राजमार्गका खाल्डाखुल्डी पुर्न ढिलाइ हुँदा जामैजाम।

[ प्रकाश मैनाली ] 

सर्लाही:= सर्लाहीको पूर्व-पश्चिम राजमार्ग (हाइवे) का खाल्डाखुल्डी पुर्न ढिलाइ गर्दा दुर्घटनाको जोखिम बढेको छ । पिच उप्किएर खाल्डो परेको ठाउँमा धुलो उड्दा यात्रु र सडक छेउछाउ घर भएकाहरूले सास्ती खेपिरहँदा दुर्घटनाको जोखिमसमेत बढेको हो । चौबिसै घण्टा सवारीसाधन दौडिने पूर्व-पश्चिम राजमार्गलाई संवेदनशील मानिन्छ । राजमार्गको लालबन्दीस्थित क्याम्पस चोक, नवलपुर बजार क्षेत्र, नयाँरोडलगायतका स्थानमा पिच भत्किएर ठूल्ठूला खाल्डाखुल्डी परेका छन् । ती खाल्डाखुल्डीमा परेर मोटरसाइकललगायत सानाखाले सवारी अनियन्त्रित भई पल्टिने गरेका छन् ।

तीव्र गतिमा आएका सवारीसाधन एक्कासी खाल्डोअगाडि आएर बे्रक लगाउँदा पछाडिबाट अर्को सवारीसाधन ठोक्किएर दुर्घटना हुनेक्रम पनि बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीको लखन्देही खोलाको पुल पनि दिनहुँ जीर्ण बन्दै गइरहेको छ । पुलमा खाल्डाखुल्डी परेर सवारीसाधन विस्तारै पास हुनुपर्दा दिनहुँ गाडीहरूको जाम लागेको देखिन्छ । पुल जीर्ण हुँदा त्यहाँ पनि सवारी दुर्घटनाको उत्तिकै जोखिम छ ।

देशका उच्चपदस्थ व्यक्तिहरू दिनहुँ ओहोरदोहार गर्ने राजमार्गको पुल मर्मतका लागि कसैले चासो नदिएको भन्दै यात्रुहरूले चिन्ता व्यक्त गर्दै आइरहेका छन् । डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले भने राजमार्गका खाल्डाखुल्डी मर्मत गर्ने तयारी गरे पनि अलकत्रा हाल्न पर्याप्त तापक्रम नपुगेकाले ढिलाइ भइरहेको बताएको छ