[ डिबी शर्मा ]
काठमाडौं:= चीनका विदेशमन्त्री वाङ यी आज (शुक्रबार) नेपाल आउँदै हुनुहुन्छ । स्टेट काउन्सिलरसमेत रहनुभएका वाङ यी तीनदिने भ्रमणका लागि काठमाडौं आउन लाग्नुभएको हो । परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ कम्युनिष्ट पार्टी तथा विदेश मन्त्रालयको प्रतिनिधिमण्डलसहित वाङ नेपाल आउन लाग्नुभएको हो ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा नेपाल भ्रमणका आउन लाग्नुभएका उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री नारायण खड्का र उहाँको टोलीबीच शनिबार द्विपक्षीय वार्ता हुने मन्त्रालयले जनाएको छ । शनिबार हुने वार्तामा नेपालले विविध विषय उठाउनेछ । नेपाली पक्षले एक दशकभन्दा लामो समयदेखि रोकिएको सिमानाको संयुक्त निरीक्षण, नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका रसुवागढी र तातोपानी पूर्णरूपमा खोल्न, हवाई उडान पुनः सञ्चालनलगायत विषयमा छलफल हुने बताइएको छ ।
साथै कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण स्वदेश फर्किनुपरेका विभिन्न चिनियाँ विश्वविद्यालयमा भर्ना भएका नेपाली विद्यार्थीले भोग्नुपरेको समस्या समाधानका विषयमा पनि छलफल हुनेछ । विगतका सम्झौताको कार्यान्वयनलगायत विषयलाई नेपालले उठाउने तयारी गरेको छ । उहाँ चैत १३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
नेपाल र चीनबीच पूर्वाधार विकास र अनुदान सहायताका सन्दर्भमा महत्वपूर्ण समझदारी भए पनि नेपालले त्यसबाट लाभ लिन भने सकेको छैन । दुवै पक्षबीच आवश्यक गृहकार्य हुन नसकेको अवस्था र संसद्बाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सँगको सम्झौता अनुमोदन भएको महिना दिनभित्रै उत्तरी छिमेकी चीनका परराष्ट्रमन्त्रीको नेपाल भ्रमण हुन लागेको हो ।
एमसिसी प्रकरणमा केही संशय बाँकी रहेकै बेला हुन लागेको चिनियाँ पक्षको उच्चस्तरीय भ्रमणलाई महत्वका साथ हेरिएको छ । नेपालमा अमेरिकी सहयोगमाथि चर्चा भइरहँदा बेइजिङले पटक–पटक टिप्पणी गरे पनि नेपालले त्यसलाई अघि बढाएपछिको समयमा हुन लागेको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
२०७६ असोज २५ र २६ मा २३ वर्षपछि चीनका राष्ट्रपतिका रूपमा सी चिनपिङले नेपालको दुईदिने राजकीय भ्रमण गर्नुभएको थियो । त्यसबेला परराष्ट्रमन्त्री वाङ भ्रमण दलका मुख्य सदस्य रहनुभएको थियो । परराष्ट्रमन्त्री वाङले सन् २०१५ जुनमा पनि नेपाल भ्रमण गर्नुभएको थियो ।
यसअघि चीनबाट २०७७ मंसिर १४ मा चिनियाँ रक्षामन्त्री वेई फेंगले पनि नेपालको भ्रमण गर्नुभएको थियो । १३ साउनमा शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमण गर्ने पहिलो विशिष्ट पाउना हुनुहुने छ ।




















