‘राष्ट्रिय लोक दोहोरी महोत्सव-२०७८’को महोत्सव आयोजनाको तयारी पूरा।

काठमाडौं:= डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडले आउँदो शनिबारबाट काठमाडौंको टुँडिखेलमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव-२०७८’को आयोजना गर्दैछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले पत्रकार भेटघाट गरी जानकारी गराएको छ ।

पाँच दिनसम्म चल्ने महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले उद्घाटन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो।खुला प्रतियोगीतामध्येकै पहिलो ठूलो पुरस्कार राशीको महोत्सवमा ७० भन्दा बढी समूहको सहभागीता रहने महोत्सव मूल आयोजक समितिका अध्यक्ष नमराज ढुंगानाले जानकारी दिनुभयो ।

महोत्सवमा प्रथम हुने समूहलाई पाँच लाख रुपैयाँसहित अन्य पुरस्कार प्रदान गरिने ढुंगानाले जानकारी दिनुभयो । त्यस्तै, द्वितीय, तृतीय तथा सान्त्वना हुने समूहले क्रमशः ३ लाख, २ लाख र १ लाख रुपैयाँसहित अन्य पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको निर्णायकमा गायक-गायिकाहरू पुरुषोत्तम न्यौपाने, घमेश दुलाल, हरि थापा, सीता थापा, रीता थापा, कमलीकान्त भेटवाल र शिव हमाल रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

त्यस्तै, प्रतियोगितामा अमृत खाती, मिना मैया थापा, भीमसेन खतिवडा, सरोज लामिछाने, रविन लामिछाने, कल्पना दाहाल र रामकुमार नेपाली सम्मिलित निर्णायक मण्डलसमेत रहनेछ । निर्णायक मण्डलका अमृत खातीले प्रतिस्पर्धीहरूको मूल्यांकन हुने आधारहरूका बारेमा जानकारी गराउनु भएको थियो ।

महोत्सवमा उत्कृष्ट गायक-गायिका एवं नवप्रतिभा पुरस्कार समेत प्रदान गरिनेछ । महोत्सवमा ६४ समूहबाट विभिन्न जात जातिहरूको संस्कृति झल्कने झाँकी प्रदर्शनी गरिने, विभिन्न विधाका चर्चित कलाकारको दैनिक प्रस्तुति रहने, विभिन्न स्रष्टा सर्जकलाई सम्मान गरिने साथै निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ ।

टुबोर्गको प्रस्तुति रहेको महोत्सवमा मुख्य प्रायोजनमा बागेश्वरी खड्का हाउजिङ डेभलपर्स रहेको छ । आयोजक डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडका निर्देशक श्याम धितालले नेपाली लोक गीतसंगीतको जगेर्ना गर्ने उद्देश्यका महोत्सव आयोजना गरिएको बताउँदै दर्शकहरूलाई प्रवेश निःशुल्क गरिएको जानकारी दिनुभयो ।