किभ:= रूस र युक्रेनबीचको शान्तिवार्ता आज (शुक्रबार) देखि पुनः सुचारु हुनेभएको छ । रूसी वार्ताकार डेविड अराखामियाका अनुसार अप्रिल १ (शुक्रबार) देखि अनलाइन माध्यमबाट वार्ता सुचारु हुने भएको हो ।
युक्रेनले दुई देशका नेता (युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन) बीच सिधा वार्ताको प्रस्ताव गरिएको भए पनि रूसले अस्वीकार गरेको अराखामियालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
सम्झौताको ‘ड्राफ्ट’ बनाउनका लागि थप काम गर्नुपर्ने भन्दै रूसी वार्ताकारले जेलेन्स्की–पुटिन वार्ताका लागि सहमति नजनाएको अराखामियाले बताउनुभएको छ । गत मंगलबार टर्कीको स्तानबुलमा भौतिक उपस्थितिमा भएको वार्ताले दुई नेताबीचको वार्ताको सम्भावनालाई बलियो बनाउनेतर्फ प्रगति गरेको भने अराखामियाले जनाउनुभएको छ ।
गत फेब्रुवरी २४ देखि रूसले युक्रेनमाथि आक्रमण गर्दै आएको छ । रूसी आक्रमणका कारण एक करोडभन्दा बढी युक्रेनी आन्तरिक वा बाह्य रूपमा विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार युक्रेन छोडनेको संख्या ४० लाखभन्दा बढी छ ।
रूसी हमलापछि युक्रेनको आधाभन्दा बढी भूभाग विष्फोटक पदार्थहरूले प्रदूषित बनेको युक्रेनी सरकारका एक मन्त्रीले दाबी गरेका छन् । उप-आन्तरिक मन्त्री येभगेन येनिनले युक्रेनी क्षेत्रको करिब तीन लाख वर्ग मिटर भूभाग रूसी हमलामा प्रयोग भएका विष्फोटक उपकरणहरूका कारण प्रदूषित भएको दाबी गर्नुभएको छ । प्रदूषणबारे मन्त्री येनिनले दाबी गरेको तथ्यांकको स्वतन्त्र ढंगले पुष्टि हुन भने बाँकी छ ।




















