सौदाबाजी गरेर एमालेमा प्रवेश गरेको होइन: करिश्मा मानन्धर।

काठमाडौं := नेपाली चलचित्र क्षेत्रमा झण्डै तीन दशकको यात्रा गर्नुभएकी अभिनेत्री करिश्मा मानन्धर मंगलबार नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । तत्कालीन नयाँ शक्ति पार्टीबाट राजनीतिक यात्रा सुरु गरे पनि राजनीतिक यात्रा दुई वर्षभन्दा अगाडि बढ्न सकेन । यो अवधिसम्म उहाँ राजनीतिमा निष्क्रिय हुनुहुन्थ्यो ।

अहिले आएर एमाले पार्टीको सिद्धान्त मन परेको भन्दै पार्टी प्रवेश गर्नुभएको हो । काठमाडौंको कार्की ब्यांक्वेटमा आयोजित एक कार्यक्रमबीच करिश्मालाई एमाले अध्यक्ष तथा पूर्व–प्रधानमन्त्री केपी शर्मा ओलीले खादा लगाएर स्वागत गर्नुभयो । रातो साडी लगाएर कार्यक्रममा उपस्थित हुनुभएकी करिश्माले केहीबेर आफ्नो धारणा पनि राख्नुभयो । धारणा राख्ने क्रममा करिश्माले एमालेमा प्रवेश गर्नुको मुख्य तीन कारण रहेको भन्दै प्रष्ट पार्नुभयो ।

पार्टी प्रवेश गर्नुको पहिलो कारणको रूपमा करिश्माले अध्यक्ष केपी शर्मा ओलीलाई कारण देखाउनुभयो । उहाँले भन्नुभयो, ‘अध्यक्ष ओलीलाई फुर्काउन भनेकी होइन । नेता भनेको जनताको पथप्रदर्शक हो । ओलीमा त्यो प्रतिबद्धता र कुशलता पाउँछु । ओलीको इनर्जी देखेर ताजुब भएकी छु ।’

यस्तै, उहाँले दोस्रो कारणमा एमालेले मुलुकको परिवर्तन र समृद्धिको सही एजेण्डा बोकेकाले आफूले पार्टी प्रवेश गर्ने निर्णय लिएको बताउनुभयो । तेस्रो कारणमा अधिकांश नेपाली नागरिकले एमालेसँग सद्भाव राख्ने भन्दै उहाँले यो पार्टी रोजेको जिकिर गर्नुभयो ।

अभिनेत्री करिश्माले भन्नुभयो, ‘मैले कलाकारिताको माध्यमबाट मुलुकलाई योगदान गरिरहेको छु । आजबाट एमालेमा रहेर राजनीतिमा अगाडि बढ्ने अठोट लिएको छु । एमाले अध्यक्ष ओलीको व्यक्तित्व र प्रतिबद्धताबाट प्रभावित भएरै मैले एमाले रोजेको हुँ । एमालेले महिलालाई सधैँ अगाडि बढाउँदै आएको छ र मुलुकको वास्तविक एजेण्डा बोकेको छ । यसैले मैले एमाले रोजेको हुँ ।’

उहाँले कुनै बार्गेनिङ गरेर एमाले प्रवेश नगरेको पनि स्पष्ट पार्नुभयो । ‘म सौदाबाजी गरेर एमालेमा प्रवेश गरेको होइन । न त कुनै माग राखेको छु । म एमालेको कार्यकर्ता हुन आएको हुँँ । तर, पार्टीले कुनै जिम्मेवारी दिए काम गर्नेछु । मेरो राजनीतिक यात्रासँगै एमालेको भविष्य पनि राम्रो देखेको छु । एमाले पार्टी सबै जनताको मन-मनमा रहनेछ ।’