काठमाडौं:= नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ । उहाँ मन्त्रिपरिषद्को २०७८ बिहीबारको निर्णयबमोजिम चार वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त हुनुभएको हो ।
पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक पौडेलले आफ्नो व्यावसायिक कार्ययोजनाको मूल्यांकनका आधारमा नेपाल टेलिकमको प्रबन्ध निर्देशकको गहन जिम्मेवारी बहन गर्ने अवसर दिएकोमा सरकारप्रति आभार प्रकट गर्नुभयो ।
उहाँले कार्यालय प्रयोजनका सबै काम कारबाहीलाई सूचना प्रविधिसँग जोडेर स्वचालितरूपमा तत्काल कार्यान्वयनमा लैजाने संरचनामा ढाली कम्पनीका सबै सेवा आमजनताको सहज र सुलभ पहुँचमा पुर्याउन सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।
कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौती सामना गर्दैै अघि बढ्न र कम्पनीलाई अझ मुलुककै विश्वसनीय धरोहरका रूपमा स्थापित गर्न आफू प्रयासरत रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सरकारको सूचना प्रविधिमार्फत् राष्ट्रलाई समृद्ध बनाउने र मुलुकभरका आमजनतालाई अत्याधुनिक दूरसञ्चार सेवाको सहज पहँुचमा पु¥याउने अन्तर्निहित उद्देश्यसँगै राष्ट्र र जनताप्रतिको अहं दायित्वबोधका साथ कम्पनीलाई नम्बर १ संस्थाका रूपमा कायम राख्न लागिपर्ने उहाँले प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
सो अवसरमा कम्पनीका नायब प्रबन्ध निर्देशक, निर्देशक, प्रबन्धक, अन्य वरिष्ठ अधिकृत, कम्पनीमा क्रियाशील कर्मचारी युनियनका पदाधिकारी एवं कम्पनीका कर्मचारीको उपस्थिति रहेको कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभएको छ ।
प्रबन्ध निर्देशक पौडेलले सन् २००८ मा दक्षिण कोरियाको कोरिया एड्भान्स इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी (काइस्ट) बाट सूचना प्रविधिमा स्नातकोत्तरको उपाधि हासिल गर्नुभएको थियो ।




















