धनगढी:= त्रिभुवन आर्मी क्लबले कैलालीको धनगढीमा भएको ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि जितेको हो । उपाधिसँगै आर्मीले नगद ४ लाखसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने पुलिसले दुई लाखमा चित्त बुझाएको छ ।
फाइनलमा आर्मीले पुलिसलाई ३-१ को सेटमा पराजित गरेको हो । पहिलो र दोस्रो सेट २५-२३ र २५-२० ले जितेको आर्मीले तेस्रो सेट भने १८-२५ ले गुमायो । चौथो सेट २५-२२ ले जित्दै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो । त्यसअघि तेस्रो स्थानका लागि भएको खेलमा गण्डकी प्रदेशले विभागीय टोली एपिएफलाई पराजित गरेको छ । गण्डकीले एपिएफलाई ३-१ को सेटमा पराजित गरेको हो । तेस्रो हुने गण्डकीले एक लाख र चौथो स्थान प्राप्त गर्ने एपिएफले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेका छन् ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगिताका विजेता खेलाडीलाई सुदूरपश्चिमका सामाजिक विकासमन्त्री लालबहादुर धामीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुरस्कृत गरिएको थियो । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी आर्मीका मानबहादुर श्रेष्ठ हुनुभयो । उहाँले नगद १५ हजार प्राप्त गर्नुभयो ।
यस्तै उदीयमान खेलाडी सुदूरपश्चिमका दिनेश चन्द, उत्कृष्ट लिफ्टर आर्मीका हरिहजुर थापा, उत्कृष्ट स्पाइकर नेपाल पुलिस क्लबका रविन चन्द, उत्कृष्ट ब्लकर आर्मीका हरि अधिकारी, उत्कृष्ट डिफेन्सर गण्डकीका राजन दर्लामी, उत्कृष्ट सर्भर नेपाल पुलिस क्लबका इमराना मगर र उत्कृष्ट प्रशिक्षक आर्मीका जगतबहादुर सिंह हुनुभयो ।
उहाँहरूलाई जनही १० हजारसहित पुरस्कृत गरिएको आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपकबहादुर सिंहले जानकारी दिनुभयो । प्रतियोगितामा तीन विभागीय र ६ प्रदेश गरी नौ टोलीको सहभागिता रहेको थियो ।
सुदूरपश्चिम घर भएका खेलाडी सम्मानित
मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको समापन कार्यक्रममा सुदूरपश्चिम घर भएका भलिबल खेलाडीलाई सम्मान गरिएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सिंहका अनुसार नेपाली टोलीको १५ वर्षसम्म कप्तानी गर्नुभएका अछामका भरत शाहसहित आठजनालाई सम्मान गरिएको हो ।
सुदूरपश्चिम घर भएरै नेपाली टोलीको प्रतिनिधित्व गरिरहनुभएका भलिबल खेलाडी राजेन्द्र विष्ट, विनोद चन्द, दिनेश गिरी, विशाल विक, टेकराज अवस्थी, भैरव बम, रविन चन्द र दीपक जोशीलाई पनि सम्मान गरिएको परिषद्ले जनाएको छ ।




















