कांग्रेस पार्टीमा गुट बनाउने प्रतिस्पर्धा, चुनाव नजिकिएसँगै बल्झिँदै घरझगडा।

[ अनिल क्षेत्री ] 

काठमाडौं:= गत मंसिरमा सम्पन्न १४औँ महाधिवेशनपछि नेपाली कांग्रेसमा गुट–उपगुटको अन्त्य हुने अपेक्षा गरिएको थियो । तर, महाधिवेशन भएको चार महिना नबित्दै गुट–उपगुट बनाउने प्रतिस्पर्धा नै चलेको छ । १४औँ महाधिवेशनपछि गुट बनाउने कामको सुरुवात भने महाधिवेशनमा सभापतिका निकटतम् प्रतिस्पर्धी डा. शेखर कोइरालाले गर्नुभयो ।

सभापतिमा उम्मेदवारी दिँदै गर्दा कोइरालाले पार्टीभित्र कुनै गुट नबनाउने र भागबण्डाको राजनीति नगर्ने उद्घोष गर्नुभएको थियो । तर, महाधिवेशन सम्पन्न भएको एक महिना नबित्दै डा. कोइरालाले आफूनिकट नेताहरूको भेला बोलाएर संस्थापन पक्षसँग बागबण्डाको लागि बार्गेनिङको सुरुवात गर्नुभयो ।

त्यसपछि एकपछि अर्को गर्दै विभिन्न बहाना बनाउँदै गुटगत बैठक गरेर डा.कोइराला समूह पार्टीका हरेक निर्णयको विरोध गर्दै आएको छ भने गुटको हैसियतमा पार्टीका हरेक तह र निकायमा भाग खोजिरहेको छ । पार्टीभित्र आफूलाई संस्थापनइतर समूहको नेताको रूपमा प्रस्तुत गर्दै आउनुभएका डा. कोइराला महाधिवेशनमा आफूले पाएको ४० प्रतिशत मतका आधारमा हरेक निर्णयमा सहभागिता र सोही अनुपातमा पार्टीमा भाग खोज्दै आउनुभएको हो ।

सभापतिका निकटतम प्रतिस्पर्धी शेखर मात्र होइन १३औँ महाधिवेशनपछि पार्टीभित्र संस्थापनइतर समूहको नेतृत्व गर्दै आउनुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि पछिल्ला दिनमा गुट बनाउने अभ्यास थाल्नुभएको छ । १४औँ महाधिवेशनमा इतर समूहको तर्फबाट सभापतिको सर्वसम्मत उम्मेदवार बन्न नसकेपछि पौडेल महाधिवेशनमा मौन बस्नुभएको थियो ।

मौनतासँगै त्यसबेला पौडेलको राजनीति सकिएको चर्चासमेत भएको थियो । तर, पार्टी सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिबाट संन्यास नलिन आग्रह गर्नुका साथै सत्तारूढ गठबन्धनमा रहेका पाँच दलका नेताहरू सम्मलित उच्चस्तरीय राजनीतिक समन्वय समितिको संयोजक बनाएर पौडेललाई राजनीतिमै सक्रिय रहने बाटो खोली दिनुभयो ।

राजनीतिक समन्वय समितिको संयोजक भएसँगै पौडेलको राजनीतिक सक्रियतासमेत बढ्दै गयो । एमसिसी अनुमोदनको समयमा त पौडेलले आफ्नो राजनीतिक सक्रियता ह्वात्तै बढाउनुभयो ।पार्टीभित्र सभापति देउवा र डा. शेखर कोइरालाबीच पछिल्ला दिनहरूमा मतभेद चुलिँदै जाँदा वरिष्ठ नेता पौडेल भने पार्टीभित्र आफ्नो पूर्व-गुटलाई पुनःस्थापित गर्ने प्रयासमा लाग्नुभएको छ ।

आफ्नो गुटलाई फर्काउने प्रयासस्वरूप नेता पौडेलले शुक्रबार बोहराटारस्थित आफ्नै निवासमा आफूनिकट नेताहरूको भेला बोलाउनुभयो । भेलामा पूर्व-महामन्त्री डा. शशांक कोइरालासहित पौडेल निकट केन्द्रीय सदस्य, जिल्ला सभापति लयागतका नेताहरू सहभागी थिए । दुई घण्टा चलेको भेलामा पौडेलले पार्टीभित्र सभापति देउवाइतर समूहको नेता आफू भएको जिकिर गर्दै सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

अधिकांश समय राजनीतिमा आफ्नो भूमिकाको महत्वबारे व्याख्या गर्नुभएका पौडेलले सबैले सहयोग गरे नेतृत्व लिएर नेता तथा कार्यकर्ताको संरक्षण गर्नेसमेत दाबी गर्नुभयो । पूर्वगुट पुनःस्थापित गर्ने प्रयासमा पूर्व–महामन्त्री डा.शशांक कोइरालाको साथ रहन देखिएपछि पौडेल उत्साही हुनुभएको कतिपयको विश्लेषण छ ।

