आजबाट नयाँ नेपाली चलचित्र ‘हेल्लो जिन्दगी’ हलमा प्रदर्शन।

काठमाडौं:= आजबाट नयाँ नेपाली चलचित्र ‘हेल्लो जिन्दगी’ हलमा प्रदर्शनमा आएको छ । एभरेष्ट सूर्य बोहोरा निर्देशित यो चलचित्र दुई वर्षअघि नै निर्माण भएको चलचित्र हो । चलचित्रमा विक्रम डि जोशी, दीपिका प्रसाईं, प्रियंका कार्की, विल्सनविक्रम राई, विक्रान्त बस्नेतको मुख्य अभिनय रहेको छ।

केही दिनअघि आयोजित प्रेसमिटमा निर्देशक बोहोराले अभिनेत्री प्रियंका कार्की र दीपिका प्रसाईंले चलचित्रको प्रमोशनमा साथ नदिएको बताउँदै आउनुभएको थियो । दुई अभिनेत्रीको उपस्थिति र साथविनै निर्माण टिमले प्रचार गरिरहेको थियो । चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।

चलचित्रको प्रचारलाई दुई अभिनेत्रीले बहिष्कार गरे पनि अन्य फिल्मकर्मीहरूले भने साथ दिएको देखिन्छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा ‘हेल्लो जिन्दगी’लाई साथ दिन कलाकारहरू सन्दीप क्षेत्री र रविन्द्र झा, निर्देशक द्वय शोभित बस्नेत र मिलन चाम्स, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालगायत उपस्थित हुनुभएको थियो ।

विभिन्न चलचित्रकर्मीबाट साथ मिलेपछि खुशी देखिएका निर्देशक बोहोराले अब आफूहरूको साथमा को छैन भन्ने कुराले दुःखी हुन छाडेको बताउनुभएको छ । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रमा विक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सविता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्तलगायत कलाकारको अभिनय रहेको छ ।