काठमाडौं:= नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व-प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झुटो बोल्न माहिर रहेको आरोप लगाउनुभएको छ । काठमाडौंमा बुधबार भएको पार्टीको बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले ओलीलाई यस्तो आरोप लगाउनुभएको हो ।
अध्यक्ष नेपालले भन्नुभयो ‘एउटा कुरा त हामीले बुझेका छौँ, केपी ओली झुटो बोल्न माहिर छन् । उनले जे पनि भनिदिन सक्छन् ।’ अध्यक्ष नेपालले ओलीलाई विदेशीको आड रहेको आरोपसमेत लगाउनुभयो । अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले नै एमसिसी परियोजनामार्फत नेपाललाई इण्डोप्यासिफिकको अंग बनाउने कुरा ल्याएको आरोप पनि लगाउनुभयो ।
उहाँले आफूले त्यसको विरोध गरेपछि अहिले अमेरिकाले इण्डोप्यासिफिकको अंग बन्ने कुरा काटेको जिकिर गर्नुभयो । अध्यक्ष नेपालले ओलीको विचारमा क्रान्तिकारिता नभएको आरोप लगाउँदै दक्षिणपन्थी अवसरवादसँग ओली रहेको बताउनुभयो । अध्यक्ष नेपालले तत्कालीन नेकपामा ओलीले दाउपेच खेलेपछि आफूले पनि राजनीतिक दल विभाजनसम्बन्धी विधेयकमा २० प्रतिशतमा झारेर पार्टी दर्ता गराएको बताउनुभयो ।
उहाँले केपी ओली १४ वर्षसम्म जेल बस्नुभएको र १४ वर्षपछि केन्द्रीय कमिटीमा आएको भन्दै फूर्ति नदेखाउन चेतावनी दिनुभयो । अध्यक्ष नेपालले आफ्नो पार्टी सानो दुःखले आर्जेको पार्टी नभएको भन्दै आफ्नो पार्टीलाई हेपेको सहन नसक्ने बताउनुभयो ।
यस्तै, उहाँले ओलीका अपराधहरू जनतामा लैजानुपर्ने बताउनुभयो । ‘केपी ओलीका अपराधहरू के के हुन् ? जति छन् त्यो तयार गरेर हामीले जनताको माझमा लैजानुपर्छ । भ्रष्टाचार, राष्ट्रघात, जनविरोधी काम, अनुचित कामसँग जोडिएका, कम्युनिष्टहरूको आचरणसँग मेल नै नखाने, आदर्शसँग मेल नै नखाने, त्यस्ता खालका,’ उहाँले भन्नुभयो ।
यस्तै, नेता नेपालले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई अरूको सहारामा चुनाव जित्ने कुरा नसोच्न पनि आग्रह गर्नुभयो । उहाँले आफ्नो शक्ति बलियो भए मात्र अरूसँगको तालमेलको अर्थ रहने भन्दै आफ्नो स्थिति कमजोर भएको बेलामा अनावश्यक कुरा सोच्नु नहुने बताउनुभयो ।
अध्यक्ष नेपालको सबै गठबन्धन मिलेर चुनावमा प्रतिस्पर्धा गरे मात्रै नेकपा एमालेलाई पराजित गर्न सकिने ठम्माइ थियो । उहाँले ओलीको घमण्डलाई चक्नाचुर पार्ने कुरामा नेपाली कांग्रेस पनि सहमत रहेको जनाउनुभयो ।




















