ओपन फुटसलको उपाधि प्रभातफेरी युथ क्लबलाई।

काठमाडौं:= प्रथम ओएसआर डिजिटल ओपन फुटसलको उपाधि प्रभातफेरी युथ क्लब (पिवाईसी)ले जितेको छ । घोडेजात्राको छेकोमा आयोजना भएको फुटसल प्रतियोगितामा शनिबार साँझ ध्रुवतारा फुटबल क्लबलाई पराजित गर्दै प्रभातफेरीले उपाधि आफ्नो पक्षमा पारेको हो ।

फाइनलमा ६-२ को फराकिलो अन्तरमा ध्रुवतारालाई पछि पार्दा पिवाईसीले नगद ५५ हजार ५ सय ५५ सँगै ट्रफी र मेडल हात पा¥यो भने रनरअप बनेको ध्रुवताराले ३३ हजार ३ सय ३३ रुपैयाँ, रनरअप ट्रफी र मेडल जित्न सफल भयो । प्रतियोगिताको विजेता र उपविजेतालाई नेपाली फिल्मका स्टाइलिस्ट एक्टर अनुपविक्रम शाहीले ट्रफी प्रदान गर्नुभएको थियो । साथमा इनास बेल्जियम अध्यक्ष तथा कलाकार श्याम श्रेष्ठ, अभिनेत्री कोरियोग्राफर पवित्रा आचार्य, निर्देशक वसन्त निरौलाले अन्य पुरस्कारहरू प्रदान गर्नुभयो ।

नकआउट फम्र्याटमा सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट गोलकिपर विजेता टिम प्रभातफेरीका आशिष महत हुनुभयो भने उत्कृष्ट खेलाडी ध्रुवताराका सुभराज महत चुनिनुभयो । दुवैले पाँच हजार ५ सय ५५ रुपैयाँसँगै ट्रफी हात पार्नुभयो । फेयरप्ले टिमको पुरस्कार जित्दै ग्याजेट सोलुसनले ९ हजार ९ सय ९९ रुपैयाँ हात पार्न सफल रहृयो ।

हिमालयन फुटबल क्लबको आयोजनामा भाटभटेनी हेल्थ क्लब चुच्चेपाटीमा दुई दिनसम्म चलेको प्रतियोगितामा विभिन्न ३२ टिमको सहभागिता थियो । हिमालयन एफसीका अध्यक्ष विनोद कार्कीले पहिलोपटक आयोजित प्रतियोगिता भव्य रूपमा सम्पन्न पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा अझै ठुलो धनराशीको प्रतियोगिता गर्ने बताउनुभयो ।