काठमाडौं := गायक तथा मोडल दुर्गेश थापा पछिल्लो समयका सांगीतक क्षेत्रका चर्चित कलाकार हुनुहुन्छ । पछिल्लो समय भने अभिनेता पल शाहको प्रकरणका कारण दुर्गेश विवादमा मुछिनुभएको छ ।
त्यसै कारणले उहाँलाई अहिले विभिन्न स्टेज कार्यक्रममा पनि आयोजकले निमन्त्रण दिन सकेका छैनन् । दुर्गेश आफूले पनि सामाजिक सञ्जालमा पहिले जसरी विभिन्न पोष्ट पनि गरेको देखिँदैन । अन्य गीतसंगीतका क्रियाकलाप पनि गरेको पाइँदैन। स्रोतका अनुसार दुर्गेश एक वर्ष मौन बस्न चाहिरहनुभएको छ।
यसैबीच अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ४’ मा समावेश दुर्गेशको दृश्य चलचित्रबाट काटिएको छ । चलचित्रको निर्माण टिमले दुर्गेश विवादमा परिरहेको अवस्थामा दर्शक घट्ने डरले उहाँको दृश्य हटाएको हो ।
आउँदो वैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘ए मेरो हजुर ४’को टिम प्रचारप्रसारमा लागिरहेको छ । यहिबेला दुर्गेशको दृश्य हटाएको हो । अभिनेत्री सुहाना थापाको पात्रले गायकको रूपमा रहेनुभए दुर्गेशलाई भेटेको डेढ मिनेट लामो दृश्य चलचित्रमा समावेश थियो । निर्माता सुनिलकुमार थापा अनुसार साढे दुई वर्षअघि उक्त दृश्य छायांकन गरिएको थियो ।
दुर्गेश चलचित्रको एक गीतमा ¥यापरको भूमिकामा हुनुहुन्थ्यो । उक्त गीत केही दिनमा सार्वजनिक गर्ने तयारीमा निर्माण टिम थियो । तर, दुर्गेशलाई प्रस्तुत गरिएको गीत सार्वजनिक गर्दा चलचित्रलाई असर पर्ने बुझेपछि निर्माण टिमले उहाँ देखिएको गीत नै हटाएको हो । दुर्गेश फिचर भएको गीतको ठाउँमा निर्माण पक्षले जी–बब नामले चिनिने ‘मिलेन लेभल तेरो’ गीतका गायक सुदीप भण्डारीको स्वर, शब्द तथा संगीतमा तयार भएको गीतलाई राखेको छ ।
त्यस्तै, गीतको भिडियोमा गायक भण्डारी आफैं फिचर हुनुहुन्छ । बुधबार उक्त गीतको काठमाडौंको एक रेस्टुरेण्टमा छायांकन भएको थियो । गीतलाई शुक्रबार सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ । लकडाउनमा समयमा निर्देशक झरना थापा र निर्माता सुनिलकुमार थापाले चिलचित्रको एक गीतमा अभिनय गराउन दुर्गेशसँग कागजी सम्झौता गर्नुभएको थियो ।




















