काठमाडौं:= नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा दुई दशकदेखि निरन्तर लागिरहनुभएका गायक कृष्ण रेउले र नेपाली गीतसंगीतको क्षेत्रमा दर्जनौं चर्चित गीत दिइसक्नुभएकी गायिका बिन्दु परियारको स्वरमा नयाँगीत ‘झलिको’ सार्वजनिक गरिएको छ । गीतमा कृष्ण आफैंले शब्द तथा संगीत भर्नुभएको छ ।
शनिबार काठमाडौंको अनामनजरस्थित एक रेन्टुरेन्टमा आयोजित भिडियो रिलिज कार्यक्रममा भिडियो छायांकनको समयको रमाइलोदेखि दुःखका पाटाको चर्चा गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि लोक तथा दोहोरी गीतको भिडियोको क्षेत्रका व्यस्त निर्देशक प्रकाश भट्टले भिडियो हेरिसकेपछि तारिफ गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘गीत राम्रो बन्न पहिलो कुरा अडियो राम्रो हुनुपर्छ । यो गीतको अडियो साच्चैनै मिठो छ । त्यसमाथि भिडियो मेकिंग पनि निकै ध्यानदिएर गरिएको छ । टिमलाई शुभकामना दिन चाहान्छु ।’
कार्यक्रममा गीतका गायक कृष्णले यसअघि थुप्रै गीत गाए पनि पत्रकार सम्मेलन गरेर आफूले पहिलो पटक गीत सार्वजनिक गरेको भन्दै सन्चारकर्मिकै प्रतिक्रिया कस्तो आउला भन्नेमा ढुकढुकीपन बढेको बताउनुभयो । उहाँले भिडियोको पाटोमा निकै राम्रो काम भएको भन्दै आफूले पनि अडियोमा राम्रो गर्ने प्रयास गरेको बताउनुभयो ।
कार्यक्रममा भिडियोका कलाकार विजय पुनले भिडियो निर्माणको क्रममा तीन दिन लगाएर छायांकन गरिएको जानकारी दिनुभयो । निर्देशक सागर बाबु भट्टले पनि भिडियोलाई अडियो अनुसार न्याय दिने कोशिस गरिएको बताउनुभयो ।
भिडियोमा विजयको साथमा पछिल्लो समयको हिट गीत ‘सारंकोटको डाँडैमा आउ बस आडैमा’ बोलको गीतकी महिला मोडल पेरिशा कँडेलले अभिनय गर्नुभएको छ । साथमा प्रकाश घिमिरेको अभिनय छ । पवन सुस्लििङको छायांकन रहेको भिडियोमा प्रवीन भट्टको सम्पादन छ ।




















