काठमाडौं:= नेपाली कांग्रेसले आइतबारदेखि स्थानीय तह निर्वाचन केन्द्रित अभियान सुरू गरेको छ । आगामी ३० वैशाखमा हुने गइरहेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर कांग्रेसले एक महिने ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान थालेको हो । अभियानको क्रममा कांग्रेसले गाउँ घरमा आफ्नो अवस्था बुझ्ने र त्यसपछि चुनावी रणनीति बनाउनेछ ।
आगामी २९ चैतसम्म सञ्चालन हुने अभियानअन्तर्गत स्थानीय तहको निर्वाचनको मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उद्देश्य राखेको छ ।
पार्टी प्रवक्ता डा प्रकाशशरण महतका अनुसार स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउन मतदातालाई अपिल गर्ने अभियानको उद्देश्य छ । वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र ऊर्जा अभिवृद्धि गर्नुका साथै स्थानीय स्तरमा जनधारणासमेत बुझ्ने काम अभियानले गर्नेछ ।
अभियानका लागि कांग्रेसले सबै जिल्लामा पार्टीका केन्द्रीय प्रतिनिधि खटाइसकेको छ । अभियानका क्रममा कांग्रेसले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० संसद्बाट सहमतिमा पारित गर्न सफलता प्राप्त गरेको विषय र त्यसबारेका भ्रम र दुष्प्रचारलाई चिर्दै वास्तविकता पनि बताउने योजना अघि सारेको छ ।
जिल्लास्तरीय अभियान पश्चात कांग्रेसले थप चुनावी रणनीति तयार गर्ने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । ‘अहिले अभियानको उद्देश्य भनेको स्थानीय स्तरमा हाम्रो अवस्था बुझ्नु हो,’ महामन्त्रि शर्माले भन्नुभयो, ‘एक महिने अभियानपछि पार्टीको बैठक बसेर थप चुनावी रणनीति तयार गर्छौँ ।’
स्थानीय तह चुनावलाई लक्षित गरेर सबै राजनीतिक दलहरूले अभियान थालेका छन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७९ दललाई मान्यता दिएको छ । आयोगमा ११० राजनीतिक दल दर्ता भए पनि आयोगले ७९ दललाई मात्र स्थानीय तह निर्वाचनका लागि मान्यता दिएको हो ।
स्थानीय तह निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेससँगै नेकपा एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राप्रपा लगायतका राजनीतिक दलहरू गाउँघरतर्फ लागेका छन् ।
एमालेमा उत्साह
नेकपा एमाले स्थानीय तह निर्वाचन लक्षित भने ठ्याक्कै कुनै अभियान चालेको छैन । तर, केन्द्रीय नेताहरू देशदौडाहमा भने व्यस्त देखिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली आफैँ विभिन्न जिल्लामा आयोजित कार्यक्रममा सहभागी हुनुभएको छ । त्यस्तै पार्टी प्रवेश कार्यक्रमलाई समेत एमालेले तिव्रताका साथ अगाडि बढाएको छ । यतिबेला देशभर पार्टी परिवर्तन गर्नेको होडबाजी नै चलेको छ ।
एमाले सचिव योगेश भट्टराईले निर्वाचन केन्द्रीत क्रियाकलापमा नेताहरू लागिसकेको बताउनु भयो । एमाले अध्यक्ष ओली देशभर नै चुनाव केन्द्रित दौडाहमा हुनुहुन्छ। विभिन्न जिल्लामा गएर अन्य पार्टीका नेता तथा कार्यकर्ता एमाले प्रवेशको होडबाजी नै चलेको छ । जसले गर्द ओलीसँगै एमाले नेता कार्यकर्ता निकै उत्साहित देखिनुभएको छ । एमालेले केही दिनमा औपचारिक निर्णय गरेर नै चुनाव केन्द्रित अभियान थाल्ने सचिव भट्टराईको भनाइ छ ।
अनौपचारिक कार्यक्रममा माओवादी केन्द्र
माओवादी केन्द्रले पनि निर्वाचन केन्द्रित अभियानलाई तिव्रता दिइरहेको छ । कुनै औपचारिक निर्णय नै नगरे पनि माओवादीले गाउँघरमा चुनाव केन्द्रित अभियान भने चलाइरहेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला देशदौडाहमा केन्द्रित हुनुहुन्छ । पार्टीभित्र असन्तुष्ट बनेका नेता नारायणकाजी श्रेष्ठलाई साथमा लिएर हिजोआज उहाँ विभिन्न जिल्लाका कार्यक्रममा पुगिसक्नुभएको छ ।
