ओलीको ठोकुवा : पाँच दल मात्र होइन, दर्ता भएका सबै दलको गठबन्धन भए पनि हामी जित्छौँ।

काठमाडौं:= नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै दल गठबन्धन गरेर आए पनि चुनावमा आफूहरू विजयी हुने दाबी गर्नुभएको छ । एमालेविरुद्ध सत्तारूढ गठबन्धनमा रहेका दलहरूमात्र नभई निर्वाचन आयोगमा दर्ता भएका सबै दल मिलेर आए पनि एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने उहाँले दाबी गर्नुभयो । पार्टीको भ्रातृ संगठन मुस्लिम इत्तेहाद संगठनको कार्यक्रममा उहाँले भन्नुभयो, ‘दर्ता भए जति सबै दल मिलेर आए पनि एमालेसँग सक्दैनन् ।’

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग एक्लै लड्न सकिँदैन भन्ने कुरा बुझे पनि सबै मिलेर एमालेसँग लड्न सकिँदैन भन्ने कुरा चाहिँ नबुझेको टिप्पणी गर्नुभयो । उहाँले प्रधानमन्त्री देउवाले दर्ता भएका सबै दलहरूलाई साथमै लिएर गए पनि एमालेलाई फरक नपर्ने बताउनुभयो । देउवा एमालेको पाखुरा देखेर छक्क परेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो ‘त्यसकारण योसँग डराएर अरूहरू एकजुट हुने र यसका विरुद्धमा लाग्ने काम गरिराखेका छन् । मलाई सन्तोष लागेको छ, एक्लै एमालेसँग आउँछु भन्ने आँट, भिड्छु भन्ने आँट कसैले गरेको छैन चुनावमा । अरू त त्यस्तै हो नेपाली कांग्रेस सभापतिहरूको सम्मेलन बोलाउँछ, त्यसमा सभापतिहरूले भने यसो गर्नुहुँदैन ।

शेरबहादुर देउवाजीले कांग्रेसका प्रमुख सभापति, राष्ट्रिय सभापतिले भन्नुभयो नचाहिने कुरा गर्ने हो ? एमालेसँग एक्लै लड्यो भने के हुन्छ थाहा छैन ? त्यसकारण तालमेल गर्नुपर्छ भनेर उहाँले भन्नुभयो ।’ अध्यक्ष ओलीले सत्तारूढ गठबन्धनको मोर्चा ‘झारपातहरूको मोर्चा’ भएको टिप्पणी गर्दै भन्नुभयो ‘शेरबहादुर देउवाजीले सही बुझे । आधा सही बुझे । एक्लै एमालेसँग लड्न सकिँदैन भन्ने बुझे ।

आधा के बाँकी रह्यो भने सबै मिलेर पनि एमालेसँग लड्न सकिँदैन भन्ने चाहिँ बुझेनन् । त्यति चाहिँ बाँकी रह्यो । एक्लै त सकिँदैन, सकिँदैन । सबै मिले पनि सकिँदैन । पाँच वटाले पुग्दैन भने दर्ता भएका जति सबै दल साथमै लिएर गए पनि हुन्छ । ती सबै दल मोर्चा कसेर एमालेका विरुद्धमा आए पनि हुन्छ । यिनीहरूको मोर्चा भनेको हलोमा लाग्ने लुँडीजस्तो हो । झारपातहरूको मोर्चा ।’

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘नीलो स्याल’को संज्ञा दिँदै अन्तिममा ‘हुँ-हुँ’ गरेको बताउनुभयो । मुस्लिम इत्तेहाद संगठनको कार्यक्रममा बोल्ने क्रममा उहाँले माओवादीलाई सुधार्ने कोसिस असफल भएको उल्टै एमाले बिग्रिएको संकेत गर्नुभयो ।

प्रचण्डलाई सपार्न आफ्नो पार्टीमा ल्याएको बताउँदै ओलीले थन्नुभयोे, ‘मलाई सपार्न सकिन्छ कि जस्तो आँट आयो क्या । मान्छेहरू जंगलको बाँदर समातेर तालिम दिन्छन् । तोतामैना समातेर ल्याएर गोपीकृष्ण कहो भन्न लगाउँछन् । कपालमा जेलसेल लगाएको मान्छेलाई किन सकिँदैन भनेर ल्याएँ । तर, अन्तिममा ठाडो घाँटी लगाएर हुँहुँ गर्‍यो । जहाँको त्यहीँ ।’

अन्य युवाहरू देशमा जनवाद ल्याउनका लागि लडेको ओलीले टिप्पणी गर्नुभयो । जनवादी शासन आउँछ भन्ने भ्रममा पारिएको ओलीले बताउनुभयो । उहाँले थप्नुभयो, ‘म त भ्रममा परेँ । बदल्न सकिन्छ भन्ने लाग्यो ।’

माओवादीसँगको एकीकरणपछि एमाले पार्टी समाप्त भएको छ : खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले माओवादीसँगको एकीकरणपछि नेकपा एमाले भन्ने पार्टी समाप्त भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजना भएको नेकपा समाजवादीनिकट समाजवादी प्रेस संगठन नेपालको कन्द्रीय कमिटी प्रथम विस्तारित बैठकमा पूर्व-प्रधानमन्त्री खनालले एमाले इतिहास भएको भन्दै अहिले एमालेको नाममा केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टी दक्षिणपन्थी अवसरवादको गुट भएको आरोप लगाउनुभयो ।

खनालले नयाँ गुटले अहिले पनि देशभर नेकपा एमाले हौँ भनेर भ्रम छर्ने काम गरेको पनि बताउनुभयो । ‘निर्वाचनको पूर्व-घडीतिरको सेरोफेरोमा हामीले एमाले र नेकपा माओवादी केन्द्रसँग एकीकरण गर्‍यो । एकीकरण गरेपछि त्यतिबेला त नेकपा एमाले त सिध्यो नि । त्यो त इतिहासको वस्तु भयो, त्यो इतिहासको वस्तु भइसकेपछिको अवधिमा उत्प्रेषणको अधिकारबाट सर्वोच्च अदालतबाट ब्युँताइएको पार्टीको नाम हो अहिले केपी ओलीको नेतृत्वमा रहेको पार्टी, यो गुट हो ।

यो नयाँ प्रकारले जन्म भएको गुटले देशभर यो नेकपा एमाले हो भनेर भ्रम छरिरहेको छ’ उहाँले भन्नुभयो । उहाँले एमालेमा रहेका नेता तथा कार्यकर्तालाई नेकपा एकीकृत समाजवादीमा आउन आग्रह गर्नुभयो । नेकपा एमालेले आगामी चुनावमा दुईतिहाइ सिट नभएर दुई-तीन सिट मात्र ल्याउने उहाँको दाबी थियो ।

उहाँले तीन वर्षसम्म चलेको नेकपालाई भत्काउने काम भएको बताउनुभयो । खनालले आफ्नो पार्टी नेपालको इतिहासमै छोटो समयमै राष्ट्रव्यापी बनेको पनि दाबी गर्नुभयो । उहाँले नेपालको इतिहासमै ६ महिनाभित्रको समयमा अहिलेसम्म कुनै पार्टीले आफूलाई राष्ट्रव्यापी बनाउन नसकेको पनि दाबी गर्नुभयो ।