काठमाडौं:= काठमाडौंको टुँडिखेलमा यही चैत २५ गतेदेखि ३० गतेसम्म ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ हुने भएको छ । नेपाली कला संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवद्र्धनका लागि डिएआर मुभिजले ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ (प्रतियोगितासहितको सांस्कृतिक मौलिक मेला) को आयोजना गर्न लागेको हो ।
विभिन्न जिल्लाको स्थानीय कला संस्कृति झल्कने झाँकीदेखि विभिन्न जिल्लाको स्थानीय कलालाई देखाउने गरी कार्यक्रम सम्पन्न गरिने आयोजक संस्था डिएआर मुभिजले जनाएको छ । सोही संस्थाले यसअघि २०७६ सालमा ऐतिहासिक राष्ट्रिय काँठे लोक दोहोरी महोत्सवको आयोजना गरेको थियो । उक्त महोत्सवमा २७ वटा जिल्लाबाट सांस्कृतिक झाँकी ¥याली गरिएको थियो । २०७६ साल फागुनमा टुँडिखेलमा भएको कार्यक्रम पाँच लाखभन्दा बढी दर्शकले अवलोकन गरेका थिए ।
यसपटक ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ (प्रतियोगितासहितको सांस्कृतिक मौलिक मेला)लाई दश लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजक समितिले दाबी गरेको छ । टुँडिखेलमा हुने कार्यक्रम दर्शकले निःशुल्क अवलोकन गर्न पाउनेछन् । विभिन्न सम्मानसहितको सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गीतका प्रतिष्ठित कलाकारहरूको सहभागिता रहनेछ ।
प्रतियोगतामा प्रथम हुनेले नगद पुरस्कार ५ लाख, दोस्रो हुनेले नगद ३ लाख तेस्रो हुनेले नगद २ लाखसँगै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । कार्यक्रमको अन्तिम दिन डिजे तेञ्जिङको प्रस्तुति रहनेछ ।




















