काठमाडौं:= नेपाल सुपर लिग फुटबलको दोस्रो संस्करणको आयोजना मितिलाई नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले स्वीकृति प्रदान गरेको छ । लिगको आयोजनालाई लिएर ‘ए डिभिजनका क्लबहरूले असन्तुष्टि व्यक्त गरेपछि उत्पन्न विवादपछि गठन भएको कार्यदलले आगामी चैत्र २५ गतेदेखि लिग सञ्चालन गर्न अनुमति दिएको हो ।
एन्फाले बुधबार एनएसएल आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिलाई एक पत्र लेख्दै चैत २५ देखि जेठ १ सम्मको लागि स्वीकृति प्रदान गरेको हो । सुपर लिगको आयोजना र अस्तित्वलाई लिएर ए डिभिजनका चार क्लबले असन्तुष्टि व्यक्त गर्दै एन्फालाई पत्राचार गरेका थिए । उक्त पत्राचारपछि एन्फाले फागुन २० गते भएको खेलाडी अक्सन रोक्न आयोजकलाई निर्देशन दिएको थियो तर निर्देशन नमान्दै आयोजकले अक्सन सम्पन्न गरेको थियो ।
त्यसपछि एन्फाले सोधेको स्पष्टीकरणको जवाफ बुझाएपछि विवाद समाधानका लागि एन्फाले अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा सात सदस्यीय विवाद समाधान कार्यदल बनाएको थियो । उक्त कार्यदलले आयोजकलाई लिग आयोजनाको मिति तोकिदिएको हो ।
एन्फाका कार्यवाहक महासचिव अरुणमान जोशीले हस्ताक्षर गरेको पत्रमा आवश्यक स्वीकृति प्रदान गरिएको व्यहोरा उल्लेख छ । यस्तै, कार्यदलले एनएसएलका लागि खेलाडी सरुवा क्लबबीच आपसी समझदारीमा गर्न दिने निर्णयसमेत गरेको छ । चार क्लबले खेलाडी रिलिज गर्ने कुरामा आपत्ति जनाएका थिए ।




















