काठमाडौं:= सत्तारूढ गठबन्धनका दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावी तालमेलबारे छिटो निर्णय गर्न गठबन्धनको मुख्य दल नेपाली कांग्रेसलाई दबाब दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको गठबन्धनका शीर्ष नेताहरूबीचको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावी तालमेलबारे छिटो निर्णय गर्न नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गर्नुभएको हो ।
अध्यक्षद्वय दाहाल र नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनबारे छिटो टुंगो लगाउन दबाबपूर्ण आग्रह गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले भने पार्टीको आगामी केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गराउने जवाफ दिनुभएको छ ।गठबन्धनका शीर्ष नेताहरू बीचको छलफलबारे जानकारी दिँदै प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘स्थानीय तह निर्वाचनका लागि संयन्त्र बनाउने विषयमा छलफल भएको छ । स्थानीय तहसम्म तालमेलका लागि संयन्त्र बनाउनेबारे छलफल भएको हो । कांग्रेसले कार्यसमितिबाट यसबारेमा निर्णय लिने भनेपछि थप कुराकानी अगाडि बढेन ।’
यसैबीच, सत्तारूढ गठबन्धनका आगामी स्थानीय तह निर्वाचनमा महानगरपालिकामा केन्द्रबाटै गठबन्धनको निर्णय गर्ने विषयमा छलफल सुरु भएको छ । सत्तारूढ गठबन्धनका दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच स्थानीय तह निर्वाचनमा महानगरपालिकामा केन्द्रबाटै गठबन्धनको निर्णय गर्ने र बाँकी स्थानीय तहमा आवश्यकताअनुसार गठबन्धन गर्ने वा नगर्ने भन्नेमा निर्णय गर्न स्थानीय पार्टी समितिहरूलाई छुट दिने विषयमा अनौपचारिक छलफल सुरु भएको हो । छलफलमा माओवादी केन्द्रले पुनः चितवनको भरतपुर नगरपालिकामा पुनः नेतृत्व दाबी गरेको छ । नेकपा एकीकृत समाजवादीले काठमाडांै महानगरपालिका वा पोखरा महानगरपालिकामध्ये एक पाउनुपर्ने दाबी गरेको छ । वीरगञ्ज महानगरपालिकाको नेतृत्व गठबन्धनको घटक जनता समाजवादी पार्टीले दाबी गरेको छ ।
यता, आगामी स्थानीय तह निर्वाचनमा गठबन्धनका दलहरूबीच चुनावी तालमेल गर्ने विषयमा नेपाली कांग्रेसभित्र तीन धार छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवा पक्ष आगामी निर्वाचनमा गठबन्धनका दलहरूबीच चुनावी तालमेल गरेर जानुपर्ने पक्षमा रहेको छ । तर, केन्द्रीय सदस्य डा. कोइराला पक्ष भने आगामी निर्वाचनमा कुनै पनि दलसँग तालमेल नगरी एक्लै प्रतिस्पर्धा गर्नुपर्ने अडानमा छ । यस्तै, पार्टीभित्र चुनावी तालमेलको जिम्मा स्थानीय पार्टी समितिलाई नै दिनुपर्ने तेस्रो धार पनि छ । नेपाली कांग्रेसका अधिकांश नेताहरूले पार्टीको जारी एकमहिने अभियानका क्रममा केन्द्रीय प्रतिनिधिले बुझाउने प्रतिवेदन र परिस्थितिको मूल्यांकनको आधारमा तालमेलबारे निर्णय लिनुपर्ने मत राख्दै आएका छन् ।
कांग्रेसलाई भोट आउँदैन भने गठबन्धन किन गर्ने ? : डा. कोइराला
