गाभर भ्याली होमस्टेमा ‘मौलिक भोजन मेला’ मा खानासँगै रैथाने नाच हेर्न पाइने।

बाँके:=  ‘रैथानेमा भर, स्वास्थ्य जीवनको आधार’ गाभर भ्याली होमस्टे जाऔं, मौलिक भोजको स्वाद लिऔँ’ भन्ने मूलनाराका साथमा बाँकेको गाभर भ्याली होमस्टेमा ‘मौलिक भोजन मेला’को आयोजना हुने भएको छ । यही चैत ११ गतेदेखि १३ सम्म चल्ने उक्त ‘मौलिक (रैथाने) खाना मेला’मा लुम्बिनी प्रदेशका विभिन्न जात जातिहरूमा प्रचलित नाचको अवलोकनसमेत गर्न सकिनेछ । महोत्सव तीन दिनसम्म चल्नेछ।

उक्त महोत्सवमा मौलिक खानाको स्वादसँगै विभिन्न जातजातिका प्रचलित नाच प्रदर्शन गरिने गाभर भ्याली होमस्टे सञ्चालक समितिका अध्यक्ष कृष्णलाल चौधरीले बताउनुभएको छ । ‘थारू समुदायमा प्रचलित सखिया, झुम्रा, छोक्रा, पैया, मयूर नाचका साथै हिमाली तथा पहाडी भेगमा प्रचलित कुर्कुटी, सल्यानी टप्पा, झ्याउरे लगायतका नाच महोत्सवमा अवलोकन गर्न सकिनेछ ।’ चौधरीले भन्नुभएको छ, ‘मौलिक परिकारको स्वादसँगै लोप हुँदै गएको परम्परागत नाचगान हेर्ने ब्यवस्थासमेत महोत्सवमा गरिएको छ ।’

आधुनिकतासँगै लोप हुँदै गएका संस्कार र संस्कृति जगेर्ना गर्न लुम्बिनी र हिमाली भेगमा प्रचलित लोपोन्मुख नाचगानकोे प्रचारप्रसार गरी यसको प्रवद्र्धन गर्ने उद्देश्य रहेको आयोजक गाभर भ्याली होमस्टेले जनाएको छ ।’ महोत्सवमा थारू समुदायको मौलिक पोसाकको अवलोकनसँगै किनमेल गर्ने ब्यवस्था मिलाइएको छ । परम्परागत पोसाकको बारेमा पछिल्लो पुस्तालाई जानकारी दिने र यसको बजारीकरण गर्न मौलिक पोशाक अवलोकन र किनेर लैजान चाहनेका लागि त्यो सुविधा रहेको आयोजकले जानकारी दिएको छ ।

‘मौलिक खाना खानका लागि मात्र होइन हाम्रो संस्कृति पनि हो ।’ रैथाने एग्री प्रोडक्ट्स नेपाल प्रालिका अध्यक्ष तथा संरक्षणकर्मी तिलक ढकालले भन्नुभयो, ‘रैथाने खाना र पर्यटन एक अर्कास“ग जोडिएका विषय हुन् ।’ यस मौलिक भोजन मेला २०७८ लाई पर्यटन डिभिजन कार्यालय, लुम्बिनी प्रदेश, कोहपुर, बाँकेले सहयोग गरेको छ । गाभर भ्याली सामुदायिक होमस्टे बाँकेको आयोजनामा हुन लागेको यो कार्यक्रम रैथाने एग्री प्रोडक्ट्स नेपाल प्रालि, महाराजगञ्जको सहकार्यमा हुन लागेको हो ।