एनआरएनएको महाधिवेशन र सम्मेलन सुरु, पूर्वअध्यक्षहरूद्वारा एकतामा जोड।

काठमाडौं:= व्यापक विवादबीच गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औँ महाधिवेशन र विश्व सम्मेलन शनिबारदेखि काठमाडांैमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन एनआरएनएका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट र अध्यक्ष कुमार पन्तले संयुक्तरूपमा गर्नुभयो ।

सो अवसरमा एनआरएनएका संस्थापक अध्यक्ष महतोले नेपाललाई समृद्ध बनाउने अभियानमा एकताको विकल्प नभएको बताउनुभयो । गैरआवासीय नेपाली संघ ६० लाख नेपालीको भएको भन्दै इगो राखेर संस्था टिक्न नसक्ने भएकाले मन नपर्ने विषयमा आफू पनि सहेर बसेको उहाँले बताउनुभयो ।

एनआरएनएका पूर्वअध्यक्ष भवन भट्टले एनआरएनए १८ वर्षको सुन्दरी भएकाले आफ्नो बनाउन खिचातानी भएको बताउनुभयो । एनआरएनए उपेन्द्र महतोले सुरु सत्ययुग हुँदै अहिले कलियुगमा प्रवेश गरेकाले एनआरएनएमा लफडा भएको भन्दै एनआरएनएमा मोडालिटी परिवर्तनमा जोड दिनुभयो । एनआरएनएका अर्का पूर्वअध्यक्ष जीवा लामिछानेले एनआरएनएमा एकताको हार्मोनी हराएको बताउनुभयो  ।

गैरआवासीयहरूले नेपालको समृद्धिका लागि हातेमालो गर्नुपर्नेमा विवादका कारण एनआरएनएका धेरै राम्रा काम ओझेलमा परेको बताउनुभयो । तथापि समीक्षा गरेर एनआरएनएलाई अघि बढाउनुपर्ने उहाँको भनाइ छ । पूर्वअध्यक्ष रामप्रसाद थापाले एकताले आत्मबल दिने भन्दै सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

संस्थापक सचिव चिरञ्जीवी ढकालले एनआरएनए नेतामा टसल बढेकाले विवाद आएको भन्दै गल्ती आत्मसात गरेर जानुपर्ने बताउनुभयो । दुई वर्षमा नेपाल आउने वातावरण बनाउन भौतिकरूपमै चुनाव गर्ने वातावरण बनाउनुपर्ने उहाँको जोड रहेको छ ।

एनआरएनएका अध्यक्ष कुमार पन्तले आवश्यकताअनुसार विधान संशोधन हुने बताउनुभयो । अदालतले चुनाव गर्न दिए पनि सहमति, सहकार्य र एकताका लागि चुनावमा नगएको बताउनुभयो । अभियान सार्थक बनाउन जो नेता भए पनि फुटाउन नहुने र शेष घले पनि मूलधारमै आउने उहाँले बताउनुभयो ।

पूर्वअध्यक्षहरूको सातजनाको कमिटी बनाएर नयाँ नेतृत्व छान्ने र उपेन्द्र महतोको संयोजकत्वमा गठित समितिले कसैलाई अन्याय नहुने गरी उम्मेद्वारको टुंगो लगाउने पनि उहाँले दाबी गर्नुभयो । गैरआवासीय नेपाली ऐनको धारा २७ को कार्यसमितिसम्बन्धी व्यवस्था हाललाई स्थगित गरी सामूूहिक नेतृत्वमा जान लागिएको उहाँको भनाइ थियो । सम्मेलन आइतबारसम्म सञ्चालन हुनेछ ।

यसअघि पूर्वअध्यक्ष शेष घले समूहको एनआरएनए विश्व सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै सकिएको छ । गत मंगलबारदेखि काठमाडौंमा सुरु भएको सम्मेलनले विनोद कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयनसमेत गरेको छ । घले समूहले संस्थापन समूहको सम्मेलनलाई ‘राजनीतिक सम्मेलन’ को संज्ञा दिएको छ ।

काठमाडौं घोषणापत्र जारी गर्दै सकिएको घले समूहले गैरआवासीय नेपाली संघको विधान २००३ को संशोधित २०२१ मा भएको सबैभन्दा विवादित दफा महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी व्यवस्था (६५, २५, १०) लाई निलम्बन गरिने, अब २०२३ देखि महाधिवेशन प्रतिनिधि हुन संघको सदस्यता कम्तीमा एकपटक नवीकरण गरेको हुनुपर्ने तर महाधिवेशन प्रतिनिधि हुँदाका बखत निजको सदस्यता भ्यालिड कायम पञ्जीकृत भएको हुनुपर्ने व्यवस्था गरेको छ ।

योग्यता पुगेका सबै पञ्जीकृत सदस्यलाई महाधिवेशनमा प्रतिनिधि हुन खुला गर्ने प्रस्ताव गरिएको छ । त्यस्तै संघको नेतृत्व चयनका लागि उम्मेद्वार हुन संघको अन्तर्राष्ट्रिय परिषद् बैठकले पारित गरेको वर्तमान मनोनयन दर्ता शुल्कलाई आधा गर्ने, अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा महिला संख्या २०२३ मा २५ प्रतिशत र २०२९ सम्ममा ५० प्रतिशत गर्ने,  गैरआवासीय नेपाली संघको हाल भएका छवटा क्षेत्रलाई मध्यपूर्व र अफ्रिकालाई जोडेर एउटा बनाउने र अरू यथावत् राख्दै जम्मा पाँच क्षेत्र हुने घोषणापत्रमा उल्लेख छ ।

अबदेखि मध्यपूर्व तथा अफ्रिका क्षेत्र, एसिया क्षेत्र, युरोप क्षेत्र, ओसिनिया क्षेत्र र द अमेरिकाज क्षेत्रमात्र रहने बताइएको छ । आगामी ११औँ महाधिवेशनदेखि हरेक क्षेत्रबाट रोटेसन सिस्टमका आधारमा केन्द्रीय अध्यक्ष पदमा चयन हुन पाउने,  गैरआवासीय नेपाली संघको यसअघिका अनलाइन भोटिङ व्यवस्थालाई निलम्बन गर्नेलगायत रहेका छन् ।