गायन रियालिटी शो ‘नेपाल्स सिंगिङ सुपरस्टार’ को अडिशन खुला।

काठमाडौं:= भ्वाइस स्टार नेपाल प्रालिले निर्माण गर्न लागेको गायन रियालिटी शो ‘नेपाल्स सिंगिङ सुपरस्टार’ को अडिशन खुला गरिएको छ । इमेज एच डी टेलिभिजनबाट प्रसारणमा आउने उक्त रियालिटी शो बिहीबारबाट खुला अडिशन आह्वान गरिएको कार्यक्रमका निर्माता सुरजलाल जोशीले बताउनुभयो ।

अन्य रियालिटी शो मा भाग लिइसकेका वा पाँच वर्षभन्दा बढी अवधिदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक गायिकालाई प्रतिस्पर्धीको रूपमा समावेश गरी निर्माण गर्न लागिएको नेपाल्स सिंगिङ सुपर स्टारको डिजिटल अडिशनमा समावेश हुनका लागि नेपाल्स सिंगिङ सुपरस्टारको आधिकारिक फेसबुक पेजमा गएर सो पेजको म्यासेज बक्समा वा नेपाल्स सिंगिग सुपरस्टारको इमेलमा आफूले गाएको बढीमा दुई मिनेट लामो भिडियो पठाउनुपर्ने आयोजकले बताएको छ ।

अडिशनमा छानिएका प्रतिस्पर्धीलाई भ्वाइस स्टार नेपाल प्रालिबाट सम्पर्क गरिने जानकारी निर्माता जोशीले दिनुभएको छ । जोशीका अनुसार कार्यक्रम आगामी २०७९ वैशाख १८ गतेदेखि हप्ताको दुई दिन आइतबार र सोमबार बेलुका ८ बजेदेखि ९ बजेसम्म नियमित रूपमा प्रसारण हुनेछ । प्रसारण पहिले डिजिटल अडिशनबाट प्रतिस्पर्धी छनोट हुनेछन् ।

यस शोमा प्रस्तोताको रूपमा टेलिभिजन प्रस्तोता विवेक सिंह ठकुरी र गायिका केन्जल मेहर श्रेष्ठ रहनुहुनेछ । यसैबीच आयोजक संस्था भ्वाइस स्टार नेपालले अडिशन आह्वानसँगै ‘रियालिटी शो’को निर्णायक टिम पनि सार्वजनिक गरेको छ । यो कार्यक्रममा निर्णायकको भूमिकामा ख्याति प्राप्त गायकहरू सञ्जय श्रेष्ठ, सत्यराज आचार्य, स्वरूपराज आचार्य र गायिका मिलन नेवार अनुबन्ध हुनुभएको छ ।

‘नेपाल्स सिंगिङ सुपरस्टार’ को निर्देशन लामो समयदेखि सञ्चार क्षेत्रमा कार्य गरेर विज्ञापनलगायत विभिन्न रियालिटी शो सफलताका साथ निर्देशन गरिसकेका रवि श्रेष्ठले गर्नुहुनेछ । यो रियालिटी सो को विजेताले २५ लाख पुरस्कार पाउने यसअघि नै आयोजकले घोषणा गरिसकेको छ ।