नेपालगञ्ज:= नेकपा एमालेका अध्यक्ष ओलीले आगामी चुनावमा पाँच दलीय गठबन्धनलाई हराउन सकिएन भने देशी विदेशी प्रतिक्रियावादीको षड्यन्त्र सफल हुने बताउनुभएको छ।
नेकपा एमाले, बाँकेले नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरू, दलाल पुँजीवादी यिनै पाँच दलीय गठबन्धन भएको भन्दै चुनावमा हराउन सकिएन भने देशी विदेशी प्रतिक्रियावादी शक्तिहरू सक्रिय हुने बताउनुभयो ।
अध्यक्ष ओलीले एमाले सरकारबाट हटेको नौ महिनामा देशको अर्थतन्त्र ध्वस्त भएको जिकिर गर्नुभयो । अध्यक्ष ओलीले वर्तमान सरकारले अस्पताल र विद्यालयका आयोजनाहरूसमेत बन्द गर्न थालेकाले वृद्ध भत्तासमेत बाँड्न रोक्ने आशंका गर्नुभयो ।
नेकपा समाजवादी एकीकृतका धेरै नेताहरूलाई एमालेमा प्रवेश गराउँदै एमाले अध्यक्ष ओलीले ‘एस’ भन्ने पार्टी बाँकेमा ‘फुस’ भएको बताउनुभयो । समृद्ध नेपालका लागि एमालेको विकल्प नरहेको बताउँदै ओलीले गठबन्धन सरकारबाट देशको विकास हुन नसक्ने बताउनुभयो ।
अध्यक्ष ओलीले नेकपा (समाजवादी) पार्टीका उपसचिव किशोर थापासहित करिब सात सय कार्यकर्तालाई पार्टीमा प्रवेश गराउनुभएको छ । ‘नेकपा (एस) भन्ने पार्टी बाँकेबाट साफ भएको छ ।
अब एसका कार्यकर्ता लाइट बालेर खोज्दा पनि पाइँदैनन्,’ उहाँले भन्नुभयो, ‘बाँकेमा मात्रै होइन, एमाले प्रवेशका लागि देशभर जनलहर चलेको छ ।’ नेपालगञ्जमा सम्बोधनपछि अध्यक्ष ओली बिहीबार नै बर्दिया जानुभएको थियो ।




















