका लागि धन्यवाद । मलाई दिनुभएको यो प्रशंसालाई म कदर गर्छु । मैले फिल्ममा दिएको हरेक अंश र यसलाई हेर्ने प्रत्येक दर्शकको मस्तिष्क, हृदय र आत्मामा मैले सम्झना छाडेकी छु । म सबै कुराका लागि आभारी छु ।’
विकासराज आचार्य निर्देशित चलचित्र ‘नाइँ नभन्नु ल ४’ मा वर्षाले अञ्जना चरित्रको भूमिका निर्वाह गर्नुभएको थियो । त्यसपछि ‘छक्कापञ्जा, जात्रा, छक्कापञ्जा २, गोपी’ उहाँका चर्चित चलचित्र हुन् ।
वर्षा विशेष गरी चलचित्रमा निभाएको भूमिकाका कारण भन्दा पनि व्यक्तिगत जीवनका क्रियाकलापबाट पनि चर्चामा आइरहनुहुन्छ । नायक तथा व्यवसायी सन्जोग कोइरालासँग बिहे गर्नुपूर्व वर्षाको प्रेम चर्चा निकै हुने गर्दथ्यो। अहिले बिहेपश्चात् पनि यो जोडी चर्चामै छ । यस्तै वर्षाले लगाउने पोशाकका कारण पनि कहिलेकाहीँ मिडिया तथा सामाजिक सञ्जालमा राम्रै चर्चा हुन्छ ।




















