नयाँ नेपाली चलचित्र ‘महापुरुष’ मा महजोडीको मुख्य भूमिका।

काठमाडौं:= वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी)को मुख्य भूमिका रहनेगरी नयाँ चलचित्र ‘महापुरुष’ निर्माण हुनेभएको छ । प्रदीप भट्टराईले निर्देशन गर्ने चलचित्रलाई रविन्द्रसिंह बानियाँ र दीपेश खत्रीको षट्कोण आर्ट्सले निर्माण गर्ने भएको हो ।

चलचित्र विकास बोर्डमा ‘महापुरुष’ शीर्षकमा दर्ता हुँदै चलचित्रले निर्माण इजाजत लिएको छ । बोर्ड स्रोतका अनुसार चलचित्रमा रविन्द्रसिंह बानियाँ, कविता सुवेदी र प्रशान्त श्रेष्ठको समेत अभिनय हुनेछ । चलचित्रको छायांकन वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनपछि थालिने निर्देशक भट्टराईले जानकारी दिनुभएको छ । ‘चुनावको माहोल कस्तो हुन्छ, सोही अनुसार छायांकनमा जाने तयारीमा छौं,’ उहाँले भन्नुभएको छ ।

निर्देशक भट्टराईले चलचित्रको शीर्षक परिवर्तन हुनसक्ने पनि बताउनुभयो । ‘महापुरुषबाहेक अन्य दुई टाइटलबारे पनि छलफल भएको छ,’ उहाँले भन्नुभयो, ‘केही दिनमै फिल्मबारे औपचारिक घोषणा हुनेछ ।’ जात्रामार्फत निर्देशनमा डेब्यु गनुभएका भटट्राईले यो चलचित्रको निर्माणमा समेत बानियाँसँग सहकार्य गर्नुभएको छ । निर्माताद्वय बानियाँ र खत्री चलचित्र ‘डाकिनी’लाई पनि हलमा रिलिज गर्ने तयारीमा हुनुहुन्छ ।