पौडेल जस्तै, पार्टीभित्र पूर्व-महामन्त्री एवं १४औँ महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरे पनि पहिलो चरणबाट बाहिरिनुभएका प्रकाशमान सिंह पनि पछिल्ला दिनहरूमा गुट बनाउन आफूनिकटसँग सघन छलफलमा रहेको बताइएको छ । तर, १४औँ महाधिवेशनपछि सिंहले औपचारिक रूपमा भने गुट भेला गर्नुभएको छैन ।

दोस्रो चरणको मतदानमा देउवालाई सहयोग गरेको कारण रिक्त मन्त्रालयमा आफू निकट नेता पठाएर आफ्नो गुटमा रहने नेताले अवसरबाट वञ्चित हुन नपर्ने सन्देश सिंहले दिन खोजिरहनु भएको छ । यस पार्टीभित्र गुट निर्माणमा सहयोग पुग्ने सिंहको बुझाइ छ ।

विगतमा गुट बनाउनेले मात्र अवसर पाएको परम्पराका कारण स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा आफ्ना नजिकका नेता तथा कार्यकर्तालाई अवसर प्रदान गर्न पनि कांग्रेसभित्र गुट निर्माणले तीव्रता पाइरहेको छ । पार्टीभित्र गुट बनाउने प्रतिस्पर्धा चलिरहे पनि पार्टी सभापति देउवाले भने बिपी र सुवर्णसमशेरको पालादेखि नै पार्टीभित्र गुट रहेकाले तत्काल गुट अन्त्य हुन नसक्ने तर्क गर्नुभएको छ ।

बढ्दै आन्तरिक कलह 

आगामी वैशाख ३० गते तय स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरू चुनावी अभियानमा केन्द्रित छन् । तर, चुनाव नजिकिँएसँगै सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसभित्र आन्तरिक कलह बढ्दै गएको छ । १४औँ महाधिवेनशपछिको सबैभन्दा ठूलो राष्ट्रिय सवाल अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी संसद्बाट पारित गर्ने विषयमा एकढिक्का देखिएको नेपाली कांग्रेसमा भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) र तरुण दलको तदर्थ समिति अध्यक्ष चयनपछि आन्तरिक विवाद सुरु भएको छ ।

गत बुधबार प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले तरुण दलको अध्यक्षमा विद्वान् गुरुङ र नेविसंघको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गर्नुभएको थियो । उक्त मनोनयप्रति केन्द्रीय सदस्य डा. शेखर कोइराला नेतृत्वको इतर समूहले तीव्र असन्तुष्टि जनाएको छ। आफूसँग परामर्श नगरी एकलौटी ढंगले मनोनित गरेको भन्दै इतर समूहले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा बाहिर विद्यार्थीहरूलाई विरोध प्रदर्शनमा उतारेको थियो ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले पार्टीसभापति देउवाविरुद्ध चर्को नाराबाजीसमेत गरेका थिए । इतर समूहका नेता कोइरालाले सभापति देउवालाई भेटेर मनोनीतको निर्णयप्रति असन्तुष्टि जनाई सक्नुभएको छ ।तरुण दल र नेविसंघको अध्यक्षमा गरेको मनोनयविरुद्ध भन्दै कोइराला समूहले चैत १४ गते बत्तिस पुतलीस्थित अनुपम फुडल्याण्डमा आफूनिकट तरुण र विद्यार्थीहरूको छुट्टै भेलासमेत बोलाएको छ । यसले कांग्रेसभित्र विवाद थप चर्किने देखिएको छ ।

कांग्रेसभित्र घरझगडाको अर्को विषय हो चुनावी गठबन्धन । स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा कांग्रेसभित्र सत्तारूढ गठबन्धनका दलहरूसँग चुनावी तालेमल गरेर जाने वा एक्लै जाने भन्ने बारे तीव्र विवाद छ ।सभापति देउवा गठबन्धनबीच तालेमल गरेर जानुपर्ने पक्षमा हुनुहुन्छ भने संस्थापन इतर डा. शेखर कोइराला पक्ष चुनावी तालेमेल गर्न नहुने अडान राख्दै आएको छ । शुक्रबारदेखि सुरु केन्द्रीय समिति बैठकमा नेताहरू चुनावी तालेमेलको पक्ष र विपक्षमा विभाजित भएका छन् ।

