काठमाडौं:= नेपाल र चीनबीच नौवटा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सिंहदरबास्थित प्रधानमन्त्रीको कार्यालयमा शनिबार परराष्ट्रमन्त्री डा. नारायण खड्का र चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्तापछि उहाँहरूबीच समझदारीपत्रमा हस्ताक्षर भएकोे परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आर्थिक तथा प्राविधिक सहयोग, प्रशारण लाइनको सम्भाव्यता अध्ययन, चिनियाँ स्वाथ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । यस्तै, खोप हस्तान्तरण र मर्मत सम्भार र एवं स्तरोन्नति गरिएको अरनिको राजमार्ग हस्तान्तरण एवं घाँस निर्यातलगायत समझदारीपत्रमा हस्ताक्षर भएको मन्त्रालयले जनाएको छ ।
जसमा नेपाल चीन अन्तरदेशीय रेल निर्माणको सम्भाव्यता अध्ययन, नेपाल चीन अन्तरदेशीय विद्युत् प्रशारण लाइन निर्माणको सम्भाव्यता अध्ययन, नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिनेसहितका सम्झौताहरू रहेका छन् । दुवै देशका परराष्ट्रमन्त्री बीचको भेटवार्तापछि द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो ।
परराष्ट्रमन्त्री खड्का नेतृत्वको २५ सदस्यीय प्रतिनिधिमण्डलमा परराष्ट्र, अर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवसहित परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी हुनुहुन्थ्यो
विदेशमन्त्री वाङ नेतृत्वको १७ सदस्यीय मण्डलमा नेपालका लागि चीनका राजदूत हउ यान्छी, चीनको विदेश मन्त्रालयका सहसचिव वु जिङवाओ, वाणिज्य मन्त्रालयका सहसचिव शेङ कुपिङ, विदेश मन्त्रालयको एसियाली मामिला विभागका महानिर्देशक लिउ जेनसङ, नायब शिष्टाचार महानिर्देशक सोङ जिया र विदेशमन्त्री याङका सचिव देङ झेई रहनुभएको थियो ।
पारस्परिक हित र साझा चासोका विषयमा छलफल
यसअघि शनिबार नै परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ परराष्ट्रमन्त्री वाङ यीबीच छलफल भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार अपरान्ह नेपाल–चीन सम्बन्धका समग्र पक्षमा दुई समकक्षीबीच छलफल भएको थियो । भेटवार्तामा पारस्परिक हित र साझा चासोका सबै पक्षमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उहाँहरूबीच राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दामा छलफल हुनका साथै कोरोना महामारीको कठिन परिस्थितिमा चीनले खोपसहित विविध स्वास्थ्य सामग्री उपलब्ध गराएकामा मन्त्री खड्काले आभार व्यक्त गर्नुभयो । एक चीन नीतिप्रति नेपालको अटल प्रतिबद्धता दोहोर्याउँदै परराष्ट्रमन्त्री खड्काले नेपाली उत्पादन चीनतर्फ निकासी हुने नाका सञ्चालन नहुँदा मुलुकको अर्थतन्त्रमा परेको नकारात्मक असरतर्फ चिनियाँ विदेशमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।
प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट
चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । शनिबार साँझ बालुवाटारमा उहाँहरूबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटमा परराष्ट्रमन्त्री नारायण खड्का पनि सहभागी हुनुहुन्थ्यो ।
प्रधानमन्त्री देउवा र चिनियाँ विदेशमन्त्री वाङबीच करिब एक घण्टा कुराकानी भएको थियो । भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध विस्तारलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सिंहदरबारमा परराष्ट्रमन्त्री नारायण खड्का र नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्तापछि विदेशमन्त्री वाङ प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुग्नुभएको थियो ।
यसक्रममा चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । चिनियाँ विदेशमन्त्री वाङले प्रधानमन्त्री देउवाको उपस्थितिमा परराष्ट्रमन्त्री नारायण खड्कालाई विमानस्थल निर्माण सम्पन्नको साँचो हस्तान्तरण गर्नुभएको थियो । शनिबार साँझ परराष्ट्र मन्त्री खड्काले आफ्ना चिनियाँ समकक्षीको सम्मानमा रात्रिभोजको आयोजना गर्नुभएको थियो ।
तीनदिने नेपाल भ्रमणका लागि शुक्रबार अपरान्ह नेपाल आइपुग्नुभएका विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसहित नेकपा एमालेका अध्यक्ष केपी ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेतासँग भेटघाट गर्ने कार्यतालिका छ । उहाँ आइतबार नै चीन फर्किनुहुनेछ ।




















