नेकपा सरकारको भण्डाफोर गर्ने र कांग्रेस सरकारका उपलब्धि सुनाएर मत माग्ने योजना
[ डीबि शर्मा ]
काठमाडौं:= नेपाली कांग्रेसको एकमहिने चुनावी अभियान सुरु भएको छ । कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रित ‘घरघर जाऊँ कांग्रेस जिताऊँ’ अभियान आइतबारबाट सुरु भएको हो । एकमहिने अभियानअन्तर्गत कांग्रेसले देशभरका ७५३ वटै स्थानीय तहमा ७७ वटै जिल्लामा पदाधिकारी र केन्द्रीय सदस्यलाई जिम्मेवारी बाँडफाँट गरेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा व्यहोरेको हारबाट शिक्षा लिएको कांग्रेसले आगामी स्थानीय तह निर्वाचन केन्द्रित अभियान लिएर यसपटक भने ६ हजार ७४३ वडामा पुग्ने तयारी गरेको हो।
अभियानमा ७७ जिल्लाकै केन्द्रीय प्रतिनिधिहरूले १० दिनसम्म हरेक स्थानीय पालिकामा पुगेर जनताका कुराहरू सुन्ने र उनीहरूको अपेक्षाहरू सुन्ने कुरामा केन्द्रित महामन्त्री विश्वप्रकाश शर्माले बताउनुभयो । सातै प्रदेशका १६५ निर्वाचन क्षेत्र, ३३० प्रदेश क्षेत्र, ७५३ वटा पालिकामा र ६ हजार ७४३ वटा वडामा सर्कुलर पठाइसकिएको पनि उहाँले बताउनुभयो । सरकारले आउँदो वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको छ ।
अभियानको मुख्य उद्देश्य स्थानीय तह निर्वाचनमा कांग्रेसलाई जिताउन माहोल बनाउने रहेको छ । अभियानमार्फत घरघरमै पुगेर जनतालाई पार्टीका एजेण्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव संकलन गर्ने महामन्त्री विश्वप्रकाश शर्माले बताउनुभयो । यो अभियान चैत २९ सम्म चल्ने र त्यसपछि भने अर्को अभियान सुरु हुने उहाँले बताउनुभयो ।
पहिलो चरणमा अभियानमार्फत कांग्रेसले मुख्य आठवटा उद्देश्य सार्वजनिक गरेको पनि उहाँले बताउनुभयो । एमसिसीबारे जनतामा छरिएको भ्रम चिर्ने, निर्वाचनको माहोल बनाउने, तत्कालीन नेकपा नेतृत्वको सरकारले गरेका जनविरोधी कामको भण्डाफोर गर्ने र कांग्रेस नेतृत्वको सरकारले गरेका राम्रा कामहरूको प्रचार गर्ने उद्देश्य अभियानको रहेको उहाँको भनाइ छ । महामन्त्री शर्माका अनुसार पहिलोमा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्नेछ ।
‘पहिलो कुरामा जनता र मतदातालाई तपाईंहरू निर्वाचनको प्रक्रियामा सहभागी बन्नुहोस् भने अपिल गर्छौँ । कांग्रेसलाई मतदान गरेर सत्ता सुम्पिन अपिल गर्छौं,’ शर्माले भन्नुभयो, ‘गत निर्वाचनमा जनताले कम्युनिष्ट पार्टीलाई सरकार बनाउने जिम्मा दिए । तर कम्युनिष्टले चलाउन नसकेर कांग्रेसलाई सुम्पिए । त्यसैले हाम्रो अपिल छ अब सिधै नेपाली कांग्रेस पार्टीलाई जिम्मा लगाउनुस् ।’ केपी ओली नेतृत्वको तत्कालीन सरकारका जनविरोधी, संविधानविरोधी, भ्रष्टाचारका कुराहरूलाई गहिरो समीक्षा गर्न पनि उहाँले जनतालाई आग्रह गर्नुभयो ।
कम्युनिष्टले नारा लगाइरहेको युवकको भोट मात्रै हेर्यो होला, कांग्रेसले जनताको भविष्यलाई हेर्यो : शर्मा
‘कम्युनिष्ट पार्टीले बानेश्वरको चोकमा नारा लगाइरहेको युवकको भोट मात्रै हेर्यो होला । नेपाली कांग्रेसले एमसिसी पास गर्दा भनेको वाक्यलाई पनि विश्लेषण गरिदिनुहोस्,’ महामन्त्री शर्माले भन्नुभयो, ‘तर कांग्रेसले भोट मात्रै होइन, जनताको भविष्यलाई हेर्यो । लोकहित केमा छ भन्ने कुरा बोल्यो ।
महामन्त्री शर्माले प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बावजुद संविधान रक्षाका लागि बाध्यात्मक रूपमा सरकारमा जानु परेको यथार्थ जनसमक्ष राख्ने, कांग्रेसको नेतृत्वमा सरकार बनेपछि ७० प्रतिशत नागरिकलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाएको र करिब-करिब राष्ट्रिय सहमतिमा अनुमोदित एमसिसीबारे जनस्तरमा छरिएका भ्रम बुँदागत रूपमा चिर्दै वास्तविकता प्रष्टसँग राख्ने कांग्रेसको योजना छ ।
महामन्त्री शर्माले यो अभियानमा कांग्रेसलाई मात्र नभई अन्य राजनीतिक दलहरूलाई पनि मर्यादित ढंगले चुनाव लड्न आग्रह गर्ने बताउनुभयो । अभियानमा जाँदा कांग्रेसले कुने पनि पार्टीलाई आरोप, प्रत्यारोप नलगाई जनताका कुरामा विशेष चासो राख्ने बताउनुभयो ।




















