काठमाडौं:= वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै युवाहरूबाट करोडौँ रुपैयाँ असुलेर ठगी गरेको आरोपमा द–रिभर ओभरसिज प्रालि प्रहरी र वैदेशिक रोजगार विभागको छानबिनमा परेको छ।
पीडितहरूको उजुरीका आधारमा केही समयअघि काठमाडौंको गौशालास्थित द–रिभर ओभरसिजको कार्यालयमा वैदेशिक रोजगार विभाग र नेपाल प्रहरीले संयुक्त रूपमा अनुगमन तथा छापा मारेका थिए। छापाका क्रममा कार्यालयबाट केही राहदानी समेत बरामद गरिएको स्रोतले जनाएको छ।
सरकारले मलेसियामा वैदेशिक रोजगारीका लागि ‘फ्रि भिसा, फ्रि टिकट’ व्यवस्था लागू गरेको भए पनि उक्त म्यानपावर कम्पनीले प्रतिव्यक्ति लाखौँ रुपैयाँ असुलेको आरोप लगाउँदै पीडितहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा उजुरी दिएका थिए।
मन्त्रालय र वैदेशिक रोजगार विभागमा लगातार उजुरी परेपछि कम्पनीमाथि निगरानी बढाइएको र सोही क्रममा अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ। विभागले बरामद राहदानी तथा अन्य कागजातका आधारमा थप अनुसन्धान गरिरहेको छ।
यता वैदेशिक रोजगार विभागकी महानिर्देशक मिरा आचार्यले भने विभागले नियमित अनुगमनकै क्रममा म्यानपावर कम्पनीहरूको निरीक्षण गर्ने गरेको बताएकी छन्। उनका अनुसार पछिल्लो समय कुनै विशेष लक्षित छापा नभई कानुनविपरीत गतिविधि गर्ने संस्थाहरूलाई ऐनअनुसार कारबाहीको दायरामा ल्याउने कार्य निरन्तर भइरहेको छ।
पछिल्ला महिनाहरूमा वैदेशिक रोजगारीका नाममा नेपाली युवाहरू ठगिने घटना बढ्दै गएपछि वैदेशिक रोजगार विभाग र नेपाल प्रहरीले संयुक्त रूपमा निगरानी र अनुसन्धानलाई थप प्रभावकारी बनाएका छन्। द–रिभर ओभरसिजविरुद्ध परेका उजुरी र बरामद राहदानी सम्बन्धी विषयमा अनुसन्धान जारी रहेको विभागले जनाएको छ।




















