पाल्पा:= रूपन्देहीबाट तानसेन श्रीनगर डाँडामा साथीहरूसँग घुम्न आउनुभएकी इन्द्रा केसी लालीगुँरासलाई ब्यागराउन्डमा राखेर तस्बिर लिँदै हुनुहुन्थ्यो । उहाँसँगै आएका साथीहरू पनि लालीगुँरासमा रमाउँदै फोटो खिच्न व्यस्त देखिन्थे । पाल्पाको श्रीनगर डाँडामा अहिले लालीगुराँससँग फोटो खिच्न आउनेहरूको घुइँचो देखिन्छ ।
यहाँ लालीगुराँस फुलेर अहिले डाँडा नै राताम्ये बनेको छ । तानसेन शहरको शिरमा रहेको श्रीनगर डाँडासँगै पाल्पा माथागढीको देवगिर, निस्दीको ज्यामिरे, मित्याल, झिरवास, रिब्दीकोटको बतासे, रैनादेवी डाँडा, गुल्मीको रेसुंगा, मुसिकोटको थुमालगायत डाँडाहरू यतिबेला राताम्ये भएका छन् ।
यी डाँडाहरूमा पुग्दा हरकोही त्यहाँ टक्क अडिन्छन् । लालीगुराँसकै छेडोबाट देखिने सेताम्ये हिमाल र मनमोहक प्राकृतिक छटा । जसका कारण त्यहाँ पुग्ने जा कोहीका आँखा टक्क अडिने गर्छन् । अहिले नियमित कामबाट फुर्सद निकाल्नासाथ लालीगुँरास भएका जंगलतर्फ जानेको लर्को लागेको देख्न सकिन्छ । कोही फोटो खिचिरहेका त कोही टिकटक बनाइरहेका हुन्छन् । लामो पात, झ्याम्म रुख र रातै–रातै फूलहरू । बुटवल, भैरहवा, पोखरा, काठमाडौंलगायत जिल्लाबाट अहिले गुराँसको मनमोहक दृश्य हेर्न पर्यटकहरू पुग्ने गरेका छन् ।
‘म त लालीगुराँस भएँछु । वनैभरि फुलिदिन्छु-मनैभरि फुलिदिन्छु ।’ स्वरसम्राट गायक स्व. नारायण गोपालको यो गीतजस्तै गुराँससँगै रमाउँदा फूलजस्तै प्रफुल्ल नबन्ने मन कसको पो होला र ! खासगरी पाल्पा र गुल्मीका सडकखण्ड छेउछाउमा समेत लालीगुराँस अवलोकन गर्दै यात्रा गर्न सकिन्छ । लालीगुराँस हेर्न पुग्नेहरूले आन्तरिक पर्यटनलाई सघाउ पु¥याएका छन् । पर्यटनका कारण सुनसान बनेका यहाँका पर्यटकीय स्थलहरूमा यतिबेला चहलपहल देख्न सकिन्छ ।
कहिल्यै पनि वनजंगलमा नपुगेका युवायुवतीको लर्को अहिले जंगली क्षेत्रमा देख्न सकिन्छ । युवायुवती गुराँस र हिमाललाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्न पाउँदा मख्ख छन् । पाल्पा र गुल्मीका ग्रामीण क्षेत्रका जंगलमा यस वर्ष विगतका वर्षभन्दा राम्रोसँग लालीगुराँस फुलेको छ । राताम्ये फुलेका लालीगुराँसको लालिमाले हरियो वनजंगलमा थप सुन्दरता प्रदान गरेको छ । त्यही सुन्दरतामा रमाउन र तस्बिर खिच्न युवायुवती लालीगुराँस फुलेका जगंली क्षेत्रमा पुग्ने गरेका छन् ।
माघ दोस्रो सातादेखिको हिमपात र त्यसलगत्तै वनजंगल नै ढाकिने गरी फुलेको लालीगुराँसमा रमाउन यस वर्ष सयौँ युवायुवती रेसुंगाको डाँडामा पुगिसकेका तम्घासकी कमला भट्टराई बताउनुहुन्छ । लालीगुराँससँगै रमाउने र तस्बिर खिचाउनेमा युवा पुस्तामात्रै होइन, जनप्रतिनिधिदेखि लिएर राजनीतिक दलका नेताहरू पनि रहेका छन् । विभिन्न कार्यक्रममा सहभागी हुन गाउँ गएका बेला लालीगुराँस फुलेको ठाउँमा गाडी रोकेर तस्बिर खिचाउनमा राजनीतिक दल र जनप्रतिनिधिहरू पनि व्यस्त देखिन्छन् ।
सामान्यतया चैत-वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साबिकभन्दा पहिले नै फुलेर जंगल नै राताम्ये भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटकहरू डाँडामा पुग्ने गरेका छन् । फागुनको मध्यदेखि कोपिला लाग्न सुरु हुने लालीगुराँस यस वर्ष भने फागुनको दोस्रो सातामा नै ढकमक्क फुलेको हो । लालीगुराँस फुलेपछि फागुन र चैतमा वनजंगल रंगिविरंगी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दछ ।
पाल्पाको श्रीनगरमा डाँडैभरि राताम्ये फुलेका गुराँससँग रमाउन र फोटो खिचाउनेहरूको दैनिक भिड लाग्ने गरेको छ । उता गुल्मीको रेसुंगा डाँडामा पनि अहिले आन्तरिक पर्यटकहरूको घुइँचो देख्न सकिन्छ । रेसुंगा क्षेत्रमा फागुनदेखि वैशाख महिनासम्म गुराँस फुल्ने गर्दछ । धार्मिक तथा पर्यटकीय महत्वसँग जोडिएको रेसुंगा लालीगुराँसका कारण पनि निकै प्रख्यात मानिन्छ । रेसुंगा क्षेत्रमा धार्मिकसँगै लालीगुराँसले पनि निकै रमाइलो बनाउने गरेको त्यहाँ पुग्ने पर्यटकहरूको भनाइ छ ।




