आगामी निर्वाचनमा कांग्रेसले अन्य कुनै पनि दलसँग चुनावी तालमेल गर्न नहुने धारको नेतृत्व गरिरहनु भएको केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कम्युनिष्टले कांग्रेसलाई मतदान गर्नेमा विश्वास नरहेकाले चुनावी तालमेलबारे सोच–विचार गरेर मात्र निर्णय लिनुपर्ने बताउनुभएको छ । विराटनगरस्थित कोइराला निवासमा मंगलबार नेपाल सांस्कृतिक संघले आयोजना गरेको चुनावी गीत सार्वजनिकीकरणमा नेता कोइरालाले भन्नुभयो, ‘जिल्लाका कांग्रेसका साथीहरूले स्थानीय तहको चुनावमा गठबन्धन गरेर जानु हुँदैन र यसले कांग्रेसलाई फाइदा नगर्ने भनिरहेका छन् । कम्युनिष्टले कांग्रेसलाई भोट हाल्छ भन्नेमा कांग्रेसी विश्वस्त छैनौँ । त्यसैले आवेसमा होइन, पार्टी नेतृत्वले सोच-विचार गरेर निर्णय लिनुपर्छ ।’
गठबन्धनको फाइदा कांग्रेसलाई नभएर गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई फाइदा पुग्ने भन्दै नेता कोइरालाले अगाडि भन्नुभयो, ‘गठबन्धन केका लागि गर्ने ? अरू पार्टीलाई जिताउनका लागि कि अरू पार्टीले कांग्रेसलाई पनि भोट दिनका लागि गठबन्धन हो ? कांग्रेस नेतृत्वले त्यसतर्फ सोच्नुपर्ने आवश्यकता छ । कांग्रेसलाई गठबन्धनबाट फाइदा हुन्छ कि हुँदैन, भोट आउँछ कि आउँदैन र यदि भोट आउँदैन भने त्यो गठबन्धनको जरुरत के छ ?’
अन्य पार्टीका नेतालाई जिताउनका लागि कांग्रेसलाई गठबन्धन आवश्यक नभएको जिकिर गर्दै कोइरालाले भन्नुभयो, ‘गठबन्धनले पार्टी, पार्टीका सिद्धान्त र विचार कमजोर हुँदै जानेतर्फ नेताहरू सजग र सचेत हुनु आवश्यक छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा भरतपुरमा माओवादीको रेणु दाहाललाई जिताएपछि अहिलेसम्म कांग्रेस एक ढिक्का हुन सकेको छैन । त्यो कुरा पार्टी नेतृत्वले बुझ्नुपर्छ ।’ चैत ११ गते बस्ने नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकबाट स्थानीय तहको निर्वाचनमा कसरी अघि बढ्ने भन्नेबारे निर्णय लिने बताइएको छ ।
चुनावी तालमेलबारे कांग्रेस र लोसपाबीच संवाद
यसैबीच, नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबीच चुनावी तालमेलका विषयमा छलफल सुरु भएको छ । लोसपाले उठाएको मुद्दाका विषयमा छलफल गर्ने क्रममा दुई पार्टीबीच स्थानीय तहमा चुनावी तालमेलको विषयले प्रवेश पाएको हो । कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच चुनावी तालमेलको विषयमा तीनपटक छलफल भइसकेको अध्यक्ष ठाकुरनिकट एक नेताले जानकारी दिनुभएको छ । चुनावी तालमेलबारे प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुरबीच भएको बारे जानकारी दिँदै लोसपा कार्यकारिणी समितिका सदस्य केशव झाले भन्नुभयो, ‘स्थानीय चुनाव हुने भएपछि चुनावी तालमेलका विषयमा छलफल भइरहेको छ । तर, कुनै निर्णय भएको छैन ।’
सत्तारूढ गठबन्धनको घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने लोसपालाई पनि गठबन्धनमा ल्याउने विषयमा कुरा भइनसकेको दाबी गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, ‘लोसपालाई गठबन्धनमा ल्याउन कुरा भएको छैन । लोसपाका नेताहरूले प्रधानमन्त्रीसँग कुरा गरेको सुनेको छु । हामी गठबन्धनलाई अघि बढाउँछौँ तर दलहरू थपिने कुराबारे बैठकमा केही भएको छैन ।’
मन्त्रिपरिषद् हेरफेरको तयारीमा गठबन्धन