शुक्रबारको बैठकमा धारणा राखेका ६ मध्ये चार प्रदेश सभापतिहरू स्थानीय तह निर्वाचनमा गठबन्धनको विपक्षमा उभिएका छन् भने दुई प्रदेश सभापतिमात्र गठबन्धनको पक्षमा उभिएका छन् । शुक्रबारको बैठकमा उपस्थित नभए पनि सुदूरपश्चिमका सभापति पनि गठबन्धनको विपक्षमा सार्वजनिक अभिव्यक्ति दिँदै आउनुभएको छ ।

बैठकमा गठबन्धनको विपक्षमा धारणा आएपछि सभापति देउवाले एमालेलाई हराउन पनि गठबन्धन बनाउनुपर्नेमा जोड दिँदै भन्नुभयो, ‘चितवनमा कांग्रेस एक्लै लडेर चुनाव नजिते के गर्नुहुन्छ ? ओलीको आतंक यति चाँडै बिर्सने ? गठबन्धनबिना चुनाव जितेर देखाउनु । जितेन भने मैले जान्या छु ।’

एउटै मञ्चमा सवाल जवाफ

आसन्न स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका दलहरूबीच चुनावी तालमेलको बारे कांग्रेसभित्र तीव्र विवाद चलिरहेको बेला शनिबार सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला एउटै मञ्चमा देखिनुभयो । शनिबार बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औँ साधारणसभा समारोहमा सभापति देउवा र डा. कोइरालाबीच गठबन्धनबारे सवाल जवाफ चलेको हो ।

समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले पार्टीलाई बलियो बनाउनका लागि आगामी चुनावमा गठबन्धन आवश्यक रहेको भन्दै अघिल्लो निर्वाचनमा जस्तै नेकपा एमाले र माओवादी केन्द्र मिलिदिए के गर्ने ? भन्दै प्रश्न गर्नुभयो । सत्तारूढ पाँच दलीय गठबन्धन कायमै गरेर जानुपर्ने अडान राख्दै आउनुभएका तर पार्टी भित्रबाटै गठबन्धन नगर्न दबाब बढिरहेको बेला सभापति देउवाले गठबन्धनका विपक्षमा रहेका नेताहरूप्रति लक्षित गर्दै यस्तो प्रश्न गर्नुभएको हो ।

सभापतिको जिम्मेवारी सबै नेतालाई जिताउनुपर्ने भएकाले सो जिम्मेवारी बहन गर्न गठबन्धन गर्न खोजेको स्पष्टीकरण दिँदै सभापति देउवाले भन्नुभयो, ‘पार्टी सभापतिको हैसियत त पार्टीले जितोस्, नेताहरू सबैले जितून् भन्ने नै रहन्छ, त्यसका लागि लागिपर्ने हुन जान्छ । निर्वाचनमा एमाले र माओवादी फेरि मिलेर चुनावमा गए भने के हुन्छ ? फेरि पार्टीलाई हराउने ?’ सभापति देउवाले विगतमा कांग्रेस पार्टीले पराजय भोग्नुपरेको उल्लेख गर्दै पार्टी र पार्टीका नेतालाई जिताउनका लागि आफूले गठबन्धन गर्न खोजेको स्पष्ट पार्नुभयो ।

सोही कार्यक्रममा गठबन्धनको विपक्षमा रहनुभएका पार्टीभित्र इतर समूहका नेता डा. शेखर कोइरालाले भने पार्टीभित्रको आन्तरिक विवाद मिलाउन सकेको खण्डमा कांग्रेस सबैभन्दा बलियो पार्टी बन्ने तर, गठबन्धन मात्रै भनेर अघि बढिरहे भारतको कांग्रेस (आई)को हालत हुनसक्ने जिकिर गर्नुभयो । कोइरालाले भन्नुभयो, ‘एमाले र माओवादी विगतमा जस्तै फेरि पनि मिल्न सक्छन् तर गठबन्धन मात्रै गर्दा गर्दा कांग्रेस आइको हालत नहोला भन्न सकिन्न । गत १० वर्षको कांग्रेस आइ गठबन्धन गर्दागर्दै अहिले चारैतिर कमजोर भएको छ । यसलाई बुझ्नुपर्छ ।’

गठबन्धनतर्फ जानेभन्दा पनि पार्टीको आन्तरिक मजबुतीलाई बलियो बनाउन जोड दिँदै कोइरालाले भन्नुभयो, ‘सबैभन्दा पहिला त पार्टीको आन्तरिक बिषयलाई मजबुत र एकजुट बनाउनुपर्छ, त्यसो गर्न सके कांग्रेस बलियो हुन्छ । हुन त सभापतिज्यू त्यसमा लागिरहनु भएको छ, यो तमाम कांग्रेस कार्यकर्ताको भावना पोखिरहेको छ । यसलाई लत्याएर गठबन्धन गठबन्धन भनिरहनु हुन्न ।’