शिवशंकरको ‘जोगिन्दर मुखियाजी’ नामक कमेडी सो आउँदै।

काठमाडौं:= कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले नयाँ कमेडी टेलिभिजन सो ल्याउने घोषणा गर्नुभएको छ । उहाँले ‘जोगिन्दर मुखियाजी’ नामक सो ल्याउने बताउनुभएको छ ।

उहाँका अनुसार ‘जोगिन्दर मुखियाजी’ ग्लोबल एचडी टिभीबाट चैत १० गतेदेखि प्रत्येक बिहीबार साँझ ७ :३० बाट प्रशारणमा आउँदैछ । जोगिन्दर उपनामले परिचित रिजालले आफूलाई सबैले वास्तविक नामबाट भन्दा पनि जोगिन्दर उपनामबाटै चिन्ने भएकोले नयाँ सोमा पनि यो नाम जोडेको बताउनुभयो ।

यस अगाडि हिमालयन टेलिभिजनमा चर्चित कार्यक्रम ‘जोगिन्दर पानवाल’मार्फत दर्शकको मन जित्न सफल उहाँ डेढ वर्षपछि नयाँ टेलिभिजनमा देखिन लाग्नुभएको हो । ‘जोगिन्दर मुखियाजी’ एक पूर्ण मनोरञ्जनात्मक सो भएको उहाँले जानकारी दिनुभयो । कार्यक्रमको पहिलो एपिसोड उहाँले पूर्वमन्त्री लालबाबु पण्डितलाई अतिथि बनाएको सुनाउनुभयो ।

‘जोगिन्दर मुखियाजी’ रमाइलो ठट्यौली शैलीमा गफगाफ गर्ने सो हो । यहाँ घरमा भएका खानेकुराहरू खाँदै गफगाफ गर्नेछु’ उहाँले भन्नुभएको छ , ‘यसलाई सबैसँग भलाकुसारी गर्ने कार्यक्रम अथवा साझा चौतारी भन्दा पनि फरक पर्दैन ।’