काठमाडौं:= आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता हुने भएका छन् । निर्वाचन आयोगको आइतबार बसेको बैठकले अन्तिम मतदाता नामावली टुंगो लगाएको हो ।
आयोगका अनुसार ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने ८७ लाख ४१ हजार ५३० जना महिला मतदाता छन् । अन्यमा १८३ जना मतदाता छन् । सबैभन्दा बढी मतदाता मोरङमा सात लाख १५ हजार २२३ जना छन् । सबैभन्दा कम मनाङमा ६ हजार ४९६ मतदाता रहेको आयोगले जनाएको छ ।
२०७४ सालको स्थानीय तहको चुनावमा एक करोड ४० लाख ७२ हजार ४२४ मतदाता थिए । तीमध्ये ७० लाख ७९ हजार १५३ पुरुष थिए भने ६९ लाख ९३ हजार १४४ जना महिला मतदाता थिए । जसअनुसार अघिल्लो स्थानीय तहको चुनावको तुलनामा यसपटकको चुनावमा ३६ लाख ६१ हजार २९९ नयाँ मतदाता थपिएका हुन् ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मंसिर १७ गतेदेखि एक महिना मतदाता नामावली संकलन अभियान चलाएको थियो । यसैगरी, आयोगले स्थानीय चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । जिल्ला न्यायाधीशहरूलाई ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत बनाइएको छ ।
पालिकामा भने निर्वाचन अधिकृत तोकिएको हो । आयोगले आइतबार गोरखापत्रमा सूचना निकालेर मुख्य निर्वाचन र निर्वाचन अधिकृत नियुक्ति गरिएको उल्लेख गरेको छ । ०७९ वैशाख ३० गते शुक्रबार स्थानीय तह निर्वाचन हुँदैछ ।
खटाइएका ठाउँ जानुअघि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई अभिमुखीकरण दिइनेछ । निर्वाचन आयोगले चैत २९ गतेदेखि लागू हुने गरी मुख्य निर्वाचन र निर्वाचन अधिकृत खटाउने निर्णय गरेको छ । उनीहरूलाई निर्वाचन व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरिने र उक्त कार्यक्रममै नियुक्ति पत्र दिइने आयोगले जनाएको छ ।
यसैगरी, आयोगले स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संघसस्थालाई निवेदन दिन आ≈वान गरेको छ । निर्वाचनका क्षेत्रमा अनुभव, विज्ञता, दक्षता र प्रतिष्ठा आर्जन गरेका राष्ट्रिय संघसंस्था र व्यक्तिबाट निर्वाचन पर्यवेक्षण गराउन निवेदनका लागि आयोगले आइतबारदेखि लागू हुने गरी १५ दिने सार्वजनिक सूचना जारी गरेको हो । ।
निर्वाचनको पर्यवेक्षण गर्न चाहने व्यक्ति वा संस्थाले निर्धारित प्रक्रिया पूरा गरी अनुमति लिनु पर्नेछ । निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा भएको छ भन्ने सुनिश्चित गर्न पर्यवेक्षण गराउने अन्तर्राष्ट्रिय अभ्यास छ ।
म्यादी प्रहरीका लागि झण्डै तीन लाखको आवेदन
स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न दुई लाख ९३ हजार २१६ जनाले आवेदन दिएका छन् । ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत दर्खास्त मागिएकाभन्दा दोब्बर बढीले आवेदन दिएका हुन् । प्रहरी प्रधान कार्यालय, नक्सालले एक लाख म्यादी प्रहरीका लागि ६ देखि ११ चैतसम्म दरखास्त दिन आ≈वान गरेको थियो । यो अवधिमा झण्डै तीन लाख जनाले आवेदन दिएको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले दिनुभयो ।
उहाँले सबैभन्दा बढी आवेदन मधेश प्रदेशमा परेको बताउनुभयो। म्यादी प्रहरी छनोटका लागि हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति बनाइएको छ । समितिमा जिल्ला प्रहरी कार्यालयका प्रमुख, नेपाली सेना र सशस्त्र प्रहरी बलको राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वा प्रहरी निरीक्षक सदस्य सचिव रहने प्रावधान छ ।
म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको हुनु नहुने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिक रूपले तन्दुरुस्त हुनुपर्ने लगायतका मापदण्ड राखिएका छन् । म्यादी प्रहरी भर्ना, छनोट र नियुक्तिका लागि प्रहरीबाट निर्धारित पाठ्यक्रमअनुसार स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता परीक्षा विधि अपनाउने मापदण्डमा उल्लेख छ ।




