स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा सत्तारूढ गठबन्धनले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् । सत्तारूढ गठबन्धनको घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनमै मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी भइरहेको बताउनुभएको छ ।
मंगलबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले मन्त्रिपरिषद् हेरफेर र पूर्णता दिनबारे प्रधानमन्त्री देउवासँग छलफल भइरहेको जानकारी दिनुभयो । मधेश प्रदेशमा मंगलबार आयोजना भएको पार्टी कार्यक्रममा सहभागी हुन जनकपुर पुग्नुभएका दाहालले भन्नुभयो, ‘मन्त्रिपरिषद्मा हेरफेरको कुरा चलेको छ । औपचारिक रूपमा कुरा टुंगिएको छैन । केही हेरफेर हुने कुरा भएको छ । नयाँ मन्त्री आउने सम्भावना छ ।’
सरकारमा हैसियत अनुसारको सहभागिता चाहिन्छ : प्रचण्ड
गठबन्धनमा मन्त्रिपरिषद् हेरफेर तथा पूर्णताको विषयमा छलफल चलिरहँदा सत्तारूढ गठबन्धनको घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् हेरफेर भएमा आफ्नो पार्टीलाई हैसियत अनुसारको सहभागिता चाहिने बताउनुभएको छ । मंगलबार माओवादी केन्द्रको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुग्नुभएका अध्यक्ष दाहालले आफूलाई पार्टीको हैसियतअनुसार मन्त्रिपरिषद्मा भाग चाहिने र यसबारे आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भनिसकेको जानकारी दिनुभयो ।
माओवादी केन्द्रले मन्त्रिपरिषद् गठनको समयमा त्याग गरेको दाबी गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘मैले प्रधानमन्त्रीजीसँग भनेको पनि छु । गठबन्धनमा सबैभन्दा बढी त्याग माओवादी केन्द्रले गरेको छ । प्रधानमन्त्रीजीले हाम्रो महाधिवेशन सम्मलाई सहयोग गर्नुस् भनेर भन्नुभएको थियो । हामीले पाउनुपर्ने जति मन्त्रालय पाएका छैनौँ । माधवजीले पनि मेरो पार्टी नयाँ छ, धेरै दुःख छ, सहयोग गर्नु भन्नुभएको थियो । अहिलेसम्म सबैलाई सहयोग गर्ने सबै काम माओवादी केन्द्रले गर्दै आएको छ ।’
लोसपालाई पनि सरकारमा सहभागी गराउने प्रधानमन्त्रीको प्रयास
यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् हेरफेरसँगै लोकतान्त्रिक समाजवादी पार्टी लोसपालाई पनि सरकारमा सहभागी गराउन प्रयास गरिरहनु भएको छ । प्रधानमन्त्री देउवा र लोसपाका नेताहरूबीच सरकारमा सहभागिताको विषयमा अनौपचारिक छलफल भइरहेको लोसपाका नेताहरूले बताएका छन् । सरकारमा सहभागी हुने विषयमा छलफल भइरहेको पुष्टि गर्दै लोसपाका अध्यक्ष महन्थ ठाकुरले आफूहरूले उठाएका माग पूरा हुने प्रतिबद्धता आउने हो भने सरकारमा जान सकिने बताउनुभएको छ ।
अध्यक्ष ठाकुरले प्रधानमन्त्रीसँग छलफल भए पनि सरकारमा जाने वा नजानेबारे पार्टीभित्र भने छलफल नभएको बताउनुभयो । मंगलबार जनकपुरमा पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ठाकुरले भन्नुभयो, ‘पार्टीले उठाएका माग पूरा गर्ने गरी प्रतिबद्धता आउने हो भने सरकारमा जान पनि सकिन्छ, माग पूरा नभएसम्म सरकारमा सहभागी हुनुको औचित्य हुन्न । सरकारले लचकता देखाउँछ र माग पूरा गर्ने प्रतिबद्धता जनाउँछ भने पार्टीमा छलफल गरेर सरकारमा सहभागी हुन पनि सकिन्छ ।’ लोसपाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिए पनि सरकारमा भने सहभागी भएको छैन ।




















