काठमाडौं:= प्रेमकथानक चलचित्र ‘सम्झना-बिर्सना’ को प्रदर्शन मिति पक्का गरिएको छ । निमेष प्रधानको निर्देशनमा बनेको चलचित्र ०७९ को जेठ ६ गते दर्शकमाझ आउनेछ ।
आदित्य प्रधान र रेविका प्रधान निर्माता रहेको चलचित्रमा पूजा शर्मा र आकाश श्रेष्ठको जोडीका साथमा सुनील थापा, शिशिर राणा र छुल्ठिम गुरुङ प्रमुख भूमिकामा हुनुहुन्छ । कोरोना महामारीका कारण प्रदर्शन हुन नपाएको चलचित्र अब भने दर्शक माझ आउने तयारीमा जुटेको हो ।
निर्माण युनिटले शुक्रबार चलचित्रको नयाँ पोस्टरका साथमा प्रदर्शन मिति घोषणा गरेको हो । नयाँ पोस्टरमा पूजा र आकाशलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । दार्जिलिङ, सिल्गुढी तथा सिक्कीमका रमणीय स्थानमा खिचिएको चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।
निर्देशक निमेषकै कथा, पटकथा रहेको चलचित्रको सम्वाद लेखनमा उहालाई अभिनेता शिशिर राणाले सघाउनुभएको छ । शिब ढकालले खिचेको चलचित्रका गीतमा राजन इशान र सुदर्शन तामाङको संगीत अनि कमल राईको कोरियोग्राफी छ । आदित्य फिल्म्स्को प्रस्तुति रहेको फिल्मको क्रिएटिभ हेड स्व.विशारद बस्नेत हुन् ।


















