करण केसी अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच विकेट लिने पहिलो खेलाडी
काठमाडौं:= करण केसीले कीर्तिमानी बलिङ गरेको खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी) लाई ३७ रनले पराजित गर्दै त्रिवि क्रिकेट मैदानमा जारी क्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा स्थान सुरक्षित पारेको छ ।
अन्तिम ओभरमा करण केसीले हृयाट्रिक विकेट लिएपछि २०४ रनको विजयी लक्ष्य पछ्याएको पिएनजी २ बल बाँकी रहँदै सबै विकेट गुमाएर १६६ रनमा समेटियो । खेलमा करण केसी नेपालबाट टी-२० अन्तर्राष्ट्रियमा ५ विकेट लिने पहिलो खेलाडी बन्नुभयो ।
करणले २० औँ ओभरको दोस्रो बलमा चाद सोपारलाई २ रनमा रोहित पौडेलबाट, तेस्रो बलमा शिमोन आतीलाई बोल्ड गर्नुभयो भने चौथो बलमा नैसान पोकनालाई मिडअफमा दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच गराउँदै उक्त हृयाट्रिक पूरा गर्नुभएको थियो ।
यस्तै उहाँले ओपनरद्वय लोगा साइका र आसाद भालाको समेत विकेट लिनुभएको थियो । म्यान अफ दी म्याच हुनुभएका करण केसीले ३.४ ओभरमा २१ रन खर्चिएर पाँच विकेट लिनुभएको हो । ओपनर लेगा र भाला १-१ रनमै आउट भएपछि पिएनजी संकटमा परेको थियो । करणले पहिलो ओभरको चौथो बलमा लेगालाई आउट गर्दै टी-२० अन्तर्राष्ट्रियमा आफ्नो ५० रन पूरा गर्नुभएको थियो ।
यस्तै तेस्रो ओभरमा करणले नै असाद भालालाई सोमपाल कामीबाट १ रनमा क्याच गराएपछि पिएनजी १३-२ को अवस्थामा पुगेको थियो । तेस्रो विकेटका लागि अमिनी र टोनी उराले ८४ रनको साझेदारी गर्दै टोलीलाई अघि बढाउनुभयो ।
पपुवा न्युगिनीका लागि चाल्र्स अमिनीले ४७ बलमा ९ चौकासहित सर्वाधिक ६२ रनको योगदान दिनुभयो । यस्तै टोनी उराले २२ बलमा २ चौका र ४ छक्कासहित ४३ रन थप्नुभयो । सिसी बाउले २५, नोर्मन भाउनाले १७ रन जोड्नुभयो ।
करणलाई अविनाश बोहरा र सोमपाल कामीले २-२ तथा सन्दीप लामिछानेले एक विकेट लिएर साथ दिनुभएको थियो । त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ रन बनाएको थियो ।
दीपेन्द्रसिंह ऐरी र आदिल अलामले उत्कृष्ट ब्याटिङ गरेपछि नेपाल उक्त स्कोरमा पुगेको हो । दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ६६ रनको आक्रामक ब्याटिङ गर्नुभयो । उहाँले ३ चौका र ४ छक्का प्रहार गर्नुभएको थियो ।
दीपेन्द्रले १८औँ ओभरको सुरुवाती ३ बलमा लगातार तीन छक्का प्रहार गर्नुभएको थियो । यस्तै सोही ओभरको अन्तिम बलमा उहाँले चौका प्रहार गरेपछि सो ओभरमा नेपालले २४ रन जोडेको थियो । यस्तै १९औँ ओभरमा नेपालले ३२ रन जोड्यो । उक्त ओभरमा आदिलले तीन छक्का र एक चौका तथा दीपेन्द्रले एक छक्का प्रहार गर्नुभएको थियो ।
अन्तिम ओभरमा भने नेपालले ३ विकेट गुमाएको थियो । आदिललाई ३१ रनमा गुमाएको नेपालले दीलिप नाथलाई शून्य र करण केसीलाई १ रनमा गुमाएको थियो ।
यस्तै नेपालका लागि डेब्यु खेलाडी आदिल आलमले ११ बलमा एक चौका र ३ छक्काको मद्दतमा ३१ रन बनाउनुभयो । त्यसअघि रोहित पौडेलले २३ बलमा ४ चौका र २ छक्कासहित ४१ रन थप्नुभयो । ओपनर आसिफ सेखले २९ बलमा ३८ रन जोड्दा ४ चौका र एक छक्का हिर्काउनुभयो । अर्का ओपनर कुशल भुर्तेलले २० बलमा दुई चौकाको मद्दतमा १७ रन बनाउनुभयो ।
जितपछि शृंखलामा तीनवटै खेल जितेको नेपाल शीर्षस्थानमा कायमै छ । पिएनजी भने तीन खेलमै हार बेहोरेर पुछारमा छ । नेपालले अब शुक्रबार हुने पिएनजी र मलेसियाबीचको खेलपछि फाइनलमा खेल्ने अर्को टोली पाउनेछ ।




















