रूसको इन्धन भण्डारमा आगलागी, युक्रेनले हवाई आक्रमण गरेको रूसको दाबी।

मस्को:= रूसको इन्धन भण्डारमा आगलागी भएको छ । युक्रेनको सीमा नजिक रहेको रूसी शहर बेलगोरोडमा अवस्थित एक इन्धन भण्डारमा आगलागी भएको हो । बेलगोरोड सहरका गभर्नर भायाचस्ला ग्ल्याडकोभका अनुसार उक्त आगलागी युक्रेनले गरेको हवाई आक्रमणको कारण भएको हो ।

‘कम उचाइमा उडिरहेका युक्रेनी सशस्त्र बलका दुई हेलिकप्टरबाट हवाई हमलाको परिणामस्वरूप तेल डिपोमा आगलागी गराएको र यसबाट मानवीय क्षति भने भएको छैन’, ग्ल्याडकोभले भन्नुभएको छ । बेलगोरोड रूस र युक्रेनको उत्तर पूर्वी सिमानामा अवस्थित शहर हो भने यही सहरलाई मार्गको रूपमा प्रयोग गर्दै रूसले युक्रेनको प्रमुख शहर खार्किवमाथि हमला सुरु गरेको थियो ।

यसैबीच रूसको युद्धबाट बच्न ४० लाखभन्दा बढी युक्रेनीहरूले युक्रेन छाडेका छन् । युएनएचसिआर (संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सी)का अनुसार ४० लाख भन्दा बढी यसक्रेनी गत फेब्रुवरी २४ को आक्रमणपश्चात् देशको सिमाना पार गरेका छन् । फेब्रवरी २४ देखि युक्रेनलाई घेराबन्दी गरेर आक्रमण थालेको रूसले युक्रेनका महत्वपूर्ण शहरमा आक्रमण गरेको छ ।

राजधानी किभसहित उसका रणनीतिक शहरमा रूसले घेराबन्दी गरेको छ । यस अवधिमा युक्रेनका सयौं सर्वसाधारणले ज्यान गुमाएका छन् । राजधानी किभसहित, मारियोपोल, खार्किभलगायत महत्वपूर्ण शहरमा रूसले शक्तिशाली बम खसालेको छ भने धेरै संरचना ध्वस्त पारेको छ।