प्रचण्डले स्थानीय तह निर्वाचनलाई लिएर दौडधुप बढाउनु भएको छ । उहाँसँगै अधिकांश शिर्षस्थ नेताहरू पनि दौडधुपमा देखिएका छन् । पार्टीले आधिकारिक रूपमा चुनाव केन्द्रित कार्यक्रमअघि बढाएको छैन । तर, पनि नेताहरू चुनाव केन्द्रित अभियानमा लागिसकेको माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरेलले बताउनु भयो।
‘हामीले औपचारिक निर्णय त गरिसकेका छैनौं । तर, सबै नेताहरू चुनाव केन्द्रित अभियानमा लागिसकेका छन् । चाडै नै पार्टीको बैठक बसेर निर्णय गर्छौं,’ पोखरेलले भन्नुभयो ।
गठबन्धनकै भरमा नेकपा एकीकृत समाजवादी
नेकपा समाजवादी पार्टी पहिलो पटक अलग्गै पार्टीको हैसियतबाट चुनावमा होमिँदैछ । नेकपा एमालेबाट अलग्ग भएर गत भदौमा मात्रै पार्टी नयाँ पार्टी निर्माण गरेका नेकपा समाजवादी चुनावका लागि सत्तारूढ गठबन्धनमार्फत नै अघि बढ्नुपर्नेमा जोड दिइरहेको छ ।
गठबन्धनमा छलफल गरेर आफ्नो भागमा परेको स्थानीय तहमा मात्रै चुनाव केन्द्रित गतिविधि अगाडि बढाउने समाजवादीको योजना छ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य मेटमणि चौधरीले चैत पहिलो साता पार्टीको बैठक बसेर चुनावी रणनीति बनाइने बताउनु भयो ।
‘अहिले ७५३ वटै स्थानीय तहमा कमिटी गठन भइरहेका छन् । ति कमिटीहरूलाई चुनाव केन्द्रित गतिविधिमा लगाउँछौं । त्यसका लागि केन्द्रीय नेताहरू देशदौडाहमा लागेका छन्,’ चौधरीले भन्नुभयो ।
देशभर पार्टी प्रवेशको समेत लहर चलिरहेको भन्दै स्थानीय तह निर्वाचनमा राम्रो नतिजा ल्याउनेगरी लागिरहेको बताउनु भयो।
‘अहिलेसम्मको स्थिति हेर्दा हामी राम्रो पोजिशनमा देखिएका छौं । उम्मेद्वार छनोट गर्द पनि जित्ने र प्रभावकारी ढंगबाट काम गर्न सक्ने खालको छनोट हुनेछन् । त्यसका लागि गृहकार्य चलिरहेको छ,’ उहाँले भन्नुभयो ।
स्थानीय तह निर्वाचनमा गठबन्धनबाटै चुनाव लड्ने उनको भनाइ छ । ‘गठबन्धनमा छलफल भएर हाम्रो भागमा परेको स्थानीय तहमा जित्नेगरी अगाडि बढ्छौं । हार्ने खालको व्यक्तिलाई उम्मेद्वार बनाउँदैनौं,’ चौधरीले भन्नुभयो ।
चुनावी रणनीति बनाएर अघि बढ्दै जसपा
अहिले जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक बसिरहेको छ । भोलिसम्म चल्ने बैठकले स्थानीय निर्वाचन निर्देशिका पारित गर्नेछ । बैठकपछि जसपाले चुनाव केन्द्रित गतिविधि अगाडि बढाउने जसपा नेता मनिष सुमनले बताउनु भयो ।
जसपाले देशैभर स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनेगरी अनौपचारिक अभियानसमेत चलाइरहेको छ । केन्द्रिय समितिको बैठक सम्पन्न भएपछि जसपा चुनाव केन्द्रित हुने उहाँको भनाइ छ ।
आत्मसमीक्षासहित चुनावमा होमिँदै लोसपा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) यतिबेला पालिका तथा वडास्तरीय कमिटी गठनमा केन्द्रित भएको छ । जनता समाजवादी पार्टी ९जसपा० बाट अलग्गिएको लोसपाले स्थानीय तहको निर्वाचका लागि आत्मआलोचनासहित होमिने योजना बनाएको छ ।
विगतको पाँच वर्षमा के–के काम गर्न सकियो ? के–के गर्न सकिएन ? र के कारणले पुरा गर्न सकिएन ? त्यसको समीक्षा गरेर चुनावमा जाने नेता केशव झाले बताउनु भयो ।
चैत पहिलो साता पार्टीको बैठक बसेर चुनावी अभियान अगाडि बढाइने उहाँको भनाइ छ । पछिल्लो पाँच वर्षमा स्थानीय सरकारले सडक पूर्वाधार र विद्युतको क्षेत्रमा उल्लेख्य काम गरेको स्मरण गराउँदै अब बाँकी काम गर्ने प्रतिबद्धतासहित आफ्ना उम्मेदवार अघि बढ्ने उहाँको भनाइ छ ।
यी पार्टीसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि चुनाव केन्द्रित अभियानलाई देशव्यापी बनाएको छ । शीर्ष नेताहरू विभिन्न जिल्लामा आयोजित कार्यक्रममा सहभागी भइरहेका छन् । पालिका तथा वडास्तरीय भेला गर्ने कमिटी गठन गर्ने लगायतका कार्य राप्रपाले तिव्रताका साथ अघि बढाइरहेको छ । अधिकांश दलहरू निर्वाचन केन्द्रित भए पनि औपचारिक निर्णय भने नेपाली कांग्रेस बाहेक कसैले पनि गर्न सकेका छैनन् ।




















