नेपाल दूरसञ्चार कम्पनी टेलिकमद्वारा २७ अर्बभन्दा बढी राजस्व भुक्तानी।

काठमाडौं:= नेपाल दूरसञ्चार कम्पनीको १४ औैँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७÷०७८ को मुनाफामध्येबाट कम्पनीका सेयरधनीलाई प्रत्येक सय कित्ता सेयर बराबर २० कित्ताको अनुपातमा बोनस सेयर र प्रतिसेयर २० रुपैयाँका दरले नगद लाभांश वितरण गरी कम्पनीको जारी तथा चुक्ता पुँजी १८ अर्ब पुर्‍याउने प्रस्ताव पारित गरेको छ ।

बिहीबार राजधानीमा आयोजित साधारणसभामा सञ्चालक समिति अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले आर्थिक वर्ष २०७७÷०७८ मा कम्पनीले कर तथा गैरकरबापत कुल आयको ५० प्रतिशतभन्दा अधिक अर्थात् २७ अर्ब ७३ करोड राजस्व दाखिला गरेको जानकारी दिनुभयो ।

भ्वाइस सेवाको ग्राहक आधार ५.५७ प्रतिशतले वृद्धि भई दुई करोड ११ लाख पुगेको, कम्पनीको राजस्वको प्रमुख स्रोतका रूपमा रहेको जिएसएम सेवाको ग्राहक आधार १४.२४ प्रतिशतले वृद्धि भएको उहाँले बताउनुभयो ।

कम्पनीको डाटा सेवाको ग्राहक आधार ३५.३१ प्रतिशतले वृद्धि भई दुई करोड तीन लाख ९७ हजार पुगेको छ । कम्पनीको ब्रोडब्यान्ड डाटा सेवाको बजार हिस्सा ५.१४ प्रतिशतले वृद्धि भई ५३.८२ प्रतिशत पुगेको पनि अर्यालले बताउनुभयो ।

प्रविधि विकास र परिवर्तनसँगै विश्वमै भ्वाइस सेवाको व्यापार क्रमशः डाटा तथा अन्य भ्यालु एडेड सेवामा रूपान्तरण हुनेक्रममा रहेको, बढ्दो प्रतिस्पर्धाका कारण व्यापार प्रवद्र्धनका लागि प्रतिस्पर्धी मूल्यमा सेवा उपलब्ध गराउनुपर्ने बाध्यता रहेको अवस्थामा समेत कुल राजस्व र खुद नाफा क्रमशः ४२ अर्ब २१ करोड र सात अर्ब १३ करोड कायम गर्न कम्पनी सफल भएको उहाँले जानकारी गराउनुभयो ।

कम्पनीले ७७ जिल्लाका सात सय २० भन्दा बढी स्थानीय तहमा फोरजी, एलटिई सेवा उपलब्ध गराइसकेको छ भने सोलुखुम्बुको विकट ताक्सिन्दु एवं जुभु र ओखलढुंगाको विकट सेर्नाजस्ता अत्यन्त दुर्गम स्थानमा मोबाइल सेवा विस्तार गरेको कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी गराउनुभएको छ ।