ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा प्रत्येक वर्ष आगलागीबाट ठूलो क्षति।

ताप्लेजुङ:= ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा प्रत्येक वर्ष ठूला आगलागीका घटना हुने गरेका छन् । पटक-पटक हुने आगलागीका घटनाबाट ठूलो धनसम्पत्तिको क्षति हुँदै आएको छ भने शुक्रबार भएको आगलागीले मानवीय क्षतिसमेत गराएको छ ।

शुक्रबार बिहान फुङ्लिङ बजारको कोप्चे डाँडालाइनमा भएको आगलागीमा परी ६७ वर्षीया चुलीमाया चोङ्बाङ लिम्बूको मृत्यु भएको छ । केही समयअघिदेखि फुङ्लिङ बजारस्थित आफ्नी छोरीसँग बस्दै आउनुभएकी मैवाखोला गाउँपालिका-१ ढुंगेसाँघु बस्ने लिम्बूको आगलागीमा ज्यान गएको हो । प्रहरीका अनुसार आगलागीमा परी गम्भीर घाइते भएपछि लिम्बूलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको र उपचारकै क्रममा उहाँको मृत्यु भएको हो ।

आगलागीबाट नजिकै रहेका छिमेकीको घरसमेत पूर्णरूपमा जलेर नष्ट भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा पटक-पटक हुने आगलागी घटनामा घरधनी र भाडामा बस्नेहरूले धेरै धनसम्पत्ति गुमाउँदै आएका छन् । आगलागीले नगद, सुनचाँदी, व्यापार प्रयोजनका जिन्सी सामग्रीलगायतका पूर्वाधार तथा संरचना जलेर नष्ट हुने हुँदा ठूलो धनसम्पत्ति क्षति हुने गरेको छ। मानवीय क्षति भने यो दोस्रोपटक हो । यसअघि तोक्मेबजारको हटिया लाइनमा आगलागी हुँदा एक पुरुषको जलेर मृत्यु भएको थियो ।

फुङ्लिङमा आगलागी शृंखला

सदरमुकाम फुङ्लिङ बजारमा विगत २०६० सालयता १८ वर्षको अवधिमा पाँच ठूला-ठूला आगलागीका घटना भएका छन् । यस अवधिमा बजारभित्रै ससाना आगलागीका घटना भने धेरै भएका छन् । जिल्लास्थित प्रहरी र रेडक्रस सोसाइटीले राखेको तथ्यांकअनुसार पहिलोपटक २०६० चैत १५ गते सदरमुकाममा ठूलो आगलागीको घटना भएको थियो ।

सदरमुकामको मुख्य बजार वीरेन्द्रचोकमा आगलागी हुँदा ४४ घर जलेर नष्ट भएका थिए । वीरेन्द्रचोकमा भएको आगलागीबाट १२९ परिवार विस्थापित भएका थिए भने ४१ करोड रुपैयाँ बराबरको क्षति भएको थियो । यस्तै २०६९ माघ २६ गते फुङ्लिङ बजारको शेर्पा टोलमा आगलागी हुँदा आठ घर जलेका थिए । उक्त आगलागीबाट १८ परिवार विस्थापित भए भने आठ करोड रुपैयाँ बढीको क्षति हुन पुगेको थियो ।

फुङ्लिङ बजारकै टुक्रेलाइनमा २०७० कात्तिक १८ गते भएको आगलागीमा आठ घर पूर्णरूपमा जलेका थिए । सो आगलागीमा १७ परिवार विस्थापित भएका र करिब पाँच करोड रुपैयाँ बराबरको क्षति भएको थियो । यसैगरी तोक्मेबजार क्षेत्रमा २०७१ चैत ९ गते भएको भीषण आगलागीमा ३७ घर जलेका थिए । उक्त संख्यामा घर जल्दा घरधनी र डेरावालसमेत १४५ परिवार विस्थापित भए भने ४० करोड रुपैयाँको क्षति हुन पुगेको थियो ।

त्यस्तै २०७७ वैशाख १९ गते फुङ्लिङ बजारको पुरानो बैंक लाइनमा आगलागी हुँदा आठ घर जलेका थिए भने ३० परिवार विस्थापित भएका थिए । सो आगलागीबाट सात करोड ६५ लाख ७२ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको तथ्यांक रहेको छ । यसरी सदरमुकाम फुङ्लिङ बजारमा विभिन्न समयमा पटक-पटक आगलागी हुँदा ठूलो धनसम्पत्तिको क्षति भएको तथ्यांक छ ।

आगलागीका घटना अधिकांश असावधानी र लापरबाहीले हुने गरेका छन् भने केही विद्युत् सर्ट र अन्य कारणबाट हुने गरेको तथ्यांकमा उल्लेख छ । बजारमा पुरानो तथा काठ र जस्तापाता प्रयोग गरी निर्माण गरिएका संरचनाका कारण आगो सुरु भएपछि चाँडै धेरैतिर फैलने र क्षति पुर्‍याउने गरेको छ ।