मुलुकको अर्थतन्त्रको अवस्था भयावह , कमजोर बनेको छैन: नेपाल राष्ट्र बैंक।

काठमाडौं:= नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रको अवस्था भयावह नभएको दाबी गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्रको अवस्था भयावह नभएको दाबी गर्नुभएको हो । उहाँले अर्थतन्त्रको आधार त्यति कमजोर नरहेको र अर्थतन्त्रका ब्राइट पक्ष नै रहेको भन्दै हाल देखिएको दबाब सम्बोधन गर्न सकिने जिकिरसमेत गर्नुभयो ।

बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले यस्तो जिकिर गर्नुभएको हो । भट्टले हाल नेपालको अर्थतन्त्रको डार्क साइटमात्रै नभएको दाबी गर्नुभयो । आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किएका छन् । वस्तु, सेवा र कर्जाको माग बढेको, अर्थतन्त्र नर्मल अवस्थामा आएकाले आयात बढेको, पर्यटन क्षेत्र सलबलाउन थालेको, प्रत्यक्ष विदेशी लगानी राम्रो आएको उहाँको भनाइ छ ।

भट्टका अनुसार यस वर्षको आठ महिनामा साढे १६ अर्ब प्रत्यक्ष लगानी आएको छ । गत वर्ष १९ अर्बमात्र आएको थियो । यो राम्रो कुरा हो । अर्को भनेको रेमिट्यान्स एउटा महत्वपूर्ण स्रोत हो । उहाँले भन्नुभयो, ‘श्रीलंकाजस्तो संकटको अवस्था नेपालमा छैन, श्रीलंकाको आन्तरिक र बाहृय ऋण जिडिपीको एक सय १७ प्रतिशत छ, हामीसँग तुलना हुँदैन ।

वैदेशिक रोजगारीको अवस्था हेर्दा रेमिट्यान्सको आधार पक्कै हो । त्यसले के संकेत गरेको छ भने भोलि नेपालको रेमिट्यान्स राम्रै हुन्छ । अर्थतन्त्रका पक्ष सकारात्मक छन् । समन्वयात्मक ढंगले काम गर्ने हो भने अर्थतन्त्रमा देखिएको चुनौती क्रमिकरूपमा समाधान गर्न सक्छौँ ।’  भट्टले कतिपय वैदेशिक ऋण सहयोगलगायत विदेशी विनिमय सञ्चितीका स्रोतलाई पहिल्याउन सकियो भने नेपालको अर्थतन्त्र सही बाटोमा जान सक्ने जिकिरसमेत गर्नुभयो ।

भट्टका अनुसार बैंकिङ क्षेत्रमा तरलताको अवस्था रहेको छ । नेपाल राष्ट्र बैंकले करिब ५४ खर्ब स्थायी तरलता सुविधा पटक-पटक दिएकै हो । अहिले पनि हेर्ने हो दुई खर्बभन्दा बढी बजारमा लगानी रहेको देखिन्छ । तीन खर्ब जति प्रत्येक दिन तरलताका लागि दिएको छ तर तरलतामा दबाब छ, नभएको होइन, विस्तारै अब सुधार आउन सक्छ ।

बैंकको व्याजदरमा केही दबाब छ भन्ने छ । तरलतामा दबाब बढ्नेबित्तिकै आपूर्ति र मागको पक्षमा ग्याप देखियो । त्यसकारणले पनि व्याजदर माथि गएको हो । व्याजदरमा स्थायित्व कायम हुन्नुपर्छ । जसका लागि राष्ट्र बैंकले केही कदम पनि चालेको छ ।

तथापि प्रवक्ता भट्टले सोसल सेक्युरिटीको दायरा बढाउँदै जाने हो भने समस्या आउन सक्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘पूर्वाधारको विकासमा खर्च गर्नुपर्छ । राष्ट्र बैंकले दिन खोजेको सन्देश भनेको अर्थतन्त्रमा विशेष गरी बाहृय क्षेत्र व्यवस्थापनमा केही दबाब छ, यसका लागि हामीले नैतिक दबाबले पनि काम गर्नुपर्छ । अब कोभिडको बेलामा लिएको मेजर्सलाई रिभ्यु गर्छौँ ।’

भट्टका अनुसार कोरोनापछि विश्व अर्थतन्त्र रिकभरीको बाटोमा गएको थियो । रसिया-युक्रेनको युद्धका कारण नेपालमात्रै नभएर इस्ट एसियाका मुलुकमा प्रभाव देखिएको छ । एउटा म्यानिफ्याक्चरिङ सेक्टरमा कच्चा पदार्थ आपूर्ति प्रभावित भएको छ । कच्चा पदार्थको परिमाणमा त्यस्तो धेरै ठूलो असर नभए पनि त्यसका केही संवेदनशील वस्तु छन्, कार उत्पादनमा प्रभाव परेको छ । सप्लाई चेनमा समस्या परेको छ । अन्तर्राष्ट्रियस्तरमा यो सेक्टर प्रभावित भएको छ । त्यसको असर नेपालमा पनि परेको छ ।’

उहाँका अनुसार नेपालको मुद्रास्फीतिमा पनि समस्या परेको छ, सार्वजनिक मुद्रास्फीतिमा दबाब परेको छ, चाप परेको छ । अमेरिकामा मुद्रास्फीति दुई प्रतिशत भइरहेको हुन्थ्यो, अहिले अमेरिकामा मार्चको इन्फ्लेसन आठदेखि १० प्रतिशत पुग्छ कि भन्ने आँकलन भइरहेको छ । विकसित मुलुक पनि अहिले मूल्यवृद्धिको चापमा परेका छन् । विदेशी मुद्रास्फीतिको चापमा परेका छन् ।

किनभने म्यानिफ्याक्चरिङको आपूर्ति प्रभावित भएको छ, पेट्रोलियम पदार्थको मूल्यवृद्धि पनि भएको छ । विदेशी विनिमय सञ्चिती पनि प्रभावित भएको छ । श्रीलंका र पाकिस्तानजस्ता मुलुकहरू विदेशी विनिमय सञ्चितीको दबाबमा छन् । हामी पनि दबाबमा छौँ । प्रवक्ता भट्टले अर्थतन्त्र सञ्चालनमा चुनौती थपिएको बताउनुभयो ।

मूल्यवृद्धि भएको, उद्योगमा कञ्चा पदार्थको आपूर्ति हुन नसकेको, विदेशी विनिमय सञ्चिती गत वर्षभन्दा उल्लेखनीय घटेको बताउनुभयो । गत वर्ष १२ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने सञ्चिती रहेकोमा हाल साढे छ महिनामात्रै धान्न सक्ने अवस्थामा रहेको उहाँको भनाइ छ । भट्टका अनुसार शोधनान्तर स्थिति र ब्यालेन्स अफ पेमेन्ट हेर्दा नेपालबाट बाहिर रकम बढी गएको छ ।

जुन विदेशी विनिमय सञ्चितीमा दबाब हो । शोधान्तर स्थिति, नेपालबाट कति रकम बाहिर गयो र नेपालमा कति रकम बाहिरबाट आयो भन्ने कुरा हेर्दा शोधान्तर स्थिति दुई सय ४७ अर्बले घाटामा रहेको छ । जसका कारण आगामी दिनमा खाद्यान्न, औषधि आयात प्रभावित हुने चिन्ता बढेको छ ।

उहाँले भन्नुभयो, ‘विदेशी विनिमय सञ्चितीलाई प्राथमिकतामा राख्नुपर्छ । पेट्रोलियम पदार्थको किफायती गर्न सकिन्छ, सुन÷चाँदीको आयात रोकौँ । विदेशी सञ्चितीमा ठूलो दबाब पर्दा भोलि औषधि किन्न पनि समस्या हुन सक्छ ।’ भट्टले गत वर्षमात्रै नेपालले ५० अर्बको चामल आयात गरेको तथ्यांक प्रस्तुत गर्दै यस वर्षको आठ महिनामै ३७ अर्बको चामल आयात गरेको जानकारी दिनुभयो ।

त्यस्तै महिनामा करिब २७ अर्बको तरकारी आयात भएको छ भने करिब १६ अर्बको फलफूल आयात भएको छ । खाद्यान्न, तरकारीलगायतमा आगामी दिनमा आत्मनिर्भर हुन सक्ने अवस्था रहे पनि औषधिलगायतका अत्यावश्यक वस्तु आयात गर्नका लागि विदेशी विनिमय सञ्चिती जतन गर्नुपर्ने उहाँको भनाइ छ